–माधव चापागाईं
संस्कारले मानिसलाई सभ्य र सुसंस्कृत बनाउँछ । संस्कार नभएको व्यक्ति अविवेकी हुन्छ । आफ्नो सन्तान होस् या पराइ जो सुकै व्यक्ति किन नहोस् । हामीले सबै मानिससँग सौहार्दपुर्ण व्यवहारको अपेक्षा राख्छौं । असभ्य र असहिष्णु व्यवहार प्रायः सबैलाई अपाच्य लाग्छ । जुन क्रियाकलापले हामी सन्तुष्ट बन्न सक्दैनौं । त्यसैले हाम्रा नानी बाबुहरुलाई संस्कारी बनाउनु आवश्यक छ । बालबालिका भविष्यका कर्णाधार हुन् । उनीहरुको भविष्य नै देशको भविष्य हो । बालबालिकाहरु सभ्य, शिष्ट र सुसंस्कृत भएनन् भने परिवार, समुदाय, समाज र समग्र राष्ट्रको उन्नति हुन सक्दैन । तसर्थ संस्कार बिनाको मानिसले मानवीय जीवनको अस्तित्व बुझ्न नसक्ने भएकाले अहिलेका बालबालिकालाई संस्कार शिक्षा प्रदान गर्नु आवश्यक छ ।
संस्कार भन्नाले मानवीय अवगुण, दोष, कमजोरी आदि हटाई परिष्कार गर्ने कार्यलाई बुझिन्छ । हाम्रा दैनन्दिन क्रियाकलापलाई सुधार गरि समाजमा शुद्ध रुप प्रकट गर्न संस्कार शिक्षाले महत्त्वपूर्ण भूमिका खेल्दछ । मानिसले आफ्ना रहनसहन, मर्यादा, विनम्रता र क्षमाशिलता आदिका माध्यमबाट मानवीय मनमा पर्ने प्रभाव वा धारणालाई पनि संस्कारको संज्ञा दिन सकिन्छ । आफ्नो रितिरिवाज, परम्परा र मुल्यमान्यताको खोजी गर्नु हरेक मानिसको कर्तव्य हो । तसर्थ हाम्रा संस्कार, संस्कृति र रहनसहनको वैज्ञानिक आधार खोजेर व्यवहारमा लागू गर्नु आवश्यक छ ।
अहिलेका बालबालिकाहरुमा मातापिता, गुरु र अतिथिलाई कस्तो व्यवहार गर्ने भन्ने बोध कम छ । सैद्धान्तिक ज्ञानले भरिएका पुस्तक बोक्न सकि न सकि हिड्नु पर्छ । शुन्य व्यवहारमा रमाउनु पर्छ । आमा बुबाले पनि तिनै सिद्धान्त र पाश्चात्य संस्कृतिको जड्मा जीवन व्यतीत गरिरहेका छन् । आफ्नो कुल परम्परा र सामाजिक व्यवहारको बलि चढाउन उद्दत हाम्रो समाजले आफुभन्दा ठुला र सानालाई कुन व्यवहार गर्ने भन्ने नैतिक गुणहरुको अभाव व्यहोरिरहेकोछ । मानव चेतना र समाज सुधारको मुल मर्म बोकेको शिक्षा सैद्धान्तिक हुँदा वर्तमान समाज ज्ञान र संस्कारको भोको बन्दै छ । विद्यार्थीहरु लेख पढ गर्न, बोल्न र खेल्न सक्छन् तर घरायसी काम गर्न जान्दैनन् । ससाना काम गर्ने शैली उनीहरुलाई थाहा छैन । व्यवहारिक पुर्णताको अभावका बिच हाम्रो समाजले भविष्यमा कस्तो संस्कार भएको जनशक्ति उत्पादन गर्छ? कुन नैतिकताको मार्ग समाउछ ? यी विविध समस्यालाई केलाउदै समाजलाई संस्कारी पथमा अगाडि बढाउने उत्तम बाटो संस्कार शिक्षा हुनसक्छ ।
