पर्वत/मोदी गाउँपालिका–५ मोदीखेतमा मोटरसाइकलले ठक्कर दिँदा एक वृद्ध गम्भीर घाइते भएका छन्। कुश्माबाट डिमुवातर्फ जाँदै गरेको मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिँदा दुई जना घाइते भएका हुन्।
जिल्ला प्रहरी कार्यालय पर्वतका अनुसार बुधबार साँझ करिब ७ः३० बजे कुश्मा–पोखरा सडकखण्डअन्तर्गत मोदीखेतमा ध २ प १९१ नम्बरको मोटरसाइकलले पैदल हिँडिरहेका मोदी गाउँपालिका–५ दरक निवासी ७९ वर्षीय रणबहादुर कामीलाई ठक्कर दिएको थियो।
मोटरसाइकलको ठक्करबाट कामीको निधार र दाहिने हातमा चोट लागेको छ। उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। दुर्घटनामा मोटरसाइकल चालक मोदी गाउँपालिका–६ तिलाहार निवासी ४३ वर्षीय दीपक शर्मा पनि घाइते भएका छन्। उनको निधार तथा शरीरको भित्री भागमा चोट लागेको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।
दुवै घाइतेलाई उपचारका लागि प्रदेश अस्पताल कुश्मा, पर्वतमा लगिएको छ। वृद्ध कामीको उपचारमा उनकी बुहारी पार्वती सुनार र मोटरसाइकल चालक शर्माको उपचारमा उनका भाइ किशोर शर्मा संलग्न रहेका छन्।
दुर्घटनाको खबर प्राप्त हुनासाथ प्रहरी चौकी देउपुर डिमुवाबाट प्रहरी नायब निरीक्षक दीपेन्द्र किमाडीको कमान्डमा ट्राफिक प्रहरीसहित तीन जनाको टोली घटनास्थलमा खटिएको थियो। प्रहरीले दुर्घटनामा संलग्न मोटरसाइकल नियन्त्रणमा लिएको जनाएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।





