पर्वत / प्रतिनिधिसभा सदस्यको निर्वाचनका उम्मेदवारहरूले आफ्ना घोषणापत्र सार्वजनिक गरेका छन्। उनीहरूले आफ्ना ती घोषणापत्रमा आफूहरूले जिल्लाको विकासको लागि विभिन्न क्षेत्रमा गर्न खोजेको कामको बारेमा मतदातालाई कुरा बुझाउने प्रयास गरिरहेका छन्।
जिल्लामा राजनीतिक दलहरूबाट उम्मेदवारी दिएका नेताहरूले औपचारिक रूपमा चुनावी घोषणापत्र सार्वजनिक रहे पनि स्वतन्त्र उम्मेदवारहरूले भने मौन अवस्थामा छन्।
पर्वतमा मुख्य गरी नेपाली काँग्रेस, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र नेपाली कम्युनिस्ट पार्टीहरूको चुनावी सरगर्मी बढी छ।
यिनीहरूले नै आफ्नो प्रचारप्रसारलाई तीव्रता दिएका छन् भने घोषणापत्र सार्वजनिक गरेर ‘आफूले जितेमा के गर्न प्रयास गर्नेछु?’ भन्ने अवधारणा सार्वजनिक गरेका छन्।
नेपाली काँग्रेसका तर्फबाट उम्मेदवार रहेका नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशीले आफ्नो प्रतिज्ञापत्रमा शिक्षाका सन्दर्भमा मुख्यतः चारवटा बुँदा समावेश गरेका छन्। जहाँ उनले आधुनिक शिक्षाअन्तर्गत हरेक स्थानीय तहमा कम्तीमा एउटा प्रविधिमैत्री प्राविधिक विद्यालय स्थापनाका लागि पहल गर्ने बताएका छन्।
शिक्षाको जग बलियो बनाउन पूर्वप्राथमिक तहबाटै सुधारको सुरुवात गरिने र त्यसका लागि शिक्षकहरूलाई विशेष तालिम र क्षमता अभिवृद्धिका कार्यक्रम सञ्चालन गर्न आफूले ठोस पहल गर्ने जोशीले उल्लेख गरेका छन्।
नेपालका शिक्षकहरूले लामो समयदेखि विभिन्न माग राखेर पटक पटक आन्दोलित हुने गरेको विषयलाई सम्बोधन गर्दै उनले शिक्षक आन्दोलनका क्रममा सरकारसँग भएका सहमतिलाई कानुन बनाएर लागू गर्ने तथा ‘डिजिटल लर्निङ’ र प्राविधिक शिक्षालाई गाउँगाउँ र घरघरसम्म पुर्याउन भूमिका खेल्ने प्रतिज्ञा गरेका छन्।
नेकपा (एमाले) का उम्मेदवार तथा पूर्व मन्त्री पदम गिरीले भूकम्पले भत्किएका सबै विद्यालयका पूर्वाधारको थप व्यवस्थापन गर्ने, दिवा खाजा, आवासीय विद्यालय र प्राविधिक शिक्षा सञ्चालनमा सङ्घ, प्रदेश र पालिकासँगको समन्वयमा कार्य योजना निर्माण गरिने बताएका छन्।
पर्वतमा सञ्चालित सामुदायिक क्याम्पसहरूको दिगोपनाको लागि आवश्यक नीति लिने, प्रविधिमैत्री शिक्षालाई प्राथमिकतामा राखी सोही बमोजिमका कार्यक्रम लागू गर्ने र शिक्षकहरूको भावनालाई सम्बोधन हुने गरी शिक्षा ऐन जारी गर्न पहल गरिने उम्मेदवार गिरीले योजना सुनाएका छन्।
नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट उम्मेदवार बनेका मनहरि तिमिल्सिना पनि शिक्षाको सन्दर्भमा समसामयिक मुद्दाको उठान गरेका छन्।
सामुदायिक विद्यालयमा विद्यार्थी ज्यादै कम भएको अवस्थामा पनि शिक्षक दरबन्दी मिलान हुन नसकेको र धेरै विद्यार्थीको चाप भएको ठाउँमा शिक्षकले धेरै खटेर काम गरेको सन्दर्भलाई उनले विद्यालय एकीकरणको मुद्दाका रूपमा प्रस्तुत गरेका छन्।
तिमिल्सिनाको घोषणापत्रमा विद्यार्थी सङ्ख्याका आधारमा विद्यालय एकीकरण गरी ठूला आवासीय विद्यालयको स्तरमा विकास गर्ने उल्लेख गरेका छन्।
यसैगरी डिजिटल तथा प्राविधिक शिक्षाअन्तर्गत हरेक मुख्य केन्द्रमा स्मार्ट कक्षाकोठा स्थापना गर्ने, माध्यमिक तहमा ‘इ लाइब्रेरी’ र ‘आई.टी’ ल्याब स्थापना गरी गणित र विज्ञानमा कृत्रिम बौद्धिकतामा आधारित सिकाई सामग्रीको प्रयोग गर्ने उनको योजना छ।
विद्यालयहरूमा कम्प्युटर, एग्रो टुरिज्म, होटेल व्यवस्थापन, इलेक्ट्रिसियनजस्ता सीपमूलक शिक्षा लागू गर्ने तथा शिक्षकहरूका लागि कार्यसम्पादनमा आधारित प्रोत्साहन एवं नियमित तालिमको व्यवस्था गर्ने उनको घोषणापत्रमा उल्लेख छ।
राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सागर भुसालले शिक्षातर्फ भौतिक पूर्वाधार र गुणस्तरको न्यूनतम मापदण्ड पूरा गर्न स्थानीय र प्रदेश सरकारसँग समन्वय गर्दै सेवा प्रदायकलाई जबाफदेही बनाउने कुरा उल्लेख गरेका छन्।
उज्यालो नेपाल पार्टीबाट उम्मेदवार रहेका यमबहादुर चोचाङ्गी पुन शिक्षालाई व्यवहारिक र सीपमूलक बनाउने, विज्ञान र प्रविधिमैत्री बनाउने, समतामूलक समावेशी ज्ञान निर्माण शिक्षा लागू गर्ने, पर्यावरण र प्रकृतिमैत्री शिक्षा लागू गर्ने तथा खेलकुद शिक्षा अनिवार्य गर्ने योजना आफ्नो चुनावी घोषणापत्रमा उल्लेख गरेका छन्।