हाम्रा पुर्खाहरूले जीवनयापनमा आवश्यक सम्पूर्ण कार्यलाई संस्कारसँग जोडेका छन् । संस्कारहीन व्यक्ति चरित्रहीन बन्छ । ‘ज्ञानेन हिनो पशुभि समान’ भन्या झै जसरी ज्ञानले वन्चित मान्छेको जीवन पशुत् हुन्छ । त्यसरी नै संस्कार रहित मानव पनि अस्तित्व विहिन बन्छ । बरु धन सम्पत्तिबाट वन्चित भए । परिश्रम गरेर परिपुर्ति गर्ला तर चरित्रहीन भयो भने समग्र जीवन नै नरकतुल्य हुन्छ । तसर्थ सत् चरित्र निर्माण र किर्तिका लागि संस्कार आवश्यक छ । ‘स्थानीय पाठ्यक्रमअन्तर्गत कक्षा १–८ मा स्थानीय विषयवस्तुलाई समेटेर पाठ्यपुस्तक तयार गरी पठनपाठन गराउन पाउने अधिकार स्थानीय सरकारलाई छ । ‘स्थानीय पाठ्यक्रममा समेट्नु पर्ने विषय थोरै भएको र माथिल्ला कक्षामा दोहोरिने भएकाले जीवनोपयोगी शिक्षाको खोजी गर्नेक्रममा संस्कार शिक्षा उपयुक्त छ ।
डा. स्वामी केशवानन्दद्वारा लिखित संस्कार शिक्षाको पाठ्यपुस्तकबाट हाम्रो समाजले उचित मार्ग पाउने छ ।
पुस्तकमा नैतिक ज्ञानगुनका विषयहरूलाई कथा, कविताका माध्यमबाट प्रस्तुत गरिएको छ । आधुनिक शिक्षाको विकासक्रमसँगै संस्कारयुक्त, नैतिक शिक्षा विलिन हुँदै गइरहेका छन् । प्रारम्भमा संस्कारयुक्त व्यक्ति निर्माण गर्दै अन्ततः संस्कारयुक्त समाज र राष्ट्रको निर्माण गर्न अत्यावश्यक छ । जुन उद्देश्य पूरा गर्न यो पुस्तकले पाठ्यक्रमको औचित्य पाउन जरुरी छ । वैदिक सत्य सनातन धर्मका अनुयायी हामीहरुको सनातन संस्कृति र संस्कार नै महान मन्त्र हुन् । भनेर अर्थ्याउदै आएका छौं । हाम्रो आफ्नै मौलिक जीवनशैली छ । हामीले आधुनिक शिक्षा पद्धतिको निम्छरिलो प्रभावले आफ्नो मौलिक संस्कार भुलिरहेका छौं । आफ्नो संस्कार एवं परम्परा चिन्नु र चिनाउनु नै संस्कार शिक्षाको मूल ध्येय हो । बाल-बालिकामा आफ्नो पूजापद्धति, देवता, तीर्थ, नदी, चाडपर्व, जात्रा, परम्परा र सनातन मूल्य मान्यताको जानकारी दिई नैतिक चेतनाले प्रबुद्ध गराउनु नै संस्कार शिक्षाको मूल उद्देश्य हो । भनेर लेखकीय खण्डमा स्पष्ट पारिएको छ ।
वैदिक अनुसन्धान गुठी गौरीघाट, पशुपति र भाना फाउन्डेसनको सहकार्यमा प्रकाशित यो पुस्तकले समुज्ज्वल भविष्यका लागि शास्त्रीय आधार प्रस्तुत गरेको दाबी गरेका छन् । वस्तुतः हरेक मानिसका लागि यो पुस्तक उपयोगी रहेको मानिएको छ । सनातन संस्कृति र मानवीय मुल्यको सर्वोत्कृष्ट यात्राको नारालाई सार्थक तुल्याउदै प्रकाशकीय खण्डमा नेपाल ऋषिमुनिहरूको तपोभूमि भएकाले ऋषिहरूको संस्कार नै हाम्रो संस्कार हो । हाम्रा छोराछोरीहरूले आफ्नो संस्कार भुल्दै गएका छन् । सनातन संस्कारको जागरणका लागि संस्कार शिक्षा अति नै आवश्यक छ । संस्कार शिक्षाको बलियो आधार रहेको यो पुस्तक पाठ्यक्रममा लागू गरि सनातन संस्कृतिको संरक्षणमा सबै जुट्नु पर्छ ।
संरचनागत ढाचा हेर्दा यस पुस्तकमा एघार अध्यायका दरले पाँच वटा पुर्ण पाठ रहेका छन् । ११९ पेजको पहिलो संस्करणमा कथावस्तु अनुसारका रङ्गिविरङ्गी छायाचित्रले सन्दर्भ अनुरुपको अर्थ बोध गराएका छन् । विशेष गरेर पुस्तकमा अध्यात्म, नैतिक शिक्षा, सनातन संस्कृती, मानवीय मूल्य, राष्ट्रभक्ती र सदाचारका विषयलाई सुक्ष्म रुपमा वर्णन गरिएको छ । यस पुस्तकको अध्ययनबाट बालबालिकाहरु नैतिक र चारितृक रूपमा सबल बन्नेछन् । आत्मनिष्ठा, अनुशासन, शिष्टता र दृढनिश्चयका साथ उर्जासिल र प्रफुल्लित मानसिकताले सनातन संस्कृती र मानवीय मुल्यको खोजी गर्दै पू्र्खाको विरासत र आत्म गौरवमा योगदान पुग्ने छ ।
