एमसिसीलाई कम्युनिष्टहरूले राजनीतिक प्रोपोगाण्डा बनाए – कांग्रेस नेता जोशी

पर्वत/नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य अर्जुनप्रसाद जोशीले एमसीसीलाई कम्यूनिष्ठहरुले राजनीतिक प्रोपोगाण्डा बनाएको आरोप लगाउँनु भएको छ । नेता जोशीले आज नेपाली काँग्रेस कुश्मा नगरपालिका वडा नं ७ को वडा पार्टी कार्यालयको औपचारिक रुपमा उद्घाटन गर्दै कम्युनिष्टहरुलाई उक्त आरोप लगाउनु भएको हो । उहाँले एमसीसी अरु अनुदान जस्तै सामान्य विषय रहेको वताउँदै एमसीसी पारित हुन नदिन चिनका कम्युनिष्ठसंग नेपालका कम्यूनिष्ठहरुले साँठागाँठ गरेको समेत आरोप लगाउनुभयो । उहाँले एमसीसीलाई संसदमा ल्याएर छलफल गर्ने र छलफलबाट आवश्यक देखिए पारित गर्ने नदेखिए अस्विकार गर्ने बिकल्प हुँदाहुँदै बिनाकारण संसदमा ल्याउन बाटै रोक्ने प्रयास भएकोमा आक्रोश व्यक्त गर्नुभयो ।

अर्को प्रसंगमा बोल्दै नेता जोशीले विगतमा गल्ती गर्नेहरूलाई एकपटक छुट दिएपनि काँग्रेसमा भोट नहाल्नेहरूलाई अब छुट नहुने वताउनु भएको छ । काँग्रेस नेता जोशीले विगतमा काँग्रेसभित्रको अन्तरघातको कारण पार्टीले हारेको र पार्टीले चुनाव हार्दा देशले हार्ने अवस्था निर्माण भएको वताउँदै अबको स्थानीय, प्रदेश र संघीय निर्वाचनमा पार्टीलाई भोट नहाल्ने र अन्तरघात गर्नेहरूलाई ठाउँको ठाउँ कार्वाही हुने दावी गर्नुभयो । उहाँले पार्टीको नियमित बैठक बस्ने, समस्याहरुको बारेमा छलफल गर्ने, संगठन मजवुत बनाउन सबैले प्रयास गर्ने काम गर्न कार्यकर्तालाई सुझाव दिनुभयो । नेता जोशीले अहिले काँग्रेसकाप्रति जनलहर बढ्दै गएको बताउँदै यसले काँग्रेसलाई अबको चुनावमा दुई तिहाई मत प्राप्त हुने दाबी गर्नुभयो । उहाँले नेता तथा कार्यकर्ताहरुलाई जिम्मेवारीका साथ आफ्नो काम गर्न र पार्टीका गतिविधिलाई जनताको घरदैलोसम्म पुराउन सुझाव दिनुभयो ।

कार्यक्रममा जिल्ला सभापति यूवराज जोशी, नेपाली काँग्रेस गण्डकी प्रदेश कार्य सम्पादन समिति सदस्यहरू यामबहादुर मल्ल रामकृष्ण र सीता काफ्ले लामिछाने, जिल्ला उपसभापति डा. चुडामणी शर्मा, अर्का उपसभापति शिवप्रसाद सुबेदी, क्षेत्रीय सभापति राजकुमार क्षेत्री, काँग्रेसका पुराना नेता लोकनाथ आचार्य, कुश्मा नगर सभापति किशोर भण्डारी, महाधिवेशन प्रतिनिधि बसन्तवहादुर सिके, कुश्मा नगरपालिका–७ का वडा सदस्य परशुराम पुरी, कुश्मा नगरपालिका ५ का वडाध्यक्ष चित्रकला भारती शर्मा, कुश्मा नगरपालिकाको कार्यपालिका सदस्य डम्बर नेपाली, टोल समितिका सभापति विष्णुराज पुरी लगायतले बोल्नुभएको थियो । वडा सभापति खेमनाथ शर्माको सभापतित्वमा भएको कार्यक्रमको स्वागत वडा उपसभापति बेदप्रसाद आचार्यले गर्नुभएको थियो भने सञ्चालन सचिव बालकृष्ण शर्माले गर्नुभएको थियो ।