आगामी आर्थिक वर्षको लागि मोदी गाउँपालिकाले सार्वजनिक गर्यो झण्डै ५९ करोडको बजेट

3

पर्वत/जिल्लाको मोदी गाउँपालिकाले आगामी आर्थिक बर्षको लागि कुल ५८ करोड ४९ लाख ८८ हजार ५० रुपैंयाको बजेट सार्वजनिक गरेको गरेको छ । गाउँ सभाको १५ औं अधिवेशनमा गाउँपालिका उपाध्यक्ष बिमल लामिछानेले उक्त बजेट प्रस्तुत गरेका हुन् ।

गाउँपालिका उपाध्यक्ष लामिछानेले प्रस्तुत गरेको बजेटमा ससर्त अनुदान, समपुकर अनुदान तथा विशेष अनुदान बाहेक २४ करोड ७३ लाख ६८ हजार ५ सय ५० रुपैया गाउँपालिकाले परिचालन गर्ने खर्च रहेको छ । उक्त खर्च मध्ये ८ करोड ४९ लाख ४४ हजार रुर्पंया चालु खर्च तर्फ र १६ करोड २४ लाख २४ हजार ५ सय ५० रुपैंया पुँजीगत खर्च तर्फ रहेको छ । लामिछानेले प्रस्तुत गरेको बजेट अगामी गाउँ सभाले छलफल सहित पारित गर्नेछ ।

यस अघि गाउँपालिका अध्यक्ष हिरादेवी शर्माले प्रस्तुत गरेको नीति, कार्यक्रम भने गाउँ सभाले पारित गरेको छ । गाउँ सभामा अध्यक्ष शर्माले सम्बृद्ध गाउँपालिका बनाउने गरी नीति निर्माण गरिने उल्लेख गरेकी छिन् । उनले गाउँ सभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा गाउँ पालिका भित्र पशु पालन, कृषि र पूर्वाधार क्षेत्रलाई प्राथमिकतामा राखेकी छिन् । गाउँपालिका स्तरीय स्वास्थ्य सेवालाई प्रभावकारी बनाउदै गुणस्तरीय शिक्षाको क्षेत्रमा समेत गाउँपालिकाले विशेष कार्यक्रमहरु सञ्चालन गर्ने शर्माले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा उल्लेख छ ।