पर्वत/जलजला गाउँपालिकाका अध्यक्ष एवम् नेपाली काँग्रेसका युवा नेता यामबहादुर मल्ल (रामकृष्ण)ले पुनः स्वास्थ्य सामाग्री बितरण गर्नुभएको छ । अध्यक्ष मल्लले सबैभन्दा बढी सेवाग्राही जम्मा हुने कार्यालय, संघसंस्था, पार्टी कार्यालय, पालिकाहरुमा सेनीटाइजरसहितको सेनीप्रेस बितरण गर्नुभएको हो । अहिले धेरैजसो कार्यालय, बैंक तथा बित्तिय संस्था, संघसंस्थामा राखिएको सेनीटाइजर धेरैले हातले छुदा अर्को मानिसमा कोरोना संक्रमण सर्नसक्ने जोखिम भएका कारण आफुले सबैभन्दा बढी सेवाग्राही जम्मा हुने केही मुख्य कार्यालयहरु, संघसंस्थामा सेनीप्रेस बितरण गरेको अध्यक्ष मल्लले जानकारी दिनुभयो ।
जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, जिल्ला अदालत, ससस्त्र प्रहरी चण्डिका गण, नेपाल पत्रकार महासंघ पर्वतलगायतका कार्यालय, संघसंस्थागरी ब्यक्तिगत रुपमा ५४ हजार रुपैयाँ बराबरको १८ वटा सेनीप्रेस बितरण गरेको मल्लले बताउनु भयो । ‘भिडभाडमा हरेकले हातले समातेर सेनीटाइजर प्रयोग गर्दा संक्रमण एकबाट अर्कोमा सर्ने सम्भावना बढी भएका कारण खुट्टाले अठ्याएपछि हातमा सेनीटाइजर खस्नेगरी निर्माण भएको सेनीप्रेसको आवश्यकता देखेर बितरण गरेको हुँ ’-मल्लले भन्नुभयो ।
यसअघि मल्लले जलजला गाउँपालिका, कुश्मा नगरपालिकाको बिपत् कोष, नेपाली काँग्रेस महाशिला, फलेबासको बिपत्कोषमा नगद सहयोग, विभिन्न पालिका तथा संघसंस्थामा स्वास्थ्यसामाग्री गरी ब्यक्तिगत रुपमा आठलाख रुपैयाँभन्दा बढी नगद र स्वास्थ्यसामाग्री बितरण गरिसक्नुभएको छ । विपतको बेलामा आफुले सकेसम्म सहयोगको दायरालाई फराकिलो बनाएर लागेको मल्लले बताउनु भयो । त्यसैगरी मल्लकै पहलमा नेपाली काँग्रेसकी नेतृ आरजु राणा देउवाको सहयोगमा लाखौँका स्वास्थ्य सामाग्री ल्याएर यसअघिनै पर्वत, बागलुङ र म्याग्दीमा बितरण गरिसकिएको छ । अध्यक्ष मल्लले यसअघिनै कोरोनाको महामारीबाट आक्रान्त भएका र लकडाउनको कारण श्रम गर्नबाट समेत बञ्चित भएका जलजलाका आठसय विपन्न परिवारलाई तीसलाखको खाद्यान्न समेत वितरण गर्नुभएको थियो ।






