प्रतिनिधिसभा उम्मेदवार अर्जुनप्रसाद जोशीको प्रतिज्ञापत्रमा के छ एजेन्डा ?

पर्वत/आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा सदस्यको निर्वाचनको लागि उम्मेदवारहरूले आफ्ना चुनावी घोषणापत्रहरू सार्वजनिक गरिरहेका छन् । आफ्ना प्रतिज्ञा पत्र तथा घोषणापत्रमा आगामी पाँच वर्षमा आफूले सम्पादन गर्न सक्ने कामहरूको बारेमा उल्लेख गरेर मतदातासामु उम्मेदवारहरूले मत मागिरहेका छन् ।

यही क्रममा नेपाली काँग्रेसको तर्फबाट पर्वतमा उम्मेदवार रहेका अर्जुनप्रसाद जोशीले पनि आफ्नो प्रतिज्ञा पत्र सार्वजनिक गर्दै जिल्लाको समुन्नतिका लागि आफूले देखेका सम्भावनाहरू उल्लेख गरेका छन् । विगतमा लगातार तीन पटक चुनाव जितेर ‘म्यान अफ दी इलेक्सन’ को नाम कमाएका उनले २०७४ र २०७९ सालको प्रतिनिधि सभा सदस्य निर्वाचनमा भने हार खानु¥यो। नेकपा (एमाले)का उम्मेदवार पदम गिरीसँग लगातार दुई हार बेहोरेका जोशी यस पटक बदलिएको काँग्रेस र आफू अन्तिम पटक चुनावी मैदानमा रहेको उद्घोषका साथ मतदातासामु पुगेका छन् ।

उनै जोशीले मतदातासामु आफूले जिल्लाको समुन्नतिका लागि देखेका सूचक र सम्भावनाहरूबारे कुरा पनि बुझाइरहेका छन् । उनले पर्वतको समृद्धिका प्रमुख आधारका रूपमा ‘४ ज’ लाई अगाडि सारेका छन् । उत्पादनमा आधारित बलियो अर्थतन्त्रका लागि जल, जमिन, जङ्गल र जनशक्तिलाई अधिकतम रूपमा परिचालन गर्न सकेमा अर्थतन्त्रको मार्गचित्र तयार हुने उनको अवधारणा छ ।

जल अन्तर्गत ऊर्जा र लगानीको मुहानका रूपमा कालीगण्डकी बहुउद्देश्यीय आयोजना राखिएको छ। मोदी खोला र कालीगण्डकी नदीको अथाह जलस्रोतलाई पर्वतको भाग्यसँग जोडिने भन्दै उनले ‘कालीगण्डकी बहुउद्देश्यीय जलाशययुक्त आयोजना’ लाई राष्ट्रिय गौरवको योजनाका रूपमा अघि बढाउन र कार्यान्वयन गर्न आफ्नो विशेष पहल रहने प्रतिबद्धता पत्रमा उल्लेख गरेका छन् । यस्तै, जलविद्युत् आयोजनाहरूमा स्थानीय बासिन्दा, वैदेशिक रोजगारीमा रहेका पर्वतवासी र उद्यमीहरूको ’सुरक्षित लगानी र सुनिश्चित लाभांश’ को ग्यारेन्टी गर्दै उनीहरूलाई व्यावसायिक साझेदार बनाउन पहल गर्ने, कुनै पनि स्थानमा जलविद्युत् आयोजना निर्माण हुँदा स्थानीय जनताको लगानीलाई प्राथमिकतामा राख्न आवश्यक नीति–नियम बनाउन प्रभावकारी भूमिका खेल्ने पनि उल्लेख छ ।

जङ्गल र जडीबुटीलाई हरित समृद्धिको आधारका रूपमा लिँदै औषधि उत्पादन र प्रशोधनलाई प्राथमिकता दिने उल्लेख छ। जिल्लाको विशाल वन क्षेत्रमा रहेका बहुमूल्य जडीबुटीलाई कच्चा पदार्थको रूपमा मात्र नबेची पर्वतभित्रै वैज्ञानिक प्रशोधन केन्द्र र औषधि उद्योग स्थापना गर्न भूमिका खेल्ने, गैर–काष्ठ वन पैदावार अन्तर्गत अल्लो, लोक्ता, निगालो लगायतमा आधारित लघु–उद्यममार्फत स्थानीय जनसमुदायको प्रत्यक्ष सहभागितामा व्यापक रोजगारी र आयआर्जनका कार्यक्रम सञ्चालन गर्न भूमिका खेल्ने नेता जोशीले बताएका छन् ।

