सवै नागरिकलाई न्यून महसुलमा स्वच्छ खानेपानीको पहुँच पुर्‍याउनुपर्छ – कानून मन्त्री गिरी

16

पर्वत/कानून न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले उपभोक्तामुखी खानेपानी सम्वन्धि कानून निर्माणको आवश्यकता रहेको बताउनुभएको छ । गृह जिल्ला पर्वतमा शिवालय खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको १८ औँ साधारणसभालाई शनिवार सम्वोधन गर्दै मन्त्री गिरीले उपभोक्तालाई न्यून महसुल लाग्नेगरी ऐन संशोधनको आवश्यकता देखिएको बताउनुभयो ।

स्वच्छ खानेपानी पाउनु नागरिकको मौलीक हक भएको बताउँदै उहाँले सवै नागरिकलाई सहज रुपमा खानेपानीको पुहँच पुर्‍याउन सरकार लागिरहेको बताउनुभयो । उहाँले पुराना योजनालाई व्यवस्थित गर्नुका साथै नयाँ योजनाहरुलाई विस्तार गरेर हरेक नागरिकको घरघरमा धारा विस्तार गर्ने योजना सरकारले ल्याएको बताउनुभयो । मन्त्री गिरीले खानेपानीका श्रोतहरु सुक्दै जान थालेको अवस्थामा नयाँ श्रोतहरु खोजेर एकीकृत रुपमा आयोजना संचालन गर्नुपर्ने बताउनुभयो । उहाँले अहिलेपनि नागरिकले खानेपानीका लागि ठुलो धनराशी खर्चिनुपरेको, गरिब समुदायले धारा जडान गर्नै नसक्ने अवस्था आएको बताउँदै यसको अन्त्य गरिनुपर्ने बताउनुभयो । उपभोक्तालाई शुन्य लागतमा राज्यले पानी उपलव्ध गराउनुपर्ने बताउनुभयो ।

मन्त्री गिरीले सदरमुकाम रहेको कुश्मा नगरपालिकामा बृहद खानेपानी योजना संचालन गर्न आग्रह गर्दै त्यसका लागि तीनै तहका सरकारबीच साझेदारी गर्न सुझाव दिनुभयो । कम्तिमा रु. दुई अब बराबरको योजना निर्माण गर्न समेत उहाँले आग्रह गर्नुभयो ।

फरक प्रसंगमा मन्त्री गिरीले बद्मासी गर्ने सहकारी संचालकलाई कारबाहीको दायरमा ल्याउनैपर्ने बताउनुभयो । ऋण लिएर नतिर्नेहरुलाई जसरी बैंकले कालो सूचिमा राख्छ त्यसैगरी सहकारी ठगहरुलाई पनि कालो सुचिमा राखेर राज्यका सेवा सुविधावाट बञ्चित गर्नुपर्ने बताउनुभयो । सहकारी क्षेत्रमा देखिएको समस्या समाधानका लागि आवश्यक कानून निर्माणको काम अन्तिम चरणमा पुगेको उहाँको भनाई छ ।

मन्त्री गिरीले मुलुकमा देखिएको अहिले अवस्थामा छिट्टै सुधार हुने बताउनुभयो । मुलुकको आर्थिक अवस्था विस्तारै लयमा आउँदै गरेको बताउँदै छिटै नेपालीहरुले सुखको स्वास फेर्न पाउने दावी समेत गर्नुभएको छ । उहाँले खानेपानी जस्ता पवित्र संस्थाहरुमा राजनीति गर्न नहुने बताउनुभयो । नागरिकलाई खानेपानी उपलव्ध गराउने उद्धेश्यले खोलीएका यस्ता संस्थामा सर्वसम्मत रुपमा सक्षम नेतृत्व चयन गर्न उहाँले आग्रह गर्नुभयो ।

कुश्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशीले बढ्दो जनसंख्याको चापसँगै खानेपानीको अभाव पनि थपिँदै जाने बताउँदै नयाँ श्रोतहरु खोजी गरेर नागरिकलाई पानीको सहजता प्रदान गर्न आग्रह गर्नुभयो । कुश्माबजारमा वितरित पानी स्वच्छ रहेको बताउँदै यसलाई कायम राख्न उहाँले अनुरोध गर्नुभयो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्मा, खानेपानी विभागका सिनीयर इन्जिनियर कुलबहादुर पौडेल, नेपाली काँग्रेसका उपसभापति डा. चुडामणी शर्मा, नेकपा एमालेका अध्यक्ष गोविन्द पहाडी लगायतले बोल्नुभएको थियो ।

सो अवसरमा संस्थाका अध्यक्ष रविकुमार श्रेष्ठले आफ्नो कार्यकालमा भएका संस्थाका गतिविधिबारे प्रस्तुत गर्नुभएको थियो । उपभोक्ता संसारका अध्यक्ष रविकुमार श्रेष्ठको सभापतित्वमा भएको उक्त कार्यक्रमको संचालन सचिव तेजेन्द्र बहादुर सुवेदीले गर्नुभएको थियो । अधिवेशनले यही १८ गते नयाँ नेतृत्व चयन गर्ने शिवालय कुश्मा खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका कार्यालय प्रमुख ज्योतिन्द्र शर्माले जानकारी दिनुभयो ।