पर्वत/अनन्तश्रीविभूषित मुक्तिनाथ पीठाधीश्वर स्वामी कमलनयनाचार्य मुक्तिनाथ बाबाको संकल्पमा पञ्चश्री महायज्ञ पर्वत कालञ्जर हम्पालमा सुरू भएको छ। महायज्ञको उद्घाटन जलजला गाउँपालिका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)ले गर्नुभएको थियो ।
नयाँ वर्ष २०७९ को अवसरमा ‘कालञ्जर समाज समृद्धि महायज्ञ’द्धारा अनन्तश्रीविभूषित मुक्तिनाथ पीठाधीश्वर स्वामी कमलनयनाचार्य मुक्तिनाथ बाबाको संकल्पमा पञ्चश्री महायज्ञ आयोजना गरिएको हो। ऐतिहासिक धार्मिक तथा पर्यटकीयस्थल हम्पालको कालञ्जर क्षेत्रमा आयोजित महायज्ञले महत्वपूर्ण योगदान दिने बताइएको छ।
सामुद्रिक सतहदेखि ३३०० मिटर उचाइमा रहेको हम्पाल धार्मिक रुपमा महत्वपूर्ण क्षेत्र मानिन्छ। महायज्ञमा प्रमुख बाचकको भूमिका शुदर्शन गुरुले निभाउनु भएको छ । महायज्ञ पाँच दिनसम्म सञ्चालन हुनेछ । विभिन्न धर्म पुराणहरुमा वर्णन गरिएर पनि ओझेलमा परेको पवित्र कालञ्जर भूमिलाई हिन्दु धर्मावलम्बीहरुको पवित्र तीर्थस्थल र धार्मिक गन्तव्यका रुपमा विकास गर्न कालञ्जर क्षेत्रमै नवबर्षारम्भमै महायज्ञ आयोजना गरिएको जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)ले जानकारी दिनुभयो । उहाँले मुक्तिनाथ जाने तीर्थयात्री र पर्यटकलाई कालञ्जर पर्वत र हम्पालसँग जोड्न मिलनचोक-हम्पाल-मुक्तिनाथ केवलकारको परिकल्पना समेत गरि लगानीकर्ताहरूलाई आकर्षित गर्न लागिएको वताउनु भयो ।
अध्यक्ष मल्लले आफू शुरुदेखिनै कालञ्जर र हम्पालको पर्यटन गुरुयोजना बनाएर यसको विकासका लागि समर्पित भएको वताउनु भयो । ‘कालञ्जर क्षेत्र विभिन्न धर्म पुराणहरुमा बर्णन गरिएको ऋषिहरुको पवित्र तपोभूमि भएरपनि यसको महत्व थाह नभएर ओझेलमा परेको थियो अब विश्वभरका धार्मिक पर्यटकहरुलाई कालञ्जर क्षेत्रमा ल्याउनेगरि अभियान शुरु भइसकेको छ ।’–अध्यक्ष मल्लले भन्नुभयो । अहिले कालञ्जर क्षेत्रमा मोटरबाटो पुगिसकेको छभने पर्यटकीय र जैविक विविधतालाई समेत समेटेर विस्तृत परियोजना प्रतिवेदन ‘डीपीआर’ पनि लगभग तयार भएको छ ।

हिन्दु धर्मग्रन्थहरूमा पवित्र तपोभूमिका रूपमा व्याख्या गरिएको कालञ्जर पर्वतलाई अहिले हम्पाल भनेर पनि चिनिन्छ । धेरै धर्मग्रन्थहरूमा कालञ्जर पर्वतको महिमा वर्णन मात्रै गरिएको छैन त्यहाँ पुगेर तपस्या गरेर धेरै ऋषिमुनिले सिद्ध प्राप्त गरेको उल्लेख छ । पद्मपुराणमा महादेव र पार्वतीको क्रिडास्थल, पितृको श्राद्धकर्मका लागि निर्देश गरिएका गंगासागर, ब्रह्मसागर, यमुना, कुरुक्षेत्र, नीलकण्ठ जस्तै कालञ्जर तीर्थलाई पनि उत्तम पितृतीर्थका रूपमा उल्लेख गरिएको पाइन्छ। हिमालय पर्वतका राजा र उनकी पुत्री पार्वतीसँग जोडिएको यो क्षेत्र पवित्र भूमिका रूपमा र तपस्यास्थलका रूपमा रहेको थियो । राजर्षि जडभरतले यस क्षेत्रमा तपस्या गरेको पुराणहरूमा उल्लेख गरेको पाइन्छ । एकपटक कालञ्जरमा रहेको मृग सरोवरमा स्नान गरे त्यहाँ रहेका भगवान् शिवको दर्शन गरेमा मात्रै पनि स्वर्गलोकमा जान पाइन्छ भन्ने मान्यता छ ।
