बसाईं गएकालाई फिर्ता आए एकलाख नगद दिने भएपछि महाशिलामा १५ परिवार गाउँ फर्के

5

पर्वत/जिल्लाको महाशिला गाउँपालिकाले बसाईसराई गरी गएकालाई गाउँ फर्किएमा नगद र खाद्यन्न सहयोग गर्ने भएपछि १५ परिवार गाउँ फर्किएका छन् । गाउँपालिकाले बसाईसराई रोक्न र गाउँ फर्कन प्रोत्साहन गर्ने उद्धेश्यले बसाई सरेर गाउँ आउनेलाई रु एक लाख रुपैया अनुदान दिन थालेको छ । त्यसैगरी उक्त परिवारका लागि ६ महिनालाई पुग्ने खाद्यान्नको खर्च समेत पालिकाले भुक्तानी गर्ने भएको छ । बढ्दो बसाईसराईका कारण गाउँहरु रित्तिनुका साथै जग्गा जमिन बाँझिदै गएपछि अनुदान दिन थालिएको गाउँपालिकाका अध्यक्ष इश्वरीप्रसाद भुसालले जानकारी दिए ।

महाशिलाका अधिकांस नागरिक पोखरा, चितवन, नवलपुर, भैरहवा लगायतका ठाउँमा बसाई सरेर गएका छन् । पालिकाले उक्त कार्यक्रम लागु गरेपछि १५ घरपरिवार गाउँ फर्केर आएका छन् । १५ परिवारका ३२ जना गाउँपालिकामा फर्केर आएका हुन् । पालिकाको वडा नं ५ मा सात, वडा नं ४ मा चार, वडा नं वडा नंं १ मा तीन, र वडा नं ६ मा एक जना बसाई सरेर आएका छन् । उनिहरुलाई वडा कार्यालयको सिफारीस र गाउँ कार्यापालिकाको निणर्य बमोजिम अनुदान रकम वितरण गर्ने तयारी भैरहेको अध्यक्ष भुसालले बताए ।

गाउँपालिकाले चालु आर्थिक वर्षदेखि यस्तो कार्यक्रम लागु गरेको हो । महाशिला गाउँपालिकाका ६ वटै वडाबाट बसाई सरेर जाने क्रम पछिल्लो एक दशक यता ह्वात्तै बढेको छ । गाउँका अधिकांस घरहरु खाली हुन थालेका छन् भने खेतीयोग्य जमिन बुट्यान र झाडीले भरिएको छ ।

गाउँमा सडक, खानेपानी, बिजुली, स्वास्थ्य सेवा लगायतको पहुँच बढ्दै गएपनि बसाईसराई गरेर जाने क्रम नरोकिएपछि गाउँ फर्काउनका लागि अनुदान दिने कार्यक्रम लागु गरिएको अध्यक्ष भुसालले बताए । उक्त रकम घर बनाउनका लागि अनुदान दिईएको हो । ‘जसको घर छैन, वा जीणर् बनेको छ, त्यस्तालाई घर मर्मत गर्न वा नयाँ बनाउनका लागि प्रति परिवार रु। एक लाख रुपैया अनुदान दिन थालिएको भुषालले बताए ।

पालिकाका अुनसार पछिल्लो एक वर्षमा गाउँपालिकावाट ९३ परिवारका तीन सय २५ जना भने गाउँपालिकावाट बसाईसराई गरेर गएका छन् ।