दशैं तिहारलाई लक्षित गरेर पर्वतका ५ ठाउँमा यात्रु सहायता कक्ष

पर्वत/चाडपर्वलाई लक्षित गर्दै पर्वतका पाँच स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । यो समयमा आवतजावत गर्ने सर्वसाधारणको जीउ, ज्यान तथा धनमालको सुरक्षा, यात्रुलाई सुरक्षित रूपमा गन्तव्यसम्म पुग्ने वातावरण मिलाउन र यात्राका क्रममा हुन सक्ने समस्या तथा गुनासो सम्बोधन गर्ने उद्देश्यले कक्ष स्थापना गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय पर्वत र जिल्ला ट्राफिक प्रहरी कार्यालय कुश्माको संयुक्त अगुवाइमा जिल्लाका विभिन्न पाँच स्थानमा सहायता कक्ष स्थापना गरिएको हो । सहायता कक्षहरू कुश्मा नगरपालिका–६ स्थित शिवालय चोक, पैयूँ गाउँपालिका–४ स्थित हातेमालो चोक हुवास, मोदी गाउँपालिका–६ स्थित डिमुवा, फलेवास नगरपालिका–६ स्थित राहले र कुश्मा नगरपालिका–१ स्थित मालढुंगा छन् ।चाडपर्वका बेला यात्रुको चाप बढ्ने र सवारीसाधनको आवागमनसमेत बाक्लिने भएकाले यात्रु सहायता कक्षमार्फत् यात्रुका समस्या तथा गुनासो सम्बोधन गर्न, सुरक्षित चेकजाँचको व्यवस्था मिलाउन र सम्भावित दुर्घटना तथा अन्य आपराधिक गतिविधि नियन्त्रणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

यात्राका क्रममा कुनै समस्या परेमा वा सवारीसाधनले बढी भाडा लिने, क्षमताभन्दा बढी यात्रु बोक्ने तथा अन्य अनियमितता गरेको पाइएमा यात्रु सहायता कक्षमा जानकारी गराउन सकिनेछ । मुस्ताङ, म्याग्दी, बागलुङ र पर्वतबाट अन्य विभिन्न जिल्लामा आउजाउ गर्ने सवारी कुश्मा हुँदै चल्ने तथा ग्रामीण क्षेत्रमा पनि सवारीको चाप बढ्ने भएकाले यात्रु सहायता कक्ष स्थापना गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव निरीक्षक प्रवीण भट्टराईले बताए ।

चाडबाडको चहलपहल बढ्दा सवारी साधनले गर्ने लापरबाही, यात्रुहरूले गर्ने लापरबाही तथा सवारी र यात्रु पक्षमा आउन सक्ने समस्या समाधानको लागि जिल्लाका चारै दिशालाई समेट्ने गरी यात्रु सहायता कक्ष स्थापना गरिएको उनको भनाइ छ । ‘चाडबाड मान्न तथा आफन्त भेट्नको लागि विदेशबाट आउनेदेखि देशमै आन्तरिक यात्रा गर्नेहरूका कारण सडक र सवारी दुवैमा अब चाप बढ्छ । यो अवस्थामा हुन सक्ने सम्भावित दुर्घटना रोकथाम गर्दै सहज र सुरक्षित आवागमनको लागि कक्षहरू स्थापना गरिएका हुन्’, उनले भने ।