यस्तै, जमिन अन्तर्गत कृषि क्रान्ति र खानी उत्खनन गरिने कुरा प्रतिज्ञा पत्रमा लेखिएको छ। एकीकृत र व्यावसायिक कृषि अन्तर्गत अन्न, फलफूल र तरकारी खेतीलाई निर्वाहमुखीबाट व्यावसायिक बनाउन चक्लाबन्दी खेती र आधुनिक सिँचाइमा जोड दिने, खानीजन्य उद्योगको विकासअन्तर्गत जिल्लामा रहेका फलाम, ढुङ्गा र अन्य खानीहरूको वातावरणीय प्रभाव मूल्याङ्कन गरी वैज्ञानिक उत्खनन र प्रशोधन उद्योग सञ्चालन गर्ने वातावरण मिलाउने उनको प्रतिबद्धता छ ।

जनशक्ति अन्तर्गत दक्ष र उद्यमी युवालाई प्राथमिकतामा राखेर प्रविधि र सीपको संयोजन गर्दै युवा शक्तिलाई आधुनिक प्रविधि, सफ्टवेयर विकास र प्राविधिक सीपसँग जोडी स्वदेशमै उद्यमशील बनाउने नीति अघि सार्ने जोशीले बताएका छन्। पलायन रोक्का लागि ‘स्टार्ट–अप’ कार्यक्रमः नयाँ सोच भएका युवाहरूका लागि सहुलियतपूर्ण ऋण, अनुदान र बजार व्यवस्थापनको ग्यारेन्टी गरी ’गाउँमै कमाउने, गाउँमै रमाउने’ वातावरण सिर्जना गर्न मैले संसदमा विशेष भूमिका खेल्ने उनको प्रतिबद्धता छ ।

उम्मेदवार जोशीले इतिहास र सभ्यतामा आधारित अर्थतन्त्रका रूपमा कालीगण्डकी नदीलाई हरेका छन् । पर्वत एक भूगोल मात्र नभएर प्राचीन सभ्यता र संस्कृतिको जीवित सङ्ग्रहालय पनि भएको बताएका छन् । ऐतिहासिक र सांस्कृतिक गौरवलाई ‘पर्यटकीय उत्पादन’ का रूपमा विकास गरी जिल्लाको आयआर्जन बढाउन उनको सङ्कल्प छ। जसका लागि पवित्र मुक्तिनाथको काखबाट बहने कालीगण्डकी नदीको बाँसखर्कदेखि शालिग्राम क्षेत्रसम्मको तटीय क्षेत्रलाई ‘गण्डक सभ्यता पदमार्ग’ का रूपमा विकास गरिने, जिल्लाका धार्मिक र सांस्कृतिक सम्पदाहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ’ब्रान्डिङ’ गरिने, कालीगण्डकी र शालिग्रामको ऐतिहासिक महत्वलाई अनिवार्य पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने आफ्नो मुख्य लक्ष्य रहेको जोशीले प्रतिज्ञा पत्रमा उल्लेख गरेका छन् ।

ऐतिहासिक र धार्मिक सम्पदाको गुरुयोजनासहितको संरक्षण, गुफा र तीर्थस्थलको संवद्र्धन, संस्कृति र जीवनशैलीलाई सांस्कृतिक गन्तव्यका रूपमा विकास गर्ने, सांस्कृतिक ग्राम स्थापना, पर्यटनमा आधारित अर्थतन्त्र, धार्मिक तथा आध्यात्मिक पर्यटन, आध्यात्मिक सर्किट, साहसिक पर्यटन, पर्या–पर्यटन, विकासको पूर्णता, आधुनिक शिक्षा, गाउँका स्वास्थ्य चौकीहरूमा प्रयोगशाला,स्वास्थ्य बिमाको सहज पहुँच, सडक सञ्जालको स्तरोन्नति लगायत विषय पनि उनको प्रतिज्ञा पत्रमा उल्लेख छन् ।

अबको राजनीति पुरानो ढर्राले मात्र नचल्ने भन्दै उनले नयाँ पुस्ताले चाहेजस्तो आधुनिक सोच र प्रविधिमैत्री नीति बनाउन आफ्नो भूमिका विशेष हुने बताएका छन्। झन्झटरहित सरकारी सेवा, भ्रष्टाचारमा शून्य सहनशीलता, मोबाइल र इन्टरनेटमैत्री सरकारी सेवा, संविधान संशोधनका लागि पनि आफूले काम गर्ने नेता जोशीले बताएका छन् ।