पर्वत/पटक-पटकको विवाद र यातायात व्यवसायीहरूको असहयोगका कारण पूर्ण रूपमा सञ्चालन हुन नसकेको कुश्मा बसपार्क अब नियमित रूपमा सञ्चालन हुने भएको छ । पर्वत सदरमुकाम कुश्मा बजारको बान्द्रेबिडीस्थित बसपार्क सञ्चालनका विषयमा सरोकारवालाबीच भएको छलफलपछि सर्वपक्षीय सहमति जुटेसँगै नियमित सञ्चालनको बाटो खुलेको हो ।
बुधबार जिल्ला प्रशासन कार्यालय पर्वतमा आयोजित बैठकमा यातायात व्यवसायी, कुश्मा नगरपालिकाका जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, पत्रकार, सुरक्षा निकाय तथा अन्य सरोकारवालाको सहभागिता रहेको थियो । बैठकले बसपार्कलाई यसको मूल उद्देश्यअनुसार व्यवस्थित रूपमा सञ्चालन गर्दै ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउने र शहरी क्षेत्रको पार्किङ व्यवस्थापनलाई चुस्त बनाउने निर्णय गरेको छ ।निर्णयअनुसार अब सबै प्रकारका सार्वजनिक सवारीसाधन अनिवार्य रूपमा बसपार्कभित्र प्रवेश गर्नुपर्नेछ । यात्रु चढाउने र ओराल्ने कार्य पनि बसपार्कबाटै गर्नुपर्ने व्यवस्था गरिएको छ । यसअघि बसपार्कबाट छुटेका सवारीसाधनलाई १० मिनेटसम्म शिवालय चोकमा लाइन बस्न दिने व्यवस्था रहेकामा अब उक्त व्यवस्था हटाइएको छ ।
त्यस्तै सडकमा जथाभावी पार्किङ गरिएका वा रोकिएका सार्वजनिक सवारीसाधनमाथि जरिवाना तथा ‘ह्विल लक’ लगाउने व्यवस्था कार्यान्वयन गरिने भएको छ । अन्य जिल्लाबाट आवतजावत गर्ने सबै सार्वजनिक सवारीसाधनलाई समेत अनिवार्य रूपमा बसपार्कभित्र प्रवेश गराइने निर्णय गरिएको छ । ६ करोड ६६ लाख ३ हजार २५० रुपैयाँ लागतमा निर्माण गरिएको बसपार्कमा दुई स्थानमा सवारी पार्किङको व्यवस्था गरिएको छ ।
बसपार्क परिसरमा दुईतले भवन, टिकट काउन्टर, यात्रु प्रतीक्षालय, शौचालय तथा व्यावसायिक प्रयोजनका लागि आधा दर्जन सटरसहितका कोठा निर्माण गरिएका छन् ।कुश्माबाट दैनिक काठमाडौं, पोखरा, सुनौली, विराटनगर, नेपालगञ्ज, भैरहवा, काकडभिट्टालगायत गन्तव्यमा सार्वजनिक सवारीसाधन सञ्चालन हुँदै आएका छन् ।
साथै बागलुङ, म्याग्दी, मुस्ताङ र रुकुमतर्फ जाने हजारौं यात्रु तथा सवारीसाधनको प्रमुख ट्रान्जिट बिन्दुका रूपमा कुश्मा रहँदै आएको छ । नियमित बसपार्क सञ्चालनसँगै शिवालय चोक र मध्यपहाडी लोकमार्ग क्षेत्रमा देखिने अव्यवस्थित पार्किङ समस्यामा समेत सुधार आउने अपेक्षा गरिएको छ ।






