फलेवास नगरपालिकामा दुई महिनामा एकीकृत सम्पत्ति करबाट १७ लाख

पर्वत, भाद्र– २९/ गत वैशाखदेखि लागू गरिएको एकीकृत सम्पत्ति कर फलेवास नगरपालिकाका लागि आन्तरिक स्रोत वृद्धिमा भरपर्दो आधारका रूपमा देखिएको छ । उक्त कर लागू भएको घोषणाताका नगरप्रमुख पदमपाणि शर्माले पहिलोपटक तिरेर सुरुवात गरका थिए । नगरपालिकाको राजस्व शाखा प्रमुख रमेश शर्माले गत आर्थिक वर्षका दुई महिनामा एकीकृत सम्पत्ति करबाट १७ लाख १२ हजार रुपैयाँ संकलन भएको बताउनुभयो । नगरपालिकाले परीक्षणस्वरूप वडासचिवलाई प्रशिक्षण दिएर कर संकलन सुरु गराएको थियो ।
सबैभन्दा बढी वडा ५ को खानीगाउँ र कम वडा ११ पाङराङबाट संकलन भएको छ । नगरप्रमुख शर्माले दुई महिनामै अपेक्षा भन्दा राम्रो उपलब्धि भएको बताउनुभयो । नगरको समृद्धि चाहनेले स्वतस्फुर्त कर तिरेका छन् । आन्तरिक स्रोतका लागि यो पनि एउटा आधार भएको छ । उक्त करसहित सिफारिस, पञ्जीकरण, मालपोत र अन्य दस्तुर समेत गरी गत आर्थिक वर्ष नगरपालिकाले४० लाख ४४ हजार आन्तरिक आम्दानी गरेकोे छ ।