पर्वत/स्वास्थ्य कार्यालय पर्वतको आयोजनामा किटजन्य रोगहरूको अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । गर्मी र बर्षायामको बेलामा लामखुट्टे, किर्ना, पुतली, लगायतका किराहरूको कारण विभिन्न रोगहरू महामारीको फैलिने भएकोले यस्ता किराहरूको नियन्त्रण गरी सङ्क्रमणबाट बच्ने उपाय, उपचार र उपचारपछिको अवस्थाका बारेमा जानकारी दिनका लागि कार्यक्रमको आयोजना गरिएको हो ।
कार्यक्रममा अभिमुखीकरण गर्दै पर्वत अस्पतालका मेडिकल अधिकृत डा. सनम ढकालले गर्मी तथा वर्षा याममा विभिन्न प्रकारका किराहरूबाट मानिसमा रोगको सङ्क्रमण बढ्ने र त्यसमा पनि सबैभन्दा जोखिम लामखुट्टेबाट रहेको बताउनुभयो । अहिले देखिने गरेका डेंगु, मलेरिया, कालाजार, जीका भाइरस, स्क्रव टाइफसमध्ये पर्वत जिल्ला डेंगुको जोखिममा बढी रहेको बताउनुभयो । एडिज जातको लामखुट्टेको पोथीबाट डेंगु सङ्क्रमण फैलिने भन्दै उहाँले एउटा पोथी लामखुट्टेले आफ्नो जीवनकालमा एक हजारसम्म अण्डा पार्ने जानकारी दिनुभयो ।
डेंगु जुनसुकै उमेर समूहका व्यक्तिलाई पनि लाग्ने भएकोले यसबाट बच्नको लागि सबै उमेर समूहका व्यक्तिहरू लामखुट्टेको टोकाइबाट बच्नुपर्ने उहाँको सुझाव छ । सङ्क्रमित लामखुट्टेले टोकेको चारदेखि १० दिनसम्म नै लक्षणहरू देखिने भन्दै डा. ढकालले डेंगु भाइरसका प्रजातिहरू चार प्रकारका रहेको बताउनुभयो । कोही पनि व्यक्तिलाई एक पटक डेंगु लागेमा दोस्रो वा त्यसपछिका सङ्क्रमणमा जोखिम बढ्दै जाने उहाँको भनाई छ ।
मलेरिया, कालाजार, जीका भाइरस, स्क्रव टाइफस लगायतका सङ्क्रमणहरू फैलिनुको कारण र यसको निदानका विषयमा स्वास्थ्य कार्यालयकी जनस्वास्थ्य अधिकृत ममता ढकालले सहजीकरण गर्नुभयो । किटजन्य रोग भनेकै किराको टोकाई वा तिनीहरूको संसर्गबाट लाग्ने भएकोले किराको टोकाइबाट बच्न अपनाउनुपर्ने सावधानीको बारेमा उहाँले जानकारी गराउनुभयो । छिमेकी देश भारतका केही व्यक्तिमा जिका भाइरस सङ्क्रमणको पुष्टि भएको खबरहरू आइरहेको बेलामा नेपाल पनि यसको जोखिममा रहेको उहाँको भनाई छ । यसबाट नेपालमा कोही पनि सङ्क्रमित नभएको र मृत्यु नभएको भए पनि सङ्क्रमित आमाबाट जन्मिने बच्चाहरू प्रभावित हुने भएकाले यसमा ध्यान दिनुपर्ने जनस्वास्थ्य अधिकृत ढकालले सुझाव दिनुभयो ।
यस्तै स्वास्थ्य कार्यालय पर्वतका प्रमुख प्रवीण शर्माले किटजन्य रोगहरुमध्ये अहिलेको अवस्थामा डेंगु सबैभन्दा जोखिमपूर्ण रहेकोले आफ्नो क्षेत्रमा पानी जम्ने अवस्था भएमा त्यसको सरसफाइमा जुट्न सबैलाई अनुरोध गर्नुभयो । कतिपय स्थानीय तह तथा सरकारी कार्यालयहरूले स्वास्थ्यका अभियानलाई प्राथमिकतामा नराखेको प्रसङ्ग उठाउँदै उहाँले रोगको नियन्त्रणका लागि स्थानीय तहहरूसँग समन्वय भइरहेको बताउनुभयो ।
गत वर्ष तनहुँ जिल्लामा डेंगु नियन्त्रणमा देखा परेको समस्यालाई उदाहरणको रूपमा प्रस्तुत गर्दै शर्माले पर्वतमा पनि त्यही अवस्था आएमा नियन्त्रणमा कठिनाइ हुने बताउनुभयो । अबको दुईरतीन हप्तामा डेंगुको सङ्क्रमण उच्च हुन सक्ने विगतको तथ्याङ्कले देखाएकोले स्वास्थ्यकर्मीहरुले दिनुभएका सुझावहरू सबैले पालना गर्नुपर्ने उहाँको भनाइ छ ।
शर्माकै अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन कार्यालयकी पब्लिक हेल्थ नर्सिंग निरीक्षक सुमन शर्माले गर्नुभएको थियो भने उक्त कार्यक्रममा नेपाल पत्रकार महासङ्घ पर्वतका अध्यक्ष सन्तोष थापा, केन्द्रीय सदस्य छविलाल तिवारी, विभिन्न सञ्चार माध्यममा आबद्ध पत्रकारहरूसहित कुश्माका विभिन्न वडाका स्वास्थ्य स्वयंसेवीककाहरुको पनि सहभागिता रहेको थियो ।