गुणस्तरहीन कामप्रति पूर्वाधार कार्यालयको निगरानी : मापदण्ड नपुगेका संरचना भत्काइयो

पर्वत/फलेवास नगरपालिका ३े शंकरपोखरीमा निर्माणाधिन सडक गुणस्तरहीन भएको पाईएपछि पूर्वाधार विकास कार्यालयबाट गएको अनुगमन टोलीले डोजर लगाएर भत्काई दिएको छ । शंकरपोखरीमा निर्माणाधिन स्वास्थ्यचौकी रातडाँडा पुड्केस्वारा सडक डोजर लगाएर भत्काईएको हो । स्तरोन्नतिका लागि लगाईएको मेशिनरी पर्खालमा सिमेन्ट बालुवाको मसला नराखी ढुंगामात्रै चिनेर बनाईएको गुनासो आएपछि पुगेको अनुगमन टोलीले डोजर लगाएर भत्काईदिएको हो । २५ मिटर लामो पर्खाल पूर्ण रुपमा डोजरले भत्काएर पुनः निर्माण गर्न लगाईएको छ । त्यस्तै सडकका विभिन्न भागमा भरिएको ग्यावियन जाली समेत भत्काउन लगाईएको छ ।

पुर्वाधार विकास कार्यालय पर्वतका प्रमुख गुरुदत्त अधिकारी, फलेवास नगरपालिकाका उपप्रमुख शोभाकुमारी क्षेत्री, इन्जिनियर जीता गिरी सहित पत्रकारहरुको टोली बिहीवार विहान अनुगमनका लागि पुगेको थियो । अनुगमनको क्रममा मसला नराखिकन पर्खाल चिनिएको, मसिना ढुंगा राखेर ग्यावियन जाली भरिएको पाईएपछि पुरै भत्काएर पुनः निर्माण गर्न लगाईएको इन्जिनियर जीता गिरीले जानकारी दिए । इन्जिनियर गिरीले ठेकेदारले कार्यालयसँग समन्वय समेत नगरी काम गरेको बताए । कार्यालयलाई जानकारी समेत नदिई गुणस्तरहिन काम गरेको पाईएको भन्दै यस्ता ठेकेदारलाई आवश्यक कारबाहीको दायरा ल्याईनुका साथै मापदण्ड अनुसार काम नभएमा भुक्तानी समेत रोकिने बताए ।

ठेकेदारको लापरबाहीका कारण मापदण्ड विपरित संरचना निर्माण भएपछि स्थानीयवासीले समेत गुनासो गरेका थिए । एक बोरा सिमन्ट बराबर ८ बोरा भन्दा बढि बालुवा राखेर मसला बनाईएका कारण पर्खाल कमजोर भएको गुनासो बढेपछि अनुगमन टोली पुगेको थियो । जुनसुकै पुर्वाधारका काम पनि तोकिएको मापदण्ड र गुणस्तर अनुसार हुनुपर्ने पुर्वाधार विकास कार्यालय पर्वतका प्रमुख गुरुदत्त अधिकारीले बताउनु भयो । मापदण्ड विपरित गरिएको कामको कार्यालयले भुक्तानी समेत नदिने र आगामी दिनमा त्यस्ता ठेकेदारलाई योजनाहरु निर्माणको जिम्मा समेत नदिईने उहाँले बताउनुभयो । उक्त सडक कार्यालयका प्राविधिकहरुको नियमित अनुगमनमा तोकिएको मापदण्ड अनुसार पुर्ननिर्माण गरिने उनको भनाई रहेको छ ।

पुर्वाधार विकास कार्यालयमार्फत भ्याट बाहेक रु १९ लाख रुपैयाको लागतमा सडक स्तरोन्नतीको काम भैरहेको छ । सडक निर्माणको जिम्मा माई कन्ट्रक्सन प्रालिले लिएको छ । गत पुसमा सम्झौता भएको सडक स्तरोन्नतीको कार्र्य आगामी असार १५ गते सक्नुपर्ने सम्झौतामा उल्लेख गरिएको छ । सडमा मेशिनरी पर्खाल, ग्यावियन जाली भर्ने, नाली निर्माण, कटिङ लगायतका कामहरु गर्नुपर्ने सम्झौतामा उल्लेख गरिएको छ । माई कन्ट्रक्सन प्रालिका प्रमुख धनबहादुर थापाले आफु नभएको बेला मजदुरहरुले गुणस्तरहीन काम गरेको आरोप लगाए ।