फलेवासले ल्यायो ७२ करोडको बजेट: नीति कार्यक्रममा बाँदर नियन्त्रणलाई प्राथमिकता

4

पर्वत/फलेवास नगरपालिकाले आगामी आर्थिक वर्षको बजेट नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । आइतवार सम्पन्न्न नगरसभाको १५ औँ अधिवेशनवाट आगामी आर्थिक वर्ष ०८/र८२ को बजेट नीति तथा कार्यक्रम पारित गरिएको हो । फलेवासले आगामी आर्थिक वर्षका लागि रु।७१ करोड२८ लाख ८० हजार रुपैया बराबरको बजेट सार्वजनिक गरेको छ । नगर उपप्रमुख शोभा कुमारी क्षेत्रीले प्रस्तुत गर्नुभएको बजेट मध्ये पुँजीगत तर्फ १८ करोड ६ लाख अर्थात २५ दशमलब ३ प्रतिशत तथा चालु खर्च तर्फ ५३ करोड २२ लाख ४२ हजार अर्थात ७४ दशमलब ७ प्रतिशत रहेको छ ।

पुँजीगतमा शशर्त तर्फ रु ९ करोड ३६ लाख ३८ हजार र आन्तरिक तर्फ रु।८ करोड ७० लाख गरी कुुल रु १८ करोड ६ लाख ३८ हजार बिनीयोजन गरिएको हो भने चालु वजेट शशर्त तर्फ रु ३६ करोड १६ लाख १३ हजार र आन्तरिक तर्फ रु ९ करोड ३३ लाख ६० हजार बिनीयोजन गरिएको छ ।

प्रस्तुत बजेट मध्ये नगरको आर्थिक विकासको क्षेत्रमा रु। ४ करोड ६८ लाख ३६ हजार बिनीयोजन भएको छ भने सामाजिक विकास तर्फ ३९ करोड ८८ लाख, पुर्वाधार तर्फ १८ करोड ६ लाख ३८ हजार बिनीयोजन गरेको उपप्रमुख क्षेत्रीले जानकारी दिनुभयो ।

उपप्रमुख क्षेत्रीका अनुसार वातावरण तथा विपद व्यवस्थापनमा ८२ लाख, संस्थागत विकासतर्फ ५२ लाख, कार्यालय संचालनका लागि ९ करोड ३३ लाख ६० हजार बिनीयोजन गरिएको छ ।

नगरले कृषि क्षेत्रको विकासका लागि पुर्वाधार क्षेत्रमा विभिन्न १८ वटा योजनामा बजेट बिनीयोजन गरिएको हो । मुख्यतया नगरभित्रका सडकहरुको स्तरोन्नतीलाई जोड दिईएको छ भने नगरपालिकाको निर्माणाधिन भवन, विभिन्न वडा कार्यालय र संघीय सरकारको सहयोगमा श्रममुलक सार्वजनिक निर्माण कार्यको लागि रु। ५ करोड ५० लाख ३८ हजार बिनीयोजन गरिएको छ । शिक्षा, स्वास्थ्य, खानेपानी, सिंचाई लगायतका पुर्वाधारको विकासका लागि विभिन्न साझेदारीमुलक कार्यक्रममा पनि बजेट व्यवस्थापन गरिएको उपप्रमुख क्षेत्रीले बताउनुभयो ।

यसअघि नगरको बार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरप्रमुख गंगाधर तिवारीले समृद्ध फलेवास नगर, खुसी नगरवासीको नारालाई साकार बनाउनका लागि विभिन्न कार्यक्रम थालनी गरिएको बताउनुभयो । फलेवासले पहिलोपटक बाँदर नियन्त्रणको योजना अघि सारेको छ । बढ्दो बाँदरको आतंक न्यूनिकरण गर्नका लागि विशेष योजना अघि सारीएको हो । त्यसैगरी पहाडी क्षेत्र काष्ठफल तथा फलफुल विकास आयोजना, उत्पादन साथमा अनुदान हातमा कार्यक्रम, परदेशको ज्ञान, फलेवासको माटोमा योगदान जस्ता कार्यक्रम पनि नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।

यसका लागि बजेट समेत व्यवस्थापन गरिएको नगरप्रमुख तिवारीले बताउनुभयो । नगपालिकाले आफ्नै अपनत्वमा तीनवटा एम्बुलेन्स संचालन गर्ने योजना समेत बनाएको छ । चौविसै घण्टा सेवा दिनेगरी नगरको कार्कीनेटा, भँगरा र फलेवास क्षेत्रमा तीनवटा एम्वुलेन्स संचालन गर्न थालिएको हो ।

त्यसैगरी विपन्न र असहाय नागरिकसँग नगरपालिका कार्यक्रम, खरको छाना विस्थापन अभियान, लगायतका कार्यक्रम पनि संचालन गरिने नगरप्रमुखले निति तथा कार्यक्रममा उल्लेख गर्नुभएको छ ।