निर्वाचन हारेपनि मतदानमा सहभागी सबै मतदातालाई पर्वत काँग्रेसद्वारा धन्यवाद ज्ञापन

पर्वत /निर्वाचनमा आफ्ना उम्मेदवार पराजित भएपनि हालै सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ मा मतदान गर्ने सबै मतदातालाई नेपाली काँग्रेस पर्वतले धन्यवाद व्यक्त गरेको छ । नेपाली काँग्रेस पर्वतका सभापति युवराज जोशीले वुधवार जारी गरेको धन्यवाद सन्देशमा प्रत्यक्षतर्फका उम्मेदवार अर्जुनप्रसाद जोशी तथा समानुपातिकतर्फ पार्टीलाई आफ्नो अमूल्य मत प्रदान गर्ने पर्वत जिल्लाका सम्पूर्ण आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीहरूप्रति हार्दिक धन्यवाद ज्ञापन गरिएको छ।

सन्देशमा निर्वाचन अभियानका क्रममा पार्टीका सबै तहका नेता तथा कार्यकर्ता, शुभेच्छुक र शुभचिन्तकहरूले देखाएको अथक मेहनत, समर्पण र साथप्रति पनि विशेष आभार व्यक्त गरिएको छ। निर्वाचन लोकतान्त्रिक अभ्यासको महत्वपूर्ण प्रक्रिया भएको उल्लेख गर्दै जीत–हार स्वाभाविक विषय भएको बताइएको छ। मतदाताको निरन्तर प्रयास र समर्पणका बाबजुद पनि यसपटकको परिणाम आफ्नो पक्षमा आउन नसकेको भन्दै आगामी दिनमा जनतासँग अझ सशक्त ढंगले जोडिने, जनभावना बुझ्ने तथा देश र समाजको विकास र समृद्धिका लागि निरन्तर सक्रिय रहने प्रतिबद्धता व्यक्त गरिएको छ।

साथै, पर्वत जिल्लाबाट प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सागर भुसाललाई बधाई दिँदै उहाँको सफल कार्यकालको शुभकामना पनि व्यक्त गरिएको छ । नेपाली काँगस पर्वतले लोकतान्त्रिक अभ्यासलाई सफल बनाउन सक्रिय सहभागिता जनाउने सम्पूर्ण मतदाताप्रति पुनः धन्यवाद व्यक्त गर्दै कार्यकर्तालाई समेत धैर्यतापूर्वक संगठन निर्माणमा गतिशील रहन आह्वान गरेको छ ।