पर्वत /बागलुङको बलेवा विमानस्थलमा साढे चारवर्ष अघि लगाएको ताला अहिले पनि खुलेको छैन । विमानस्थल कालोपत्रे गरेर चिटिक्क पारेपछि लगाइएको ताला अझै नखुलेको हो । विमानस्थल सञ्चालनको ग्यारेन्टी नभएपछि यो ताला अझै खुल्न नसकेको हो । कच्ची धावनमार्ग छउन्जेल छिटफुट चलेको विमानस्थल पक्की बनेपछि ठप्पै छ । २०७८ को बैशाखमा कालोपत्रे गरिएपछि यो विमानस्थलमा तारबार लगाएर गेटमा चावी झुण्डिएको थियो । अहिलेसम्म पनि यो खोल्ने सम्भावना छैन ।
गत २०७९ को संसदीय निर्वाचनमा अधिकांश उमेदवारको यहाँको बलेवा विमानस्थल सञ्चालन गर्ने एजेन्डा बनाएर भोट मागेका थिए । तीन वर्षसम्म यो विमानस्थल काँडेतारले घेरिएर मात्रै रह्यो । सञ्चालन भएन । अहिले पनि स्थानीयले यो कालोपत्रे विमानस्थल कहिले सञ्चालनमा आउला भनेर प्रश्न गरेका छन् । तर त्यसको उत्तर यो पटकका उमेदवारसँग छैन । बरु यो पटक विमानस्थलबारे दलको एजेन्डा नै बनेको छैन । स्थानीय भने करोडौं खर्चेर बनाएको विमानस्थल सञ्चालनमा आउनुपर्ने बताउँछन् ।

पोखरा–बागलुङ सडक खुल्नुअघि २०२२ सालदेखि २०५० सम्म बलेवा विमानस्थलमा नियमित जहाज चल्थ्यो । कच्ची विमानस्थल भए पनि खचाखच यात्री हुन्थे । सातामा तीन दिनसम्म जहाज चल्दा पोखरा, भैरहवा र काठमाडौंका यात्रु यात्रा गर्थे । जहाँबाट यात्रा गर्न तत्कालीन सिडिओको फोर्स चल्थ्यो । ‘नियमित टिकट पाउने थोरै थिए, सिडिओको सिफारिसमा बिरामी, अशक्तलाई टिकट काटिन्थ्यो,’ स्थानीय कमल जिसीले भने, ‘एकदुई दिनअघि नै टिकट काटेर बस्ने अवस्था थियो ।’ अहिले भने यो विमानस्थल अलपत्र छ । चारवर्ष अघि कालोपत्रे गरिएको यो विमानस्थलमा रंगरोगन गरेपछि एउटा पनि जहाज आएको छैन । वरिपरिको मैदानमा काँस फुलेको छ भने कालोपत्रे समेत जीर्ण जस्तो भैसकेको छ । ‘पोखरा सडक खुलेपछि बलेवामा जहाज पातलिँदै बन्द भएको विमानस्थलबाट बागलुङ, पर्वत र म्याग्दीका बासिन्दाले सेवा पाएका थिए ।
२०७८ मा विमानस्थल कालोपत्रे गरिएपछि यहाँ एकपटक पनि जहाज आएको छैन । विमानस्थल सञ्चालनमा कसैले पनि चासो समेत दिएका छैनन् । ‘काष्ठमण्डप उमा एण्ड संयुक्त निर्माण कम्पनी’ले २०७८ को बैशाखमा ८ करोड २४ लाख ३४ हजार रुपैयाँको लागतमा बलेवा विमानस्थल कालोपत्रे गरेको थियो । करिब ७ सय मीटर लम्बाई कालोपत्रे सहित १ हजार १ सय मिटर लामो मैदान ग्राभेल गरिएको छ । ३० मिटर चौडा मैदानमा तारबारले घेरिएको छ । टर्मिनल भवन मर्मत गरेर रंगरोगन समेत लगाएपछि जहाज उडाउने पहल भने नभएको हो ।
बागलुङ नगरपालिका १४ को नारायणस्थानमा रहेको बलेवा विमानस्थलको घेराबारमा यतिबेला खिया लागिसकेको छ । वडाध्यक्ष चक्रबहादुर खत्री भने भएको सम्पत्ति जीर्ण भैरहेकोमा दुःख लागेको बताउँछन् । ‘जहाजको आसमा बसिरहेका छौं, नियमित नचल्ने हो भने यो स्थानको उपयोगिताको विकल्प खोजौं,’ उनले भने, ‘हवाई सम्बन्धी धेरै क्रियाकलाप सञ्चालन गरेर भए पनि यो विमानस्थल संरक्षण गर्नुपर्छ ।’
बलेवा विमानस्थलको काम हेर्ने पोखरा विमानस्थललाई पनि यो बारे जानकारी नै छैन । जहाज पठाउने नपठाउने अधिकार केन्द्रीय कार्यालय र महानिर्देशकका निहित भएकोले पोखराका कर्मचारीले केही बताउन सकेनन् । २०१६ देखि २०१८ सम्म लगाएर स्थानीयले श्रमदान गरेर यो विमानस्थल बनाएका थिए ।
सदरमुकामदेखि बलेवा तर्फको ८ किमी सडक कालोपत्रे तयारी छ । सडक सहज भएमा हवाईजहाज सञ्चालनको पहल गर्ने बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठले बताए । स्थानीयले भने हवाई भाडा सहज भएमा मात्र यात्रीहरु बढ्ने बताउँछन् । बन्द भएको तीस वर्षसम्म पनि स्थानीय सविता रोका यो विमानस्थलको हेरालो छिन् । उनले नियमित तलब खाँदै आएकी छिन् ।






