भाद्र,२८–पर्वत/स्थानीयवासीको अवरोधका कारण चौधरी ग्रुपले निर्माण गरिरहेको मध्यमोदी जलविद्युत् आयोजना पाँचदिनदेखि ठप्प भएको छ । स्थानीयवासीले आयोजनाको कार्यालयमा तालाबन्दी गर्नुका साथै काममा समेत अवरोध गरेका कारण आइतबारदेखि निर्माण कार्य रोकिएको हो । आयोजनाको सुरुङ निर्माणका क्रममा बम विस्फोट गर्दा स्थानीय बस्ती जोखिममा परेको भन्दै स्थानीयवासीले तालाबन्दी गरेका हुन् । बम विस्फोट गर्दा स्थानीयवासीको १६ घरमा क्षति भएको बताएका छन् ।
मोदी गाउँपालिका–२ देउपुरमा निर्माणाधीन जलविद्युत् आयोजनामा बम विस्फोट गर्दा घरहरू भत्किन थालेको भन्दै स्थानीयवासीले जिल्ला प्रशासनमा समेत जानकारी गराएको भए पनि कुनै सुनुवाइ नभएपछि तालाबन्दी गर्नु परेको स्थानीयवासी मेघराज ढुङ्गानाले बताउनुभयो । ठाना, कल्लेनी र ओख्लेमा घरहरू भूकम्पको झँै भत्किन थालेपछि स्थानीवासीले जलविद्युत् आयोजनाको ध्यानाकर्षण गराउँदासमेत कुनै सुनुवाइ नभएको भन्दै आयोजना ठप्प बनाएका हुन् । आगामी मङ्सिरमा सम्पन्न हुने गरी निर्माण गरिरहेको १५ दशमलव १ मेगावाट क्षमताको मध्यमोदी जलविद्युत् आयोजनाको काम लक्ष्यअनुसार हुन सकेको छैन ।
२०७१ मङ्सिर ७ मा उद्योगपति विनोद चौधरीले दुई अर्ब ८० करोड लागत अनुमान गरिएको आयोजनाले आगामी मङ्सिरभित्र उत्पादन दिने दाबी गरेका थिए । तर, निर्माणको काममा भएको ढिलाइले सम्पन्न हुन समय लाग्नुका साथै लागत पनि बढ्ने अवस्था छ । आयोजना प्रमुख हरि देवकोटाका अनुसार भूकम्प र नाकाबन्दीका कारण निर्माण सामग्री बेलामा आउन नसक्दा अवधि करिब एक वर्ष अझै लम्बिने सङ्केत देखिएको छ । “अहिलेसम्म ६५ प्रतिशत प्रगति हुनुपर्ने हो”–उनले भने, “अहिले टनेलमा केही बढी ३५ प्रतिशत जति प्रगति देखिए पनि समग्रमा सन्तुष्ट हुन सकिने प्रगति छैन ।”
कास्कीको वीरेठाँटी र पर्वतको भुकताङ्लेको सिमानामा पर्ने सिमखेतमा बाँध निर्माण गरी पर्वतको देउपुर–२ बेतेनीसम्म दुई हजार ८०० मिटरको सुरुङमार्फत ल्याएको पानी ७७ मिटर लामो टेलेरेसमार्फत मोदीखोलामा मिसाउने योजना छ । हालसम्म ९६० मिटर टनेल पूरा भएको आयोजना प्रमुख देवकोटाले जानकारी दिए । हालसम्म करिब ६० करोड खर्च भएको आयोजनाका लेखा अधिकृत कृष्ण रिमालले बताए ।
प्रमुख देवकोटाका अनुसार अहिले सर्फेसअन्तर्गत हेडवक्र्स र पावरहाउसको कामलाई प्राथमिकता दिइएको छ । आयोजनासम्म सामान ओसार्न मोदीखोलामा पुल र आवश्यक पर्ने कङ्क्रिटका लागि क्रसर उद्योग सञ्चालन भइसकेका छन् ।






