पर्वत/निरन्तरको वर्षाका कारण जमिन गलेपछि मध्यपहाडी लोकमार्ग अन्तर्गत पर्वत खण्डमा निर्माणाधीन सडक भासिएको छ। लोकमार्ग अन्तर्गत पोखरा-बागलुङ सडक खण्डअन्तर्गत पर्वतको कुस्मा नगरपालिका ७ खरेहास्थित फलामखानी नजिकैको सडक भासिएको हो।
लामा कन्ट्रक्सन प्रालिले जिम्मा पाएको यो सडक पोखरा बागलुङ सवारी सञ्चालनका लागि प्रयोग हुँदै आएको पुरानो सडकलाई नै स्तरोन्नति गरेर मध्यपहाडी लोकमार्गमा परिणत गर्न लागिएपछि सडक कमजोर भएको हो । सडक भासिएपछि सवारी सञ्चालनमा जोखिम भएको छ । कालोपत्रे गर्ने अन्तिम तयारी अवस्थामा रहेको बेलामा भएको लकडाउनका कारण काम रोकिएको अवस्थामा सडक भासिएको हो।
छेउबाट सडकको मध्य भागसम्म भासिएका कारण तत्कालका लागि भासिएको ठाउँमा एकतर्फी रूपमा मात्रै सवारी चल्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी सहायक निरीक्षक राजेन्द्र पौडेलले बताए। अर्कोतिर सडकको निर्माण कार्य निकै ढिला भएको भन्दै निर्माण कम्पनीप्रति सरोकारवालाहरुले आपत्ति जनाएका छन् । उनीहरूले पर्वत खण्डको काममा ठेकेदार कम्पनीले लापरवाही गरेर दुख दिएको आरोप लगाए ।






