आगामी आर्थिक वर्षको लागि पैयुँ गाउँपालिकाले ल्यायो ४१ करोड बढिको बजेट

6

पर्वत/दक्षिण पर्वतको पैंयुँ गाउँपालिकाको आगामी आर्थिक बर्षको बजेट नीति तथा कार्यक्रम सार्वजनिक भएको छ । शुक्रवार सम्पन्न पैंयू गाउँसभाको १४ औँ अधिवेशनले आगामी आर्थिक वर्ष ०८१/८२ का लागि रु.४१ करोड २ लाख ४० हजार ८ सय बराबरको बजेट सार्वजनिक गरेको हो । गाउँपालिकाकी उपाध्यक्ष यामकुमारी रानाले प्रस्तुत गरेको बजेटमा चालु खर्च ७६ दशमलब १४ प्रतिशत र पुँजीगत खर्च २३ दशमलब ८६ प्रतिशत बिनीयोजन गरिएको छ ।

प्रस्तुत गरिएको बजेटमा आयतर्फ समानीकरण अनुदान रु.८ करोड ८ लाख, सशर्त अनुदानतर्फ रु.२१ करोड ५८ लाख ९५ हजार, समपूरक अनुदानतर्फ रु.६० लाख र राजश्व बाँडफाँड तर्फ रु.६ करोड ५८ लाख ९९ हजार ९ सय ९९ रहेको छ । प्रदेश समानीकरण अनुदानतर्फ रु.९६ लाख ८२ हजार, विशेष अनुदानतर्फ रु.४० लाख, समपुरक अनुदानतर्फ रु.६० लाख र राजश्व बाँडफाँड तर्फ रु.२९ लाख ३६ हजार रहेको छ भने आन्तरिक आम्दानीतर्फ रु.५७ लाख ५० हजार र चालु वर्षमा रहने अनुमानित मौज्दाततर्फ रु.१ करोड ३२ लाख ७७ हजार ८ सय १ रहेको छ । उपाध्यक्ष रानाले गाउँपालिकाको आर्थिक वर्ष ०८१/८२ का लागि जम्मा चालु तर्फ रु ३१ करोड २३ लाख ६४ हजार ८ सय र पूँजीगत तर्फ रु.९ करोड ७८ लाख ७६ हजार बजेट बिनीयोजन गरेको जानकारी दिनुभयो । पैंयुँ गाउँपालिकाले गत आर्थिक वर्षमा रु. ४१ करोड७२ लाख ४२ हजार ७ सय रुपैया बराबरको बजेट सार्वजनिक गरेको थियो ।
आधुनिक कृषि प्रविधि, पर्यटन र पुर्वाधार, पैंयुँवासीको समृद्धिको आधार भन्ने मुल मर्मका साथ सार्वजनिक गरिएको बजेटमा शिक्षा, कृषि, स्वास्थ्य,सडक लगायतका क्षेत्रलाई मुख्य प्राथमिकतामा राखिएको छ । आगामी वर्ष कृषितर्फ एक करोड १० लाख ६० हजार बिनीयोजन गरिएको छ भने स्वास्थ्य सेवाका लागि ७४ लाख ९७ हजार, शिक्षाका लागि १ करोड ९४ लाख २८ हजार, महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाका लागि १५ लाख ३० हजार बिनीयोजन गरिएको छ ।

पुर्वाधार विकास तथा गाउँपालिका स्तरीय कार्यक्रमका लागि ४ करोड ७ लाख ३० हजार र वडा कार्यालय तर्फ तीन करोड १५ लाख बिनीयोजन गरिएको छ । यस अघि गाउँपालिकाको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम गाउँपालिका अध्यक्ष तोरण मल्ल ठकुरीले प्रस्तुत गर्नुभएको थियो । उहाँले नीति तथा कार्यक्रममा समग्र पैयुँ गाउँपालिकाको समृद्धिका खाकाहरु प्रस्तुत गर्दैै आन्तरिक, प्रदेश तथा संघ सरकारसँगको समन्वय र सहकार्यमा नागरिकका चाहना पुरा गर्न निरन्तर लागिरहने प्रतिवद्धता ब्यक्त गर्नुभएको थियो ।