निर्वाचनमा खटिने कर्मचारीहरूलाई नियुक्तिपत्र प्रदान गर्न शुरू

पर्वत /आगामी फागुन २१ गते सम्पन्न हुन लागिरहेको प्रतिनिधि सभा सदस्य निर्वाचनमा खटिने कर्मचारीहरूलाई नियुक्ति पत्र प्रदान गर्न थालिएको छ । निर्वाचनको सम्पूर्ण व्यवस्थापकीय काम बोकेर मतदान केन्द्रमा खटिने कर्मचारी फागुन १८ गते नै सम्बन्धित केन्द्रमा जाने तयारी रहेका छन् । उनीहरू मतदान केन्द्रमा खटिनु पूर्व नै मुख्य निर्वाचन अधिकृतको कार्यालयले शुक्रवारदेखि नियुक्त पत्र वितरणको काम सुरु गरेको हो । कार्यालयले बुधवार मात्रै जिल्लाका एक सय ५१ ओटा स्थायी र दुई ओटा अस्थायी मतदान केन्द्रहरूमा खटिने कर्मचारीहरूको नामावली सार्वजनिक गरेको थियो ।

दुई सूचिमा परेकाहरूलाई कुनै विशेष समस्या भएको भए नियुक्त पत्र लिनुभन्दा अगाडि नै जानकारी गराएर नजान सक्ने अवधि रहेको थियो । निर्वाचनमा खटिने कर्मचारीहरूको अन्तिम नामावली तयार भएसँगै शुक्रवार जलजला गाउँपालिका, पैयुँ गाउँपालिका, बिहादी गाउँपालिका र महाशिला गाउँपालिकामा खटिने कर्मचारीहरूलाई नियुक्ति पत्र वितरण गरिएको हो । यस्तै शनिवार कुश्मा नगरपालिका, फलेवास नगरपालिका र मोदी गाउँपालिकामा खटिएर जाने कर्मचारीहरूलाई नियुक्त पत्र तथा चुनावमा खटीएस्वरुपको भत्ता वितरणको कार्यसूची रहेको छ ।

कर्मचारीहरूलाई नियुक्त पत्र वितरण गर्दाको दिनमा नै मतदान अधिकृतहरू, सहायक मतदान अधिकृतहरू र कर्मचारीहरूको आपसी समन्वयमा मतपत्र तथा अन्य निर्वाचन सामग्रीहरू वितरण गर्न सुरु गरिएको पनि मुख्य निर्वाचन अधिकृतको कार्यालयले बताएको छ । निर्वाचनका लागि पर्वतमा कर्मचारी र स्वयंसेवकका रूपमा एक हजार तीन सय जना भन्दा जनशक्ति खटिएका छन् ।

जिल्ला निर्वाचन कार्यालय पर्वतका सूचना अधिकारी ज्ञानेन्द्र प्रसाद शर्माका अनुसार स्थायी मतदान केन्द्रमा ९ सय ६ जना कर्मचारी र ४ सय ५३ जना स्वयंसेवक तथा अस्थायी मतदान केन्द्रमा ६ जना कर्मचारी गरी कुल १ हजार ३ सय ६५ जना जनशक्ति परिचालन हुँदै छन् । स्थायी मतदान केन्द्रमा प्रति केन्द्र ६ जना कर्मचारीहरू मुख्य निर्वाचनको कार्यालयबाट खटाएर पठाइँदै छ । जसमा १ जना मतदान अधिकृत, १ जना सहायक मतदान अधिकृत, ३ जना सहायक कर्मचारीहरू र एक जना सहयोगी कर्मचारी रहने छन् ।

मतदान केन्द्रमा पुगेपछि स्थानीय सरोकारवालाहरूसँगको समन्वयमा एउटा मतदान केन्द्रको लागि ३ जना स्वयंसेवक नियुक्त हुने सूचना अधिकारी शर्माले बताए । मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट खटिएर जाने ६ जना र स्थानीय रूपमा नियुक्त हुने स्वयंसेवक ३ जना गरी एउटा मतदान केन्द्रमा ९ जना कर्मचारीहरू परिचालन हुनेछन् ।