पर्वत/सनराइज बैंकले स्वास्थ्य योजनामा थप सुविधा ल्याएको जानकारी दिएको छ । बैंकले आफ्ना सबै बचत खातामा उक्त स्वास्थ्य योजना दिँदै आएकोमा यसवर्ष त्यसलाई परिमार्जन गरी थप सुविधा दिने बैंकले जनाएको छ । सनराइज बैंक कुश्मा शाखाले आज शिबालय बहुमुखी क्याम्पस कुश्माको विविएसमा अध्यनरत ७५ जना छात्रछात्राबीचमा अन्तरक्रिया गरि उक्त योजना बारे जानकारी दिएको हो । कुश्मा शाखाका प्रबन्धक गोविन्दप्रसाद आचार्यले बैंकले स्वास्थ्य बिमा अन्तर्गत अस्पताल भर्ना र ओपीडी खर्च गरी एक लाख रुपैयाँसम्मको बिमा दिएको र उक्त बिमा रकम वर्षमा तीनपटकसम्म गरी दाबी गर्न सकिने जानकारी दिनुभयो ।
यस्तै, बैकले पाँच लाखसम्म दुर्घटना बिमा पनि दिइएको छ । साथै, नारीलाई बचत गर्न उत्प्रेरणा र उनीहरूको स्वास्थ्य सुरक्षामा साथ दिने उद्देश्यस्वरूप बैंकले नारी बचत खाता भएका महिलालाई पाँच लाखसम्मको घातक रोग खर्च दिने योजना ल्याएको पनि प्रबन्धक आचार्यले जानकारी दिनुभयो । यो योजनामा महिलामा हुन सक्ने पाठेघर क्यान्सर, स्तन क्यान्सर, मुटुरोगलगायत १८ घातक रोगहरू यसले समेट्ने जनाइएको छ ।
महिलालाई प्रसूति खर्चस्वरूप १० हजार रुपैयाँसम्म पनि दिइने बैंकले जनाएको छ । उक्त प्रसूति खर्च भने सरकारी तथा अर्धसरकारी अस्पतालमा प्रसूति गराउँदा लिन सकिने बैंकले जनाएको छ ।
कार्यक्रममा शिबालय बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख लेखनाथ उपाध्याय लगायतले बोल्नुभएको थियो भने उक्त कार्यक्रमको संचालन भीमप्रसाद काफ्ले र स्वागत मन्तव्य गोविन्द चापागाईले गर्नुभएको थियो ।







