पर्वत /असोज ११ गते कालीगण्डकी नदीमा आएको बाढीले पर्वत-बागलुङ जोड्ने मालढुङ्गाको पुलमा क्षति पुर्यायो। पुलको पर्वतपट्टी पहुँचमार्ग बाढीले बगाउँदा १६ दिनदेखि यातायात ठप्प भएको थियो।
पुल संचालन नहुँदा बागलुङसहित रोल्पा, रुकुम, जाजरकोट, डोल्पा, सल्यान लगायत पश्चिम नेपालका दर्जनौ जिल्ला प्रभावित भएका थिए।सोमबार पुलको पहुँच मार्ग निर्माण भएपछि यातायात संचालनमा आएको छ। दसैँको बेलामा मुख्य पुल नै बन्द हुँदा हजारौँ नागरिकले सास्ती खेप्नु परेको थियो भने बागलुङ बजारमा महँगी बढेको थियो। सडक डिभिजन कार्यालय पोखराको प्राबिधिक टोलीसहित दर्जनौँ कामदारले चौबिसै घण्टा काम गरेपछि सोमबार विहान १० बजेदेखि पुल संचालनमा आएको हो।
पुल संचालनका लागि बागलुङबाट नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीसमेत खेटिएको थियो। चाडबाडका बेला यातायात बन्द हुँदा बागलुङको व्यापार व्यवसाय र पर्यटन क्षेत्रमा ठूलो क्षति पुगेको थियो। मालढुंगा पुल हुँदै प्रसिद्ध धार्मिकस्थल कालिका मन्दिर, पञ्चकोटदेखि ढोरपाटन घुम्न जाने पर्यटकहरु पनि आउन सकेका थिएनन्।आइतबार घटस्थापनाका दिन बागलुङ कालिकामा आउन भक्तजनको चहलपहल पनि खास्सै हुन सकेन। विगतका वर्षमा घटस्थापना दिन मात्रै १० हजारबढी भक्तजन आउने गरेका थिए। तर यस वर्ष दुई हजारसमेत पुग्न मुस्किल पर्यो। बाढी पहिरो र मालढुंगा पुल भत्केपछि मन्दिर आउनेहरु घटेका हुन्।
पुलका कारण बाहिरी जिल्लाबाट पञ्चवलिसमेत दिन आउनेहरु समेत नआएको मन्दिर व्यवस्थापन समितिका लेखापाल दुर्गा खत्रीले जानकारी दिए।कालीगण्डकीको बाढीले असोज ११ गते कालीगण्डकी पुल बगेको थियो। त्यसपछि पोखरा र पर्वतदेखि सिधा यातायात ठप्प छ। अत्यावश्यक सेवाका सामान समेत ढुवानी भएको छैन।
मालढुंगादेखि मुस्ताङ सडक अझै सञ्चालन नभएकोले यो पटक मुक्तिनाथ र कागबेनीमा श्राद्व गर्न जाने भक्तजन नभएकोले कालीका मन्दिर सुनसान भएको हो।पुल संचालनमा आएपछि स्थानीय व्यवसायी उत्साहित भएका छन्। बाढीपहिरोका कारण एक महिनादेखि सुस्ताएका बागलुङका होटल व्यवसायसमेत पुल ठप्प हुँदा चलायमान हुन सकेनन्। बाहिरी जिल्लाबाट आउने पर्यटक नआएपछि होटल व्यवसाय सुनसान भएको होटल व्यवसायी संघ गण्डकी प्रदेशका अध्यक्ष अर्जुन चोखालले बताए।पुल संचालनमा आएपछि विदेशी तथा स्वदेशी पर्यटक आउने आशा जागेको उनको भनाइ छ।
बागलुङ भित्रिने मुख्य पुल नै बन्द हुँदा स्थानीयको जनजीवन प्रभावित बनेको थियो। अब बिस्तारै पुरानै अवस्था फर्किने अपेक्षा लिइएको छ। मालढुङ्गा पुल राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग र चिन–भारत जोड्ने कालीगण्डकी कोरिडोरको मुख्य केन्द्र हो। यही पुल हुँदै दुई वटा राजमार्गमा यात्रुले यात्रा गर्दै आएका छन्।





