देव–नारायण अक्षय कोषद्वारा विभिन्न क्षेत्रका व्यक्तिहरुलाई सम्मान

पर्वत/जिल्लामा सामाजिक, धार्मिक तथा सांस्कृतिक क्षेत्रमा सक्रिय रहँदै आएको देव–नारायण अक्षय कोष प्रतिष्ठानले आफ्नो आठौं वार्षिकोत्सव भव्यतासाथ सम्पन्न गरेको छ । प्रतिष्ठानले वार्षिकोत्सवको अवसरमा सामाजिक, धार्मिक तथा सांस्कृतिक कार्यक्रममा क्रियाशील व्यक्तिहरुलाई सहभागी गराइ संस्थाको गतिविधिबारे जानकारी गराएको थियो ।
कार्यक्रमको अवसरमा विभिन्न क्षेत्रका व्यक्तिहरु सम्मानित भएका छन् । जिल्लामा रही समाज र समुदायका गतिविधिलाई समाचारमार्फत् पु¥याएको योगदानको कदर गर्दै प्रतिष्ठानले शनिवार उहाँहरुलाई सम्मान गरेको हो ।

वार्षिकोत्सव कार्यक्रमकाबिच प्रतिष्ठानले नेपाल पत्रकार महासंघ पर्वतका पूर्व अध्यक्ष ओमप्रसाद शर्मा घायलसहित गोरखापत्र दैनिकमा कार्यरत पत्रकार प्रनिश गिरी र जिल्लामा क्रियाशील पत्रकार सन्तोष थापालाई दोसल्ला, सम्मानपत्र तथा नगद सहित सम्मान गरेको थियो । कार्यक्रममा पर्वतका बरिष्ठ समाजसेवी एवं धार्मिक व्यक्तित्व लोकनाथ आचार्यलाई समेत सम्मान गरिएको थियो । जिल्लाको कुश्मानगरपालिका वडा ३ दुर्लुङमा भएको कार्यक्रममा वक्ताहरुले पत्रकारिताले समाजमा सत्य सूचना प्रवाह गर्दै जनचेतना अभिवृद्धिमा महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरेका थिए ।

कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष प्रितम गुरुङले समाजिक तथा धार्मिक गतिविधिबारे जानकारी गराउँदै आगामी दिनमा पनि समाजसेवा, सांस्कृति संरक्षण र सहयोगका कार्यक्रमलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो । गाउँका विद्यालयमा अध्ययनरत उत्कृष्ट विद्यार्थीहरुलाई प्रतिष्ठानले पुरस्कार प्रदान गरेको थियो । सोही कार्यक्रममा संस्थाले प्रदेश अस्पताल कुश्मा पर्वतको गुणस्तरीय स्वास्थ्यसेवा प्रदान गर्न योगदान पुराएको भनी निवर्तमान अध्यक्ष शंकर गिरीलाई सम्मानित गरेको थियो ।

स्थानीय जनप्रतिनिधि, समाजसेवी, प्रतिष्ठानका सदस्य तथा सर्वसाधारणको उल्लेख्य सहभागीता रहेको कार्यक्रममा संविधानसभा सदस्य तथा नेपाली कांग्रेसका केन्द्रिय सदस्य अर्जुन प्रसाद जोशी प्रमुख अतिथि रहनुभएको थियो । सोही कार्यक्रममा बोल्ने वक्ताहरुमा सामाजिक व्यक्तित्वहरु ईच्छा बहादुर गुरुङ, नेपाली काँग्रेस पर्वतका पूर्व पार्टी सभापति नवराज गुरुङ, नेपाली काँग्रेस गण्डकी प्रदेश कार्यसमिति सदस्य यामबहादुर मल्ल रामकृष्ण, नेकपा एमालेका जिल्ला अध्यक्ष गोविन्द पहाडी, नेपाली कम्युनिष्ट पार्टीका गण्डकी प्रदेश सदस्यशंकर गिरी, पर्वतका सहायक प्रमुख जिल्ला अधिकारी गणेश शर्मा पौडेल, सम्मानित व्यक्तित्व लोकनाथ आचार्य, नेपाल पत्रकार महासंघ पर्वतका पूर्व अध्यक्ष ओमप्रसाद शर्मा घायल, संस्थाका सहसचिव योगराज गिरी वद्री लगायतले संस्थाले पुराएको सामाजिक योगदानबारे चर्चा गर्नुभएको थियो ।