भारतबाट फर्केका १३ जनालाई जलजलाले होम क्वारेन्टाइनमा राख्यो

1002

पर्वत/छिमेकी भारतमा समेत पछिल्लो दिनमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमितको संख्या बढेपछि रोजगारीका लागि गएका फर्कने क्रम जारी छ । केही दिन यता भारतलगायत बिदेशबाट फर्केकालाई जलजला गाउँपालिकाले निगरानीमा राखेको छ । गाउँपालिकाले नौ वटै वडाका वडा अध्यक्षलाई त्यस्ता ब्यक्तिको सुचना संकलन गर्न र निगरानी बढाउन आग्रह गरेको छ । गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)ले विगत १५ दिन यता भारतलगायत विभिन्न देशबाट फर्किएकालाई निगरानीमा राख्न, सुचना संकलन गर्न थालेको जानकारी दिनुभयो ।

यसैगरी भारतबाट फर्केका जलजला गाउँपालिका वडा नम्बर ८ नाग्लीवाङका १३ जनालाई बुधबारदेखि होम क्वारेन्टाइनमा राखिएको छ । आर्थिक रुपमा बिपन्न परिवारका उनीहरुलाई दुई साताका लागि पुग्ने खाद्यान्नसहयोगसहित होम क्वारेन्टाइनमा राखिएको जलजला गाउँपालिका वडा नम्बर ८ का वडा अध्यक्ष हरिविकास जिसीले जानकारी दिनुभयो । उहाँले अन्य बाहिरबाट गाउँ फर्केकाको पनि सुचना संकलन र निगरानी गरिरहेको पनि बताउनु भयो ।‘भारतबाट जलजलाका मात्रै ३५\४० जनाको समुह नै संगै आएको भन्ने सुचना पाएका छौ, गाउँमै पुगेका १३ जनालाई आजदेखि होम क्वारेन्टाइनमा राख्ने ब्यवस्था गरेका छौ’ वडा अध्यक्ष जिसीले भन्नुभयो –‘अन्य ब्यक्तिहरु कुश्मा, बेनी र बागलुङबजारमा आफन्तको घरमा बसेको भन्ने सुचना प्राप्त गरेका छौ ।’
जलजला गाउँपालिकाका बासिन्दा अहिले सामान्य बिरामी हुँदासमेत कुश्मा, पोखरा, बागलुङ, बेनी अस्पतालमा उपचारका लागि समेत जान गाह्रो भएको भन्दै वडाका स्वास्थ्य चौकीमा आवश्यक बेड र औषधीको ब्यवस्था मिलाएको जनाएको छ । सामान्य ज्वरो, रुघाखोकी, टाउको दुःख्ने, टाइफाइड, झाडापखालालगायतका सम्भावित बिरामीहरुलाई मध्यनजर गर्दै अस्पताल जानसमेत समस्या भएको बेलामा उनीहरुलाई वडाकै स्वास्थ्य चौकीमा उपचार गर्ने ब्यवस्था मिलाउन गाउँपालिका लागेको अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)ले जानकारी दिनुभयो । ‘जलजला गाउँपालिकाले सबै वडाका स्वास्थ्य चौकीमा अनिवार्य रुपमा कम्तीमा दुई देखि चार वटासम्म बेडसहितको बिरामी उपचार कक्ष बनाउने, ज्वरो, रुघाखोकी, टाउको दुःख्ने, टाइफाइड, झाडापखालालगायत त्यस्ता रोगबिरुद्धका औषधीको प्रायाप्त मात्रामा ब्यवस्था मिलाउन नौ वटै वडाका वडा अध्यक्षलाई निर्देशन दिएको छ’ अध्यक्ष मल्लले भन्नुभयो ।