पहिलो अध्यायमा गणेश, सरस्वती, शिव, गुरु, देवी, विष्णु, लक्ष्मी, सूर्य, कृष्ण, राम र महावीर हनुमानको वन्दना र स्तुति परक धार्मिक श्लोकहरु संस्कृत भाषामा उल्लेख गरि नेपाली करण गरिएको छ । जसबाट विद्यार्थीहरुले साधना र उपासनाको महिमा बुझ्न सक्नेछन् । म सबेरै उठ्छु, सधैं स्नान गर्छु, जप ध्यान, भगवानको भजन, स्वाध्यायन, भोजन, दिनचर्या, सुर्यनमस्कार र सुर्योपस्थान, ब्रह्मचर्य, पन्चदेव र पन्चोपचारको पुजन लगायतका शिर्षकले पुर्ण द्वितीय पाठमा मानिसका दैनन्दिन सत् व्यवहार, आचरण र नैतिकताको विषयवस्तुलाई धार्मिक दृष्टिकोणबाट विज्ञान सम्मत पुष्टि गरिएको छ ।
हाम्रा नैतिक आचरण र सनातन संहिताका विषयलाई तृतीय अध्यायमा वर्णन गरिएको छ । जसमा नमस्ते । नमस्ते !!, सत्यं वद, मेरा बाबा मेरा भगवान्, गुरु भगवान्, नारी सम्मान, भोजनको नियम, नीतिका श्लोकहरू, वानमहिमा, विद्यार्थीका लक्षण र नीतिशिक्षाका विषयलाई व्यवहारिक तवरबाट चर्चा गरिनु गौरवमय प्रस्तुत स्वीकार्न सकिन्छ ।
चतुर्थ अध्यायमा हिन्दु धर्मभित्र सर्वमान्य मानिएका श्रीगणेश चतुर्थी, श्रीपञ्चमी, महाशिवरात्रि, रामनवमी, शतबीजरोपण, गुरुपूर्णिमा, अक्षयतृतीया, लक्ष्मीपूजा, कार्तिकदान जस्ता पर्वहरुको धार्मिक महत्त्व र वैदिक विधि विधानको परिचर्चाले सनातन संस्कार र संस्कृतिको विषयलाई पुस्तकले समेटेको छ । समाजमा देखिएका विकृत कार्यको निराकरण गराउन जन्मोत्सव कसरी मनाउने ? भोजन संस्कृति के हो? भनेर जवाफ दिइएको छ ।
पुस्तकको अन्तिम अर्थात् पञ्चम अध्यायमा सिद्धिदाता गणेशको पूजा, कालिदास, भस्मासुर, गुरुभक्ति, कुबेर, दधिची, मार्कण्डेय, हनुमान र दानी कर्णको कथा सहित विभिन्न कथाहरुको माध्यमबाट समाजमा प्रेरणा प्रदान गरिएको छ । भने यी सबै पाठ र प्रस्तुतिको पर्यायका रूपमा सत्कर्मको फल, जननी र जन्मभूमिको कथाबाट नैतिकवान नागरिकको तर्फबाट जन्मभूमिको उन्नयन र राष्ट्रप्रेमको भावना जागृत गराइएको छ ।
सनातन संस्कृति र मानवीय मुल्यको सर्वोत्कृष्ट यात्रालाई मुल नारा बनाइएको संस्कार शिक्षाले मानव कल्याण र परोपकारी मार्ग देखाउने छ । चरित्र निर्माणका लागि गरिने विधिपूर्वक संस्कारबाट मानिसलाई निकट भविष्यको सुन्दरता देखाउन सकिने छ । बालबालिकामा दिएको संस्कार कहिल्यै अन्यथा हुँदैन । चरित्रको प्रयत्नपूर्वक रक्षा गर्नुपर्दछ । धन, सम्पत्ति आदि वस्तुहरू आउने जाने भइरहन्छन् । सम्पत्तिहीन भएर केही हुँदैन तर चरित्रहीनताको जीवन मृत्युतुल्य हुन्छ । त्यसैले चरित्रको सुरक्षाको लागि संस्कार शिक्षा आवश्यक छ ।
