पूर्व एसपी दम्पतिद्वारा आफ्ना वावुको समृतिमा देउपुरका ६९ परिवारलाई राहत वितरण

297

पर्वत/मोदी गाउँपालिका-३ जोगिथुम निवासी पूर्व एस पी दम्पती राजेन्द्र गुरुङ तथा गाजुकुमारी गुरुङले शुक्रबार एक कार्यक्रमका विच स्थानिय बासिन्दाहरुलाई रहत वितरण गर्नुभएको छ । समाज सेवी, शिक्षाप्रेमी तथा स्थानीय जननेत्र मा.वि. देउपुरका संस्थापक अध्यक्ष आफ्ना स्वर्गीय पिताजी मेजर अमर बहादुर गुरुङको १५ औं स्मृति दिवसको अवसरमा गुरूङ दम्पतिद्वारा उक्त राहत वितरण गर्नुभएको हो ।

भगवान बुद्धद्वारा शिष्यहरुलाई प्रथमपटक ज्ञान दिएको दिन तथा कोरोनाबाट संसारभर दिवंगत भएका मानवअात्माको चिर शान्तिको कामना सहित प्रारम्भ गरिएको उक्त राहत वितरण कार्यक्रममार्फत मोदी गाउँ पालिका-२ देउपुर तथा ३ देउरालीका स्थानीय एकल महिला, एकल बृद्धपुरुष, अशक्त, अपांग, मृगौला पिडित, पक्षघात तथा अन्य रोगबाट पिडित, लक डाउनको कारणले चुलो बल्न नसकेका विपन्न वर्गका ६९ जना नागरिकहरुले जनही ३० केजी चामल, दाल, नुन, तेल तथा खाजा प्राप्त गरेका छन् ।

यसै क्रममा जननेत्र मा. वि. देउपुरका चारसय जना विद्यार्थीहरुलाई विव्यस, अध्यक्ष तथा प्रधानाध्यापक मार्फत शैक्षिक सामाग्री समेत हस्तान्तरण गरिएको छ । उक्त कार्यक्रममा बोल्दै मोदी गाउँपालिकाका अध्यक्ष प्रेम शर्मा पौडेलले शिक्षा प्रेमी मेजर अमरबहादुर गुरुङको योगदानको चर्चा गर्दै छोराबुहारी गुरुङ दम्पतीले समाजमा गरेको योगदानको समेत उच्च प्रशंसा गर्नुभयो भने मोदी २ देउपुरका वडाध्यक्ष विकास तिमिल्सिना, ३ का वडाध्यक्ष देवेन्द्र बहादुर क्षेत्रीले गुरुङ दम्पतीको सामाजिक भुमिकाको चर्चा गर्दै धन्यवाद दिनुभएको थियो ।

कार्यक्रममा आयोजक एस.पी गुरुङले अांफु समाजबाट कहिल्यै बाहिरिन नसकेको र यहि समाजका अाफन्त एवम् दीन दुःखीहरुको सेवामा समर्पित रहन पिताजीले दिएको अाशिर्वाद र प्रेरणालाई अात्मसात गर्दै जननेत्र मा वि देउपुर पर्वतसंग अाफ्नो पारिवारिक सम्बन्ध रहेको र हमेशा हृदयमा राखेको बताउनु भयो । कार्यक्रममा जननेत्र मा वि देउपुरक अध्यक्ष दाताराम चापागाईं र स्थानीय शैक्षिक प्रतिष्ठानका कोषाध्यक्ष बिष्णुप्रसाद सुवेदीले समेत बोल्नुभएको थियोे ।