जिल्ला ट्राफिक कार्यालय पर्वतद्वारा कुश्मामा यात्रु सहायता कक्ष सञ्चालनमा

असोज, १३ पर्वत/दशैं तिहारमा यात्रुको सजिलोका लागि पर्वतको कुश्मामा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वत र सामुदायिक प्रहरी सेवा केन्द्रको संयुक्त पहलमा शिवालयचोकमा यात्रु सहायता कक्ष स्थापना गरिएको हो ।
चाडपर्वका बेला यात्रुहरुलाई हैरानी हुन सक्ने भन्दै यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख महेन्द्र रानाभाटले जानकारी दिनुभयो । कुनै पनि यात्रुले समस्या भोग्नुपरेमा सहायता कक्षमा सम्पर्क राख्न प्रहरीले आग्रह गरेको छ । चाडपर्वका बेला सवारी साधानमा क्षमता भन्दा बढी यात्रु राख्ने, बढी भाडा लिने लगायतका कामहरु हुने भएकाले त्यसको न्यूनीकरण गर्नका लागि यात्रु सहायता कक्ष सञ्चालनमा ल्याईएको रानाभाटले बताउनु भयो । यात्रु सहायता कक्षमा यातायात व्यवसायी र ट्राफिक प्रहरी यात्रुहरुको सहायताका लागि खटिने भएका छन् । आज एक कार्यक्रमको आयोजना गरि कुश्माको शिवालय चोकमा उक्त सहायता कक्ष सञ्चालन भएको जानकारी दिइएको हो ।
उक्त कार्यक्रममा बोल्दै कुश्मा नगरपालिका ६ का वडाध्यक्ष रुद्र गिरीले यात्रु सहायता कक्षको माध्यमवाट सवारी र यात्रुहरुको गुनासो तत्काल समाधान हुने र सवारी दुर्घटना कम हुने विश्वास व्यक्त गनुृभयो । साथै सवारी दुर्घटना न्यूनीकरण गर्न नागरिक, प्रहरी र जनप्रतिनिधी सबै जिम्मेवार भएर लाग्नुपर्ने उहाँको भनाई थियो । कार्यक्रममा सामुदायिक प्रहरी सेवा केन्द्रकी पूर्व अध्यक्ष मानकुमारी गिरीले दशै तिहार जस्तो महान चाडको बेलामा हुने सवारी दुर्घटनालाई न्यूनीकरण गर्नलाई सहायता कक्षले सहयोग पुराउने बताउनु भयो ।
जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायव उपरिक्षक भुवनेश्वर तिवारीले पर्वत प्रहरी र ट्राफिक प्रहरी यात्रुलाई गन्तव्यमा पुराउन कुनै समस्या नहोस भनेर सहायता कक्ष स्थापना गरेको बताउनु भयो । उहाँले चाडपर्वको बेलामा क्षमताभन्दा बढी यात्रु नराख्न, मादक पदार्थ सेवन गरेर सवारीसाधन नचलाउन, तीव्र गतिमा सवारी साधन नहाक्न सवारीचालक र सम्बन्ध कर्मचारीलाई आग्रह गर्नुभयो ।