पर्वत/कांग्रेसले ‘घरघर जाऔं कांग्रेस जिताऔं’ अभियान घोषणा गरेको छ । पार्टीका सबै संरचनालाई स्थानीय निर्वाचनमा केन्द्रीत गर्ने निर्णय गर्दै कांग्रेस कार्यसम्पादन समितिको बैठकले अभियान घोषणा गरेको हो ।काँग्रेस प्रवक्ता डा प्रकाशशरण महतका अनुसार आगामि फागुन २० देखि चैत २० गतेसम्म देशैभरी सो अभियान सञ्चालन हुनेछ । बैठकले स्थानीय निर्वाचनको घोषणापत्र लेख्ने लगायतका आवश्यक समिति परामर्शमा गठन गर्ने अधिकार सभापति शेरबहादुर देउवालाई दिएको छ ।
यसैबीच नेपाली कांग्रेसले भातृ संगठनको कमिटी भंग गरको छ । सोमबार बसेको बैठकबाट कांग्रेसका म्याद सकिएका भ्रातृ संगठनको वर्तमान कमिटी भंग गर्ने निर्णय गरेको हो । यससँगै अब छिट्टै नयाँ समिति गठन गर्ने निर्णय भएको बैठकमा सहभागी एक नेताले बताए ।
कांग्रेसको केन्द्रीय कार्य सम्पादन समिति बैठकले नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल, नेपाल महिला संघ, नेपाल मुस्लिम संघलगायतका कार्यसमिति भंग गर्ने निर्णय गरेको छ । योसँगै कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित भएका भ्रातृसंस्थाका पदाधिकारीहरू पनि भ्रातृ संस्थाको जिम्मेवारीबाट मुक्त भएका छन् ।
बैठकले भ्रातृ एवं शुभेच्छुक संस्थाहरूको विधानसमेत पारित गरेको छ । विधान पारित भएसँगै नेपाल विद्यार्थी संघमा अब ३२ वर्षे उमेर हद लागु भएको छ । त्यस्तै तरुण दलमा ४५ वर्षको उमेर हद लगाइएको छ । भातृ संगठनको तदर्थ समितिको नेतृत्व चयन गर्ने जिम्मा पार्टी सभापति शेरबहादुर देउवालाई दिइएको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।





