भाद्र,२८–पर्वत/नेपाल राहत शिक्षक समितिको आयोजनामा ३ दिन देशभरका सामुदायिक विद्यालय बन्दको घोषणाले धौलागिरीमा पर्वत जिल्ला सहित अन्य जिल्लाका विद्यालय पनि प्रभावित भएका छन ।
नेपाल राहत शिक्षक केन्द्रिय समितिको २०७५ साल भाद्र २१ गतेको अपिल अनुसार संघीय शिक्षा ऐन २०७५ मा राहत शिक्षकका मागहरुलाई व्यवस्थापन गर्नुपर्ने माग राख्दै आजदेखि पर्सीसम्म देशैभरका सामुदायिक विद्यालयमा शैक्षिक आम हडतालको घोषणा गरेको हो । नेपाल राहत शिक्षक केन्द्रिय समितिले तय गरेको तेस्रो चरणको आन्दोलन अन्तर्गत भदौ २६, २७ र २८ गते देशभरी सामुदायिक विद्यालयमा शैक्षिक आम हड्तालको आयोजना गर्नु परेको नेपाल राहत शिक्षक समितिले जनाएको छ ।
विगतमा राहत शिक्षकको आन्दोलनबाट प्राप्त उपलब्धिलाई समेत नामेट गर्ने गरी आगामी असोज ३ गते जारी हुन लागेको संघीय शिक्षा ऐनको मस्यौदामा राहत शिक्षकहरुको व्यवस्थापनका बारेमा कुनै कुरा नसमेटिएको आरोप राहत शिक्षकहरुको छ । राहत कोटामा कार्यरत सम्पूर्ण शिक्षकहरुलाई एकमुष्ट स्थायी गर्नका लागि संघीय ऐनमा नीतिगत व्यवस्थापन गर्नुपर्ने, स्थायी प्रक्रियाको थालनी गर्नुपूर्व राहत शिक्षक सम्बन्धि हालको शिक्षा ऐन तथा नियमावलीहरुले गरेको व्यवस्थाहरुको स्वामीत्व जारी हुनेगरी संघीय ऐनले ग्रहण गर्नुपर्ने माग राहत शिक्षक केन्द्रिय समितिको रहेको छ ।






