फागुन २१ को निर्वाचनको तयारी अन्तिम चरणमा: ९ सय १२ कर्मचारी परिचालन

पर्वत/आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ । जिल्ला निर्वाचन कार्यालय पर्वतका अनुसार निर्वाचनका अधिकांस काम सकिएका हुन् । मतदानको मिति नजिकिदै जाँदा निर्वाचनका लागि आवश्यक सवै प्रकारका सामाग्री र मतपत्र जिल्लामा आईपुगेका छन् । भने मतदान स्थल अनुसार सामाग्रीहरु रुजु गर्ने, प्याकिङ गर्ने काम समेत सम्पन्न भएको छ । यसैगरी निर्वाचनका लागि आवश्यक जनशक्ति छनौट गरिएको छ ।

पर्वतमा आगामी निर्वाचनका लागि नौ सय १२ जना कर्मचारी परिचालन गरिने भएको छ । जस मध्ये मतदान अधिकृत र सहायक मतदान अधिकृत गरी तीन सय चार जना छनौट गरिएको छ । उनिहरुलाई मंगलवार र बुधवार तालिम दिएर फिल्डमा खटाउने तयारी भैरहेको जिल्ला निर्वाचन अधिकारी बुद्धिराम उपाध्यायले जानकारी दिनुभयो ।

उपाध्यायका अनुसार जिल्लाका ७५ मतदान स्थल मध्ये ३५ मतदान स्थल अति संवेदनशिल, ३३ संवेदनशिल र ८ वटा सामान्य रहेका छन् । सवै मतदान स्थलमा जिल्ला सुरक्षा समितिले अनुगमन र निरिक्षण गरी सुरक्षा प्रवन्ध मिलाईसकेको छ ।

निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित बातावरणमा सम्पन्न गर्नका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयले समय समयमा जिल्लामा उम्मेदवारी दिएका दल र स्वतन्त्र उम्मेदवारसँग छलफल समेत गर्दै आएको छ । जसमा निर्वाचन आचारसंहिताको पुर्ण पालना गर्न अनुरोध गर्दै आएको छ ।

पर्वतमा हालसम्म निर्वाचन आचारसंहिता उल्लंघनका कुनैपनि लिखित उजुरी नआएको जिल्ला निर्वाचन अधिकारी उपाध्यायले बताउनुभयो । केहि छिटफुट मौखिक उजुरी आएकोमा आचारसंहिता अनुगमन सहितले सोधपुछ गर्ने, स्पष्टिकरण लिने काम गरेको तर मौखिक उजुरी अहिलेसम्म नआएको उहाँले बताउनुभयो ।

यसैगरी गत फागुन ३ गतेदेखि जिल्लाका ६१ वटै वडामा मतदाता शिक्षाका लागि स्वयंसेवक परिचालन गरिएको छ । उनिहरुले प्रत्येक टोल र घरघरमा पुगेर मतदातालाई मतदान गर्ने तरिका सिकाईरहेको कार्यालयले जनाएको छ । बदर मतको संख्या न्यूनिकरण गर्ने र नागरिकलाई मतदान गर्ने तरिका सिकाउनका लागि उनिहरुलाई परिचालन गरिएको हो । मतदाता शिक्षामा खटिएका कर्मचारीहरुको अनुगमन सम्वन्धित पालिकाले गरिरहेका छन् ।

जिल्लाका राजनीतिक दलहरुले शान्तिपुर्ण रुपमा प्रचारप्रसारका कार्यक्रम संचालन गरेका कारण थप समस्याहरु नआएको उहाँले बताउनुभएको छ । विगतका वर्षहरुमा जस्तो आमसभा, कोणसभा, मोटरसाईकल र्‍याली जस्ता कार्यक्रमहरु यसपटक दलहरुले गरेका छैनन् ।

निर्वाचनको सुरक्षका लागि गाउँ गाउँमा चारवटै सुरक्षा निकायलाई परिचालन गएिको छ । नेपाली सेना, शसस्त्र प्रहरी, नेपाल प्रहरी र निर्वाचन प्रहरीलाई प्रत्येक पालिका र वडाहरुमा परिचालन गरिसकिएको जिल्ला सुरक्षा समितिले जनाएको छ । निर्वाचनमा भयरहित वातावरणमा मतदान गर्ने वातावरण सिर्जना गरिएको प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद पौडेलले जानकारी दिनुभयो ।

पर्वतमा आगामी निर्वाचनका लागि एक लाख २५ हजार चार सय ६६ मतदाता, ७६ मतदान स्थल, एक सय ५१ मतदान केन्द्र निर्धारण गरिएको छ । पर्वत कारागारमा ३० जना मतदाता रहेका छन् भने कारागार सहित दुई अस्थायी मतदान केन्द्र रहेका छन्