कोरोना भाइरसबिरुद्ध जलजलाबासीलाई अध्यक्ष मल्लको सन्देश

आदरणीय जलजलाबासी दाजुभाई तथा दिदिबहिनीहरु !
अहिले बिश्वभरी नै कोरोना भाइरस (कोभिड–१९) को सन्त्रास छाइरहेको छ । नेपालमा अहिलेसम्म तीन जनामा यसको संक्रमणको पुष्टि भएको छ । हामी सतर्क भएनौ भने जुनसुकै बेला पनि इटाली, स्पेन, चीनलगायतका मुलुकको नियति भोग्नुपर्ने हुन्छ । त्यसैले यो बेला आफु सतर्क हुने र अरुलाई सतर्क गराउने बेला हो । यो महामारीको बेलामा कुनैपनि राजनीतिक बिचार, आस्थाका आधारमा विभेद गर्ने बेला होइन । सबैलाई सबैले एकआपसमा सहयोग गर्ने समय हो ।
मैले जलजला गाउँपालिकाका सबै जनप्रतिनिधि, राजनीतिक दल, कर्मचारीलगायत सरोकारवालाहरुलाई बिना राजनीतिक पूर्वाग्रह यो कोरोना भाइरसको महामारीबिरुद्ध जुध्नका लागि अपिल गर्दछु । जलजला गाउँपालिकाले कोरोना भाइरस लागेमा त्यसका लागि उपचारको ब्यवस्था मिलाउने घोषणा गरिसकेको छ । अहिले सामान्य बिरामी हुँदासमेत कुश्मा, पोखरा, बागलुङ, बेनी अस्पतालमा उपचारका लागि समेत जान गाह्रो छ । सामान्य ज्वरो, रुघाखोकी, टाउको दुःख्ने, टाइफाइड, झाडापखालालगायतका सम्भावित बिरामीहरुलाई मध्यनजर गर्दै अस्पताल जानसमेत समस्या भएको बेलामा उनीहरुलाई वडाकै स्वास्थ्य चौकीमा उपचार गर्ने ब्यवस्था मिलाउन गाउँपालिका लागेको पनि जानकारी गराउदछु । जलजला गाउँपालिकाले सबै वडाका स्वास्थ्य चौकीमा अनिवार्य रुपमा दुई वटा बेडसहितको बिरामी कक्ष बनाउने, आवश्यक पर्ने त्यस्ता रोगबिरुद्धका औषधीको प्रायाप्त मात्रामा ब्यवस्था मिलाउन नौ वटै वडाका वडा अध्यक्षलाई निर्देशन दिएको छ ।
अधिकांश मुलुकमा अहिले कोरोना भाइरस देखिएपछि विभिन्न देशहरुमा भएका नेपाली पछिल्ला दिनमा नेपाल आएका छन् । केही दिनयता बढी मात्रामा भारतबाट नेपाल आएका छन् । जलजला गाउँपालिकामा पनि केही दिनयता झण्डै ४० जना भारतबाटै घर फर्किएको सुचना प्राप्त भएको छ । ती मध्ये केही घरमा आएको र केही कुश्मा, म्याग्दी बेनी, बागलुङमा आफ्न्तकोमा बसेको पाएका छौ । भारतबाट फर्केका जलजला–८ नाग्लीवाङका चार वटा घरका १३ जनालाई आजैदेखि दुई साताका लागि आवश्यक पर्ने खाद्यान्नको ब्यवस्थासहित होम क्वारेन्टाइनमा राखेका छौ । उनीहरु अत्यन्तै गरिब र बिपन्न भएका कारण उक्त समयावधिका लागि गाउँपालिकाले नै चामल, नुन, तेल, चिनी तरकारलगायत खाद्यान्नको ब्यवस्था मिलाएको हो । त्यो ब्यवस्थाका लागि खट्ने वडा अध्यक्ष हरिविकास जिसीसहितको टोलीलाई धन्यबाद दिन्छु । बाहिरबाट घर फर्केर आएकालाई पनि कम्तीमा पनि दुई साता अन्य ब्यक्तिको सम्पर्कमा नरही टाढा बस्न, त्यस्ता परिवारलाई टाढा बस्ने ब्यवस्था गर्न सबै वडा अध्यक्षलाई आग्रह गरेका छौ ।
विभिन्न देशहरुमा मानविय लापरबाहीकै कारण ठुलो संख्यामा मानिसहरुको कोरोना भाइरसकै कारण ज्यान गइरहेको छ । यो समयमा सरकारले दिएको निर्देशनलाई पूर्ण पालना गरी आफु सचेत, सतर्क बन्ने तथा बच्ने र बचाउने बेला हो । हामीले जति धेरै लापरबाही गर्छौ त्यति नै हामी कोरोना भाइरसको जोखिममा रहेका छौ । यो भाइरसबाट डराउने, त्रासमा रहने, आतंकित बन्ने होइन । सतर्क रहने हो । नियमित रुपमा साबुन पानीले हात धुने, खोक्दा र हाछ्यु गर्दा नाक र मुख छोप्ने, फ्लु जस्तो लक्षण देखिएमा चिकित्सकसँग सम्पर्क गर्ने, त्यस्तो देखिएका ब्यक्तिको सम्पर्कबाट टाढा रहने, जङ्गली तथा घरपालुवा पशुपन्छीसँगको असुरक्षित सम्पर्कबाट टाढा रहने, पशुजन्य मासु, दुध तथा अण्डा राम्रोसँग पकाएर खाने गरौ । धन्यबाद, जयनेपाल
यामबहादुर मल्ल (रामकृष्ण)
अध्यक्ष
जलजला गाउँपालिका, पर्वत