नेपाली काँग्रेस पर्वतको नवनिर्वाचित जिल्ला कार्यसमितिको पदस्थापन भयो

पर्वत/नेपाली कांग्रेस जिल्ला कार्य समिति पर्वतको पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । १४ औं महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरुको शुक्रवार एक कार्यक्रमका बीच पदस्थापन गरिएको हो । निवर्तमान पार्टी सभापति खिमप्रसाद भुसालले जिल्ला सभापतिमा निर्वाचित युवराज जोशीलाई औपचारिक रुपमा पद हस्तान्तरण गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका निवर्तमान केन्द्रिय सदस्य एवं संविधान सभा सदस्य अर्जुनप्रसाद जोशीले निर्वाचित सबैलाई बधाई ज्ञापन गर्दै पर्वत जिल्लामा नेपाली काँग्रेसलाई सबैभन्दा ठूलो दलका रुपमा स्थापित गर्नेगरी संगठन निर्माणमा लाग्न आग्रह गर्नुभयो । उहाँले आन्तरिक निर्वाचनका क्रममा भएका प्रतिष्प्रधालाई विर्सेर सबैलाई समेटेर अगाडी बढ्न जिल्ला कार्य समितिलाई निर्देशन समेत दिनुभयो ।

जोशीले मुलुकको सुशासन र समृद्धिका निम्ति काँग्रेसको विकल्प नभएको जिकिरगर्दै झण्डै दुईतिहाइको नजिक जनमत पाएका कम्युनिष्टहरूले सरकारमा पुगेपछि निकै बदनाम भएको आरोप लगाउनु भयो । कम्युनिष्टकै असक्षमताका कारण काँग्रेसको राज्य संचालन गर्नुपरेको उहाँको भनाई थियो । काँग्रेसको आन्तरिक विचलन र कम्युनिष्टको भ्रामक प्रचारबाजीले विगतमा काँग्रेसको पराजय भएको वताउँदै पार्टीको आन्तरिक जीवनमा प्रतिस्पर्धा गरेपनि आम चुनावमा रूखलाई हेरेर भोट हाल्न उहाँले सबै कार्यकर्तालाई सुझाव दिनुभयो ।

कार्यक्रममा नेपाली काँग्रेस गण्डकी प्रदेशका सहमहामन्त्री रामचन्द्र जोशीले १४ औं महाधिवेशन पार्टीको आन्तरिक प्रतिस्पर्धा भएकाले यसको परिणामसँगै अब सबैजना एकैठाउँमा मिलेर पार्टीको संगठन विस्तारमा लाग्नुपर्ने बताउनु भयो । उहाँले अधिवेशनका बेला भएको आन्तरिक प्रतिस्पर्धालाई विर्सेर अब आउने स्थानीय, प्रदेश र केन्द्रको निर्वाचनकालागि सबै आ–आफ्नो ठाउँबाट अगाडि बढ्नकालागि आग्रह गर्नुभयो ।

नेपाली काँग्रेस पर्वतका सभापति युवराज जोशीले आगामी निर्वाचनमा काँग्रेसले विजय हासिल गर्नेगरी संगठन निर्माणमा लाग्ने प्रतिवद्धता जनाउनु भयो । उहाँले पर्वतलाई कांग्रेसको गढ बनाउने प्रतिबद्धता पनि गर्नुभयो । ‘हामी बीच मैत्रीपूर्ण चुनाव भएको हो, हामी सबैले जितेका छौं । मेरो जीतमा सबैको साथ र सहयोग छ । आगामी दिनमा हामी एकतावद्ध भएर अगाडि बढ्छौं, अब कांग्रेसलाई पर्वतमा पहिलो पार्टी बनाउँछौं ।पर्वतमा नेपाली कांग्रेसलाई सबैतहमा जिताउन प्रयत्न गर्नेछु ।’- सभापति जोशीले भन्नुभयो ।

कार्यक्रममा नेपाली कांग्रेस पर्वतका निवर्तमान पार्टी सभापति खिमप्रसाद भुषाल, पुर्व सभापति नवराज गुरुङ, गण्डकी प्रदेश साँसद ललितकला गुरूङ, नेपाली कांग्रेस गण्डकी प्रदेश सदस्य मिना केसी, नेपाली काँग्रेसका पूर्व कोषाध्यक्ष एवं सभापतिका प्रत्यासी यामबहादुर मल्ल (रामकृष्ण), नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि राजेन्द्रप्रसाद तिवारी, गंगाधर तिवारी, नेपाली कांग्रेस पर्वतका निवर्तमान सचीव विश्वप्रकास प्रसाईं, महाधिवेशन प्रतिनिधि कुलप्रसाद पाध्या, महाधिवेशन प्रतिनिधि मुना भुसाल, नेपाली कांग्रेस प्रदेश सभा क का क्षेत्रीय सभापति राजकुमार क्षेत्री, नेपाली कांग्रेस जलजला गाउँकार्य समितिका सभापति इन्दुप्रकास शर्मा, नेपाली कांग्रेस प्रदेश सभा ख का क्षेत्रीय सचिव छविलाल तिवारी, नेपाल कांग्रेस ट्रेड युनियन पर्वतका अध्यक्ष सुरेन्द्र केसी र नेपाल बिद्यार्थी संघ पर्वतका सभापति मिलन सुवेदी लगायतले बोल्नु भएको थियो ।
सभापति युवराज जोशीको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा स्वागत मन्तव्य कांग्रेस पर्वतका उपसभापति शिवप्रसाद सुवेदी र कार्यक्रम संचालन पार्टी सचिव अशोक उच्चै ठकुरी र अर्का पार्टी सचीव गुप्तनिधी शर्माले गर्नु भएको थियो । कार्यक्रममा भन्यवाद मन्तव्य पार्टीका उपसभापति डाक्टर चुडामणि शर्माले गर्नुभएको थियो ।

उक्त कार्यक्रममा वि.पि स्मृति भवन निर्माण समितीका संयोजक अर्जुनप्रसाद जोशी, निर्वतमान पार्टी सभापति खिमप्रसाद भुसाल, निर्वतमान पार्टी सचीव विश्वप्रकास प्रसाईं, निर्वतमान कोषध्याक्ष यामबहादुर मल्ल “ रामकृष्ण“ सहित नेपाली कांग्रेस गण्डकी प्रदेशको १४ औं महाधिवेशनमा निर्वाचित सहमहामन्त्री रामचन्द्र जोशी, सदस्यहरु जितबहादुर नेपाली, सीता काफले लामिछाने र मिना केसीलाई दोसल्ला ओढाएर सम्मान गरिएको छ । उक्त कार्यक्रममा पार्टी कार्यालयका कर्मचारी गणेश दर्जी र कार्यालयमा सडक ल्याउन जग्गा प्रदान गर्नेलाई दोसल्ला ओढाएर सम्मान गरेको छ ।