पर्वत/यहीँ फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन-२०८२ लाई लक्षित गरेर पर्वतमा नमुना मतदान कार्यक्रम सम्पन्न भएको छ । निर्वाचन कार्यालय पर्वत,जिल्ला सुरक्षा समिति र सशस्त्र प्रहरी बल पर्वतको संयुक्त आयोजना तथा समन्वयमा कुश्मा स्थित सशस्त्र प्रहरी बल नेपाल चण्डिका गणको परिसरमा उक्त कार्यक्रम शुक्रबार सम्पन्न भएको हो ।कार्यक्रममा बोल्दै पर्वतका प्रमुख जिल्ला अधिकारी लक्ष्मी प्रसाद पौडेलले निर्वाचनलाई स्वच्छ, निष्पक्ष, मर्यादित र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि उच्च मनोबलका साथ आफ्नो जिम्मेवारी बहन गर्न सबै सुरक्षा निकायलाई अनुरोध गर्नुभयो ।
नमुना मतदान कार्यले मतदाता शिक्षासँगै, मत बदर रोक्न र निर्वाचन कर्मचारीको दक्षता मापन गर्नुका साथै सुरक्षा चुनौतिलाई सामना गर्ने कौशलता अभिवृद्धिमा महत्त्वपूर्ण फाइदा पुर्याएको उहाँले बताउनुभयो ।मतदान केन्द्रको सुरक्षा, मतदान सम्पन्न भएपछि मतपेटिका तथा निर्वाचन सामग्रीको ढुवानी सुरक्षा योजनानामा सुरक्षाकर्मीले विषेश ध्यान दिनुपर्ने प्रजिअ पौडेलले बताउनुभयो ।

निर्वाचनलाई स्वच्छ र भयरहित तवरले सम्पन्न गर्नका लागि सुरक्षा निकायको भूमिका महत्वपूर्ण भएको हुँदा सुरक्षाकर्मी र निर्वाचन प्रहरीहरुलाई मतदान स्थलमा कौशलतापुर्वक आफ्नो भुमिका निर्वाहमा सहज बनाउने उद्देश्यले नमुना मतदान कार्य गरिएको सशस्त्र प्रहरी बल,नेपाल नं.२५ गण हे.क्वा. चण्डिका कुश्मा पर्वतका प्रमुख क्षितिज क्षेत्रीले बताउनुभयो ।
नमुना मतदान कार्यक्रममा वास्तविक चुनावको हुबहु नक्कल गरि प्रयोगात्मक अभ्यास गरिएको थियोे । वास्तविक मतदान केन्द्रमा जस्तै मतदान अधिकृत, सुरक्षाकर्मी, दलका प्रतिनिधि र मतदाताहरूको भूमिका सम्बन्धि कार्य प्रदर्शन भएको थियोे ।
त्यस्तै मतदान केन्द्रमा हुन सक्ने सम्भावित घटनाहरू, सुरक्षा घेराको व्यवस्थापन र भीड नियन्त्रणका उपायहरू र जटिल अवस्था आएमा सुरक्षा निकायले बल प्रयोग गर्न सक्ने कार्य लगायत प्रदर्शन गरिएको थियोे ।
कार्यक्रममा मुख्य निर्वाचन अधिकृत वासुदेव पौडेल, पर्वतका सहायक प्रमुख जिल्ला अधिकारी गणेश पौडेल, नेपाली सेना रणभिम गुल्म पर्वतका प्रमुख, जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख, राष्ट्रिय अनुसन्धान विभाग पर्वतका प्रमुख, जिल्ला निर्वाचन कार्यालय पर्वतका प्रमुख, सुरक्षाकर्मीहरु, निर्वाचन प्रहरी, पत्रकार लगायतको उल्लेखनीय उपस्थित रहेको थियोे