पुस्तकको पृष्ठ भागमा विभिन्न देवी-देवताको ध्यान, स्तुति एवं वन्दनाबाट आफूलाई परमात्माको निकट बनाई आध्यात्मिक शान्ति लाभ गर्नु पर्दछ । सनातन संस्कारको ज्ञानले आफ्नो दैनिक जीवनलाई नैतिक चेतनाले परिपूर्ण र समुन्नत पारी जीवनलाई सहज र सरल ढङ्गले स्वीकार गर्नु पर्दछ । भने यहाँ तिथि, पर्व, जात्रा, मेला एवं नेपालका मठमन्दिर तीर्थ, नदी आदिको ज्ञान गर्दै तिनीहरूप्रति गौरवबोध गर्नु हामी सबैको कर्तव्य हुन्छ भन्ने सन्देश उदृत छन् ।
यसर्थ पनि ‘संस्कार शिक्षा’ को पठनपाठन गराउनु आवश्यक छ । संस्कार संस्कृति तथा नैतिक शिक्षाको कमिका कारण युवापुस्तामा आफ्नो संस्कारसम्बन्धी ज्ञानको अभाव देखिन थालेका छन् । जसका कारण समाजमा विभिन्न प्रकारका खराब, अपाच्य र विसङ्गतपुर्ण क्रियाकलाप भइरहेका छन् । ‘संस्कार शिक्षा’ आफ्ना मौलिक कला, संस्कृति, चालचलनको संरक्षण, संवर्द्धन र पछिल्लो पुस्तालाई संस्कारयुक्त बनाउनका लागि आवश्यक छ । स्थानीय पाठ्यक्रमअन्तर्गत संस्कार शिक्षा उपयुक्त छ । यहाँ संस्कारले मानिस विनम्र बन्नुपर्ने, आफू भन्दा ठुलालाई आदर र सानालाई माया गर्नु, धैर्यशिल बन्नु, आपतविपतको डटेर सामना गर्नु, आत्मालोचना गर्ने प्रयत्न गर्नु, स्थिर चरित्र निर्माण गर्नु, प्रेरणादायी दृष्टान्तलाई आत्मसात् गर्नु, दुखमा नैराश्यताको भावले विचलित नहुनु, सुखमा मात्तिने दुखमा आत्तिने प्रवृत्ति परित्याग गर्नु, आफू समानको व्यक्तिको प्रगतिलाई हेरेर कमजोर मानसिकता नबनाउनु जस्ता आचरण सिकाउने प्रयत्न गरिएको छ ।
यसर्थ संस्कार शिक्षाले मानव मनलाई अध्यात्म, ध्यान, एकाग्रता, सदाचार र परोपकारको पथमा डोर्याउने प्रयत्न गरेको छ । मानवको अस्तित्व पहिचानमा दृढतापुर्वक लाग्न प्रेरित गर्न सामर्थ्य राख्ने यो पुस्तकले समग्र राष्ट्रको पहिचान र मानवीय कार्यको समुन्नति प्रदान गर्नेमा आशावादी हुन सकिन्छ । भौतिकवादको उन्मादमा रुमलिएको हाम्रो समाजलाई अध्यात्मवाद र नैतिकताको दृष्टिकोण प्रदान गर्ने यो शिक्षा वर्तमानमा गण्डकी प्रदेशका केही पालिकाहरुले स्थानीय पाठ्यक्रमका रुपमा शैक्षिक सत्रको शुरुवातदेखि नै कक्षा ६, ७ र ८ मा पठनपाठन सञ्चालन गरेका छन् । भने अन्य पालिकाले पनि यो शिक्षालाई जोड्नु पर्ने देखिन्छ । पाठ्यपुस्तकको स्वरुप पाए लगत्तै यसलाई अझै समयसापेक्ष परिमार्जन र विषयवस्तुलाई थप गर्दै लैजानु आवश्यक छ । तर नेपालको राजनैतिक इतिहासमा राज्यले धर्म निरपेक्षताको पगरी भिरेको अवस्थामा यो शिक्षाले आश्रय पाउला या नपाउला हेर्न बाकी नै छ । धर्म परिवर्तनको उग्र रुपका अगाडि हाम्रो धर्म संस्कृती र परम्पराले वैज्ञानिक स्पर्श पाउलान् कि नपाउलान् ? हाम्रा सन्ततिले हेर्न बाकी नै छ । परन्तु उनिहरुले अनुशरण गर्ने अवसर मात्रै पाए भने स्पष्ट अवलम्बन गर्ने छन् ।