कालञ्जर पर्वतलाई बराहपुराणले भगवान् शिवको बासस्थानका रूपमा व्याख्या गरेको छ । तरपनि कालञ्जर पर्वत र यससँग जोडिएका अन्य तीर्थस्थलहरू प्रचारप्रसार र संरक्षणको अभावमा ओझेलमा परेको अध्यक्ष मल्लको गुनासो छ । कालीगण्डकी नदीसँग जोडिएको कालञ्जर पर्वतको जलजला र मोदी गाउँपालिकामा पर्दछ । यसको केही भाग म्याग्दीको अन्नपूर्ण गाउँपालिकासँग पनि जोडिएको छ । समुन्द्री सतहदेखि ३३ मिटरको उचाइमा रेहेको यो क्षेत्र प्रचीन धर्मग्रन्थहरूमा ‘मृग सरोवर’ र सिमसार क्षेत्र पनि हो । हनुमानले यही क्षेत्रबाट जडीबुटी लगेर औषधि उपचारमा प्रयोग गरेको मुक्तिनाथ पिठाधिश्वर स्वामी कमलनयनाचार्यको दावी छ । स्वामी कमलनयनाचार्यले केही समय कालञ्जर भृमिमै तपस्या गर्नुभएको थियो । नीरमसी, पाँचऔलो सतुवालगायत बहुमुल्य जडीबुटीहरू प्रशस्त पाइने जलजला क्षेत्रको जंगलमा कालो वर्णको मृग, घोरल, चितुवा, भालु, डाँफे, मुनाल, कालिजलगायत पशुपक्षीको बसोबास छ । मातातीर्थ औंसीका दिन दिवंगत बुबाआमाको श्राद्ध गर्न जलजलामा जाने चलन छ । पूजाआजाका लागि निरकण्ठेश्वर शंकर भगवानको मन्दिर बनाइएको छ। कालञ्जर शब्दको अर्थ समय वा कालमाथि विजय प्राप्त गरेको भन्ने हुन्छ। प्राचीन धर्मग्रन्थका अनुसार मृत्यु र समयलाई जित्नका लागि सिद्ध तपस्यास्थल वा तीर्थभूमिको नाम नै कालञ्जर हो भनिन्छ। विभिन्न शब्दकोषले कालञ्जर भनेको पौराणिक पर्वत र तीर्थका रूपमा व्याख्या गरेका छन्।
अग्निपुराण, विष्णुपुराण र श्रीमद्भागवत् महापुराणले राजर्षि जडभरतको तपस्थली र उनका तीन जन्मसँग जोडेर कृष्णगण्डकीको सान्निध्यमा रहेको पवित्र भूमिका रूपमा कालञ्जरको व्याख्या गरेका छन् । कालञ्जर क्षेत्रको अध्ययन अनुसन्धान गरिरहनुभएका डा। जगन्नाथ रेग्मीका अनुसार महर्षि जडभरतले कालञ्जरसँगै जोडिएको म्याग्दीको पौलस्य आश्रम र गलेश्वर धाममा तपस्या गरेको र कालो मृगका रूपमा कालञ्जरमा घुमेको कुरा धर्मग्रन्थहरूमा पाइन्छ । कालञ्जरमा कालो वर्णको मृग पाइने भएकाले पनि यसको व्याख्यालाई मान्न सकिन्छ। बराहपुराणमा भगवान् शिवको निवासस्थलका रूपमा यसलाई व्याख्या गरेको पाइन्छ भने त्यहाँ रहेका भगवान् शिवको दर्शन गरे मात्रै कृष्णगंगा स्नानको फल मिल्छ भन्ने उल्लेख छ। स्कन्दपुराणको काशीखण्डअन्तर्गत पृथ्वीतलका मुक्तिप्रदायक मुख्य तीर्थस्थलमा कालञ्जर क्षेत्रको महिमा उल्लेख गरिएको छ । स्कन्दपुराणमै कालञ्जर तीर्थबाट पनि नीलकण्ठेश्वर भगवान् काशीमा पुगेको उल्लेख गरिएको छ भने पद्मपुराणमा महादेव र पार्वतीको क्रिडास्थल, पितृहरूको श्राद्धकर्मका लागि निर्देश गरिएका गंगासागर, ब्रह्मसागर, यमुना, कुरुक्षेत्र, नीलकण्ठ जस्तै कालञ्जर तीर्थलाई पनि उत्तम पितृतीर्थका रूपमा उल्लेख गरिएको छ। कालञ्जर क्षेत्रको सबैभन्दा धेरै व्याख्या महाभारतमा छ ।
जिल्लाको सबैभन्दा उच्च स्थान जलजलाबाट आँखै अगाडि सेतै टल्किने धौलागिरी, अन्नपूर्ण, निलगिरी, गुर्जा, पुथा, माछापुच्छ्रे, मनास्लु लगायतका १६ भन्दा बढी हिम चुचुराहरू अवलोकन गर्न सकिन्छ । यस्तै, सूर्योदय र सूर्यास्त हेर्नका लागि पनि हम्पाल क्षेत्र उपयुक्त छ । उक्त ठाउँबाट पर्वत, बागलुङ, म्याग्दी, कास्की, स्याङ्जा, गुल्मी, पाल्पा, गोरखा, तनहुँ र लमजुङ जिल्ला भौगोलिक क्षेत्रहरू देख्न सकिन्छ। पर्यटकहरूलाई लोभ्याउने अर्को विशेषता पाखैभरि फुल्ने लालीगुराँस पनि हुन् । मानवीय स्वास्थ्यको लागि उपयुक्त मानिने सयौँ थरी जडीबुटीहरू उक्त ठाउँमा पाइने जलजला गाउँपालिकाका प्रमुख यामबहादुर मल्ल ‘रामकृष्ण’ ले बताउनु भयो। जडीबुटीका रूपमा निरमसी, पाँचऔँले, सतुवा, तितेलगायत पाइन्छ भने मृग, घोरल, चितुवा, भालु, डाँफे, मुनाल, कालिजलगायत पशुपंक्षीको बासस्थान सोही जंगलमा छ ।







