पर्वत/जलजला गाउँपालिकाले पालिकावासीहरूको अवस्थाका बारेमा बुझेर अपाङ्गता भएका, आर्थिक रूपमा कमजोर भएका, गर्भवती तथा सुत्केरी, कुनै विशेष अवस्था भएका लगायतलाई एम्बुलेन्सको लक्षित वर्गमा राखेर सेवा दिन शुरू छ। लक्षित वर्गका जो कोहीलाई पनि अस्पताल आउजाउ गर्न पैसा नलाग्ने गरी गाउँपालिकाले निर्णय गरेको छ। सोही अनुसार पछिल्ला दिनहरूमा यो सेवाले लक्षित वर्गका नागरिकलाई सहज भएको छ । नागरिकलाई स्थानीय सरकारको अनुभूति दिनका लागि यो काम महत्त्वपूर्ण भएको र बिरामी भएको बेलामा आर्थिक समस्याले स्वास्थ्य संस्थासम्म जान नसक्नेहरूको लागि मानवीय धर्मको काम पनि भएको गाउँपालिकाका अध्यक्ष राजु प्रसाद आचार्य बताउँछन्।
उनका अनुसार साउन महिनामा मात्रै अपाङ्गता भएका एक जना, ज्येष्ठ नागरिक एक जना, सुत्केरी छ जना, गरिब परिवारका दुई जना र अन्य एक जना गरी १७ जनालाई निःशुल्क ओसारपसार गरिएको छ। भदौ महिनामा ज्येष्ठ नागरिक १२ जना, गर्भवती सात जना, गरिब परिवारका छ जना र अन्य चार जना गरी २९ दुई महिनामा ४६ जनालाई निःशुल्क एम्बुलेन्स सेवा प्रदान गरिएको छ।
निःशुल्क सेवा लक्षित वर्गका लागि मात्रै भए पनि सशुल्क सेवा भने सोही एम्बुलेन्सहरूबाट सबैले पाउने गरेका छन्। सशुल्क सेवा अन्तर्गत साउनमा ७७ हजार एक सय ९० रुपैयाँ र भदौमा ९८ हजार सात सय गरी कुल एक लाख ७५ हजार आठ सय ९० रुपैयाँ आम्दानी भएको छ।
गाउँपालिकामा रहेका दुई वटा एम्बुलेन्सलाई व्यवस्थित रूपमा सञ्चालन गर्न तथा तिनीहरूलाई गाउँपालिकामार्फत सञ्चालनमा ल्याउने गरी गाउँपालिकाले अग्रसरता लिएको हो। गर्भवती तथा सुत्केरी, ज्येष्ठ नागरिक, विपन्न र अपाङ्गता भएकाहरूको लागि एम्बुलेन्स सेवा दिन सुरु गरिएको हो। सबै वडाका गर्भवती र सुत्केरीलाई घरदेखि अस्पतालसम्म आउजाउ गर्नुपर्ने, स्थानीय स्वास्थ्य संस्थाको सिफारिसमा बाहिरी जिल्लाका अस्पतालमा आउजाउ गर्नुपर्ने, ७० वर्ष माथिका ज्येष्ठ नागरिकलाई आकस्मिक उपचारका लागि लैजानुपर्ने, घरमा आम्दानी गर्ने व्यक्ति नभएका विपन्न र गरिब तथा ‘क’ र ‘ख’ वर्गको अपाङ्गता परिचयपत्र भएका गाउँपालिकावासीहरूले निःशुल्क एम्बुलेन्स सेवा पाउँदै आएका छन्।
‘उहाँहरू चार प्रकारका बाहेक आकस्मिक समस्यामा परेका अरू नागरिकलाई पनि समस्या परेको बेलामा हाम्रा एम्बुलेन्सहरूले सेवा प्रदान गर्नेछन्। कम्तीमा पनि नागरिक स्वस्थ हुनुपर्छ मान्यताका साथ यो काम थालेका हौँ’, गाउँपालिकाका अध्यक्ष आचार्य भन्छन्, ‘जसका लागि निःशुल्क एम्बुलेन्स भनेका छौँ उहाँहरूले एक रुपैयाँ पनि तिर्नुपर्दैन। जनप्रतिनिधिको काम नागरिकको समस्यामा सँगै हुनु नै हो। हामी नागरिकमैत्री काममा प्रतिबद्ध छौँ।’
गाउँपालिकाले प्रदान गरेको सेवामा सघाउने वा सहकार्य गर्न मन लागेमा त्यस्ता व्यक्ति वा संस्थाले ‘एम्बुलेन्स सञ्चालन समिति’ को खातामा आर्थिक सहयोग गर्न सक्ने उनको भनाइ छ। नागरिकको आर्थिक अवस्था कमजोर रहँदा धेरैलाई निःशुल्क बोक्नुपर्ने, गाउँका बाटा कठिन हुनु, भूगोलको जोखिम लगायतका कारण पनि सक्नेहरूले नसक्नेहरूका लागि आर्थिक सहयोग गर्न अपिल गरिएको छ।