पर्वतमा स्वास्थ्य क्षेत्रमा परिवर्तन: किशोरी आमाको संख्या घट्यो

पर्वत/नेपालमा २० वर्षभन्दा म उमेरमा विवाह गर्न नपाइने कानुनी व्यवस्था छ । जसले कानुनी रूपमा २० वर्षभन्दा कम उमेरमा मातृत्व वहन गर्न नदिन राज्यले व्यवस्था लगरेको छ । तर पनि २० वर्षभन्दा सानो उमेरमा नै बच्चा जन्माउने क्रम रोकिएको छैन ।

पर्वतमा पछिल्ला ३ वर्षको तथ्यांक हेर्दा बाल मातृत्व दरमासुधार भएको देखिएको छ । सुत्केरी हुन प्रदेश अस्पताल पर्वतमा पुगेकाहरूको तथ्यांक हेर्दा गत वर्ष २० वर्षमुनिको उमेरमा आमा बन्नेहरूको संख्यामा कमी आएको छ । अस्पतालका सूचना अधिकारी प्रकाश सुवेदीका अनुसार २०८२/०८३ मा ३६ जनाले २० वर्षभन्दा सानो उमेरमा बच्चा जन्माएका छन् । जसमा १४ जनाले दक्ष प्रसूतिकर्मीमार्फत् र २२ जनाले दक्ष स्वास्थ्यकर्मीमार्फत बच्चा जन्माएका छन् ।यही अवधिमा २० वर्ष वा सोभन्दा माथिको उमेर पार गरेपछि सुत्केरी भएकाको संख्या २ सय ४६ छ । सुत्केरी भएकामध्ये २ जनामा लामो समयको प्रसव पीडा र एक जनामा पाठेघर च्यातिने समस्या देखिएको छ ।

आर्थिक वर्ष २०८१/०८२ मा २० वर्षभन्दा कम उमेरमा बच्चा जन्माएका महिलाको संख्या ६२ थियो ।तीमध्ये ७ जनाले दक्ष प्रसूतिकर्मीमार्फत, ४९ जनाले दक्ष स्वास्थ्यकर्मीमार्फत र ६ जनाले अन्य स्वास्थ्यकर्मीमार्फत बच्चा जन्माएका थिए । यही अवधिमा अस्पतालमा पुगेर बच्चा जन्माएका २० वर्ष वा सोभन्दा माथिको उमेरका आमाहरूको संख्या २ सय ४५ थियो ।आर्थिक वर्ष २०८०/०८१ मा प्रदेश अस्पतालमा पुगेर ४१ जनाले २० वर्षभन्दा सानो उमेरमा बच्चा जन्माएका थिए । १७ जनाले दक्ष प्रसूतिकर्मीमार्फत, १७ जनाले दक्ष स्वास्थ्यकर्मीमार्फत र सात जनाले अन्य स्वास्थ्यकर्मीमार्फत सेवा लिएका सूचना अधिकारी सुवेदीले बताए । सोही अवधिमा २० वर्षभन्दा माथिको उमेरका २ सय ७३ जनाले बच्चा जन्माएका छन् ।

यीमध्येकी एक जनाले भने घरमा नै बच्चा जन्माएको तथ्यांक छ । यिनीहरूमध्ये ६ जनामा लामो समयको प्रसूति व्यथा, ३ जनामा सुत्केरीपछिको अत्यधिक रक्तस्राव, ३ जनामा साल पूर्ण रूपमा ननिस्कने तथा १ जनामा सुत्केरीपछिको संक्रमण देखिएको थियो ।आर्थिक वर्ष २०८०/०८१ को तुलनामा ०८१/०८२ मा २० वर्षभन्दा कम उमेरमा बच्चा जन्माउनेहरूको संख्या बढी छ । सचेतना र शिक्षा तथा अन्य समस्याबारे सचेतना फैलाए पनि २० वर्षमुनि नै आमा बन्नेहरूको संख्या २१ ले बढ्यो । गत वर्ष भने अघिल्लो बर्षको तुलनामा ४२ प्रतिशत कम महिला २० वर्षको उमेरमा आमा बनेका छन् ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा ढुण्डिराज पौडेलले बाल मातृत्व घट्नु सकारात्मक सन्देश भए पनि यसलाई पूर्ण रूपमा शून्यमा झार्न अझै व्यापक सचेतनाआवश्यकता रहेको बताए । ‘विगतको तुलनामा गत आर्थिक वर्षमा २० वर्षमुनिका आमाहरूको संख्यामा ४२ प्रतिशतले कमी आउनु निकै आशालाग्दो पक्ष हो ।

स्वास्थ्य संस्था र स्थानीय तहबाट चलाइएका सचेतनामूलक अभियान, किशोरी शिक्षा र चेतनाको स्तर वृद्धिले असर देखाउन थालेको छ’, उनले भने, ‘परिपक्व नभई आमा बन्दा लामो समय प्रसव पीडा हुने, पाठेघर च्यातिने र सुत्केरीपछिको अत्यधिक रक्तस्रावजस्ता जटिलता निम्तिने जोखिम उच्च रहन्छ । त्यसैले कानुनी उमेर नपुगी विवाह नगर्न र मातृत्व धारण नगर्नका लागि समुदाय स्तरमै अझ सशक्त अभियान चलाउनुपर्छ ।’