पर्वत/आसन्न निर्वाचनलाई स्वच्छ, निष्पक्ष र पारदर्शी बनाउनुपर्ने बेला विभिन्न आचारसंहिता उल्लंघन र सामाजिक सञ्जालमा फेक (नक्कली) गतिविधि बढेको भन्दै पर्वत युवा सञ्जालले गम्भीर ध्यानाकर्षण गराएको छ । सञ्जालले आइतबार विज्ञप्ति जारी गर्दै निर्वाचन प्रक्रियालाई प्रभावित पार्ने किसिमका गतिविधि बढ्दै गएको उल्लेख गरेको हो ।
विज्ञप्तिमा विशेषगरी सामाजिक सञ्जालमा नक्कली खाता सञ्चालन गरी उम्मेदवार र दलविरुद्ध दुष्प्रचार गर्ने, भ्रामक सूचना फैलाउने तथा मतदातालाई प्रभावित पार्ने प्रयास भइरहेकोप्रति चिन्ता व्यक्त गरिएको छ ।
सञ्जालका अनुसार केही नक्कली खाता हालै सिर्जना गरिएका र ती खाताबाट अपमानजनक तथा उत्तेजक सामग्री पोस्ट गर्ने क्रम बढेको छ। यस्ता गतिविधिले स्वच्छ, निष्पक्ष र पारदर्शी निर्वाचन प्रक्रियामा असर पार्ने भन्दै सम्बन्धित निकायले प्रभावकारी अनुगमन र कडाइका साथ कानुनी कारबाही गर्नुपर्ने माग गरिएको छ ।
विज्ञप्तिमा पैसाको प्रलोभन, भोजभतेर, जातीय तथा धार्मिक भावनालाई उक्साएर मत प्रभावित गर्ने कार्य गम्भीर विकृति भएको उल्लेख गर्दै यस्ता गतिविधि तत्काल रोक्न आग्रह गरिएको छ। साथै, निर्वाचनलाई मर्यादित र विश्वसनीय बनाउन सबै राजनीतिक दल, उम्मेदवार, समर्थक तथा मतदातालाई जिम्मेवार आचरण प्रदर्शन गर्न सञ्जालले अपिल गरेको छ ।
पर्वत युवा सञ्जालका संयोजक समुद्र गिरीद्वारा हस्ताक्षरित विज्ञप्तिमा गलत र भ्रामक सूचना प्रवाहले लोकतान्त्रिक प्रणाली, सामाजिक सद्भाव र सुशासनमा नकारात्मक प्रभाव पार्ने चेतावनी दिइएको छ । सञ्जालले जिल्लामा देखिएका यस्ता प्रवृत्तिको अनुगमन जारी राख्ने र आवश्यक परे थप कदम चाल्ने जनाएको छ ।






