पर्वत/जलजला गाउँपालिकाले विश्वभर फैलिइरहेको कोरोना भाइरस (कोभिड–१९) बाट गाउँपालिकाकाबासीलाई सुरक्षित राख्न कटुवाल मार्फत गाउँगाउँमा नियमित घोक हाल्ने अभियान सञ्चालन गरेको छ । प्राणघातक कोरोनाको संक्रमण जुनसुकै बेला फैलने खतरा भएकोले गाउँबासीलाई सतर्क बनाउन कटुवाल मार्फत नियमित घोक हाल्ने अभियान सञ्चालन गरिएको जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल रामकृष्णले जानकारी दिनुभयो । कटुवालले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन, विनाकाम एकअर्काको घरमा नजान र भिडभाड हुने ठाउँमा नजान र बाहिर जानुपरे वडाअध्यक्ष वा प्रहरीलाई खबर गर्न सुझाउने गरेको छ । साथै कटुवाल मार्फत कोरोना भाइरसको संक्रमणको जोखिमलाई मध्यनजर गदै सम्पूर्णलाई स्वास्थ्य अवस्थावारे सचेत रहन, व्यक्तिगत सरसफाईमा ध्यान दिन, भिडभाडमा नजान, अत्यावश्यक काम बाहेक सकेसम्म घरभित्रै रहन तथा रोगथामका उपायहरु अवलम्वन गर्न र कुनै लक्षण देखिएमा नजिकको स्वास्थ्य संस्थामा सम्पर्क राख्न अपिल गरिएको अध्यक्ष मल्लले जानकारी दिनुभयो ।
चीनको हुवेई प्रान्तबाट सुरुवात भएको नोभल कोरोना भाइरस (कोभिड–१९) हाल विश्वको १७३ मुलुकहरुमा फैलिइ भयानक रुप लिइसकेको छ । नेपाल लगायत विश्वभरि नै यसको उच्च जोखिम रहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।