पोखरा–कुश्मा जोड्ने सुरुङ्गमार्ग चार वर्षभित्र पुरा गर्ने मन्त्री लम्सालको प्रतिवद्धता

भाद्र,२८–पर्वत/गण्डकी प्रदेशका उद्योग, पर्यटन बन तथा वातावरण मन्त्री बिकास लम्सालले पोखरादेखि पर्वतको सदरमुकाम जोड्ने सुरुङ्गमार्ग चार वर्षभित्र पुरा गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा पर्वत सदरमुकाम कुश्माबजारमा जनकल्याण महिला समूह पर्वतले आयोजना गरेको तीज मेलालाई उद्घाटन गर्दै मन्त्री लम्सालले पर्वत लगायत साविक धौलागिरीका चार जिल्लालाई प्रदेश राजधानी पोखरासँग प्रत्यक्ष जोड्ने उक्त सरुङमार्गको अहिले बिस्तृत अध्ययन गर्ने काम भैरहेको बताउँदै अबको चार वर्ष भित्रमा पुर्ण रुपमा सम्पन्न गर्ने तयारीमा रहेको बताउनुभयो ।

कार्यक्रममा बोल्दै जलजला गाउँपालिकाका प्रमुख यामबहादुर मल्लले स्थानीय तहलाई सहज रुपमा काम गर्ने वाताबरण बनाउन माग गर्नुभयो । उहाँले जनतालाई विकास चाहिएको र जनप्रतिनिधीहरु सहज रुपमा काम गर्न नपाउँदा जनतामा निराशा छाएको मल्लले बताउनुभयो । तीजको अवसरमा उहाँले सबै महिलाहरुलाई उद्यम तर्फ लाग्न र आम्दानीका स्रोत खोज्न सुझाव दिनुभएको छ । कार्यक्रममा कुश्मा नगरपालिकाका उपप्रमुख सीता काफ्ले लामिछाने र फलेवास नगरपालिकाका उपप्रमुख मन्जु अधिकारीले महिलाहरु चुलोचौकोमा मात्रै सिमिति छन् भनेर पुरानो नारा अव सुन्न नपरोस भन्नुभयो । महिलाहरुले सोचेका र चाहेका सबै कुरा पुरा हुने वाताबरण बनेको बताउँदै उप्रमुख द्धयले विकासका हरेक कार्यमा महिलाहरुको सहभागीता बढ्नुपर्ने बताउनुभयो ।

उक्त कार्यक्रममा कुश्मा नगरपालिका ५ का वडाध्यक्ष चित्रकला शर्मा भारती, उद्योग वाणिज्य संघका अध्यक्ष केदारनाथ शर्माले पनि बोल्नुभयो । उक्त अवसरमा महिला उद्यमी विष्णु शर्मा पौडेल र गंगा सुबेदीलाई दोसल्ला र सम्मानपत्रले सम्मान गरिएको छ । कार्यक्रममा कलाकारहरुको प्रस्तुती सहित महिला दिदिवहिनीहरुले मौलिक तीजगित प्रस्तुत गरेका थिए । जनकल्याण महिला समूहका अध्यक्ष मानकुमारी गिरीले महिलाहरुलाई अधिकार खोज्नका लागि यस्ता कार्यक्रममले सहयोग पुग्ने भएका कारण आफुहरुले कार्यक्रमको आयोजना गरेको वताउनुभयो । महिलाहरु अधिकार माग्ने जमाना सकिएको बताउँदै अधिकार दिन संविधानले नै ग्यारेण्टि गरेकाले अव महिलाहरु संविधानका अधिकारको उपभोग गर्न खोज्नुपर्ने बताउनुभयो । उक्त कार्यक्रमको सञ्चालन मुना शर्मा लामिछानेले गर्नुभएको थियो ।