पर्वत/फलेवास नगरपालिका वडा नं ११ पाङराङमा तिज मेला सहित विविध खेलकुद तथा साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको नेपाली काँग्रेस पर्वतका युवा नेता तथा महासमिति सदस्य गंगाधर तिवारीले उद्घाटन गर्नुभएको थियो । पाङराङ युवा समाज र जनसिद्ध बाल क्लबको संयुक्त आयोजनामा भएको उक्त कार्यक्रमलाई सम्बोधन गर्दै काँग्रेसका युवा नेता तिवारीले फलेवास नगरपालिकाले जनताको भावना अनुसार काम गर्न नसकेको वताउनु भएको छ । स्थानीय तह निर्वाचनमा फलेवास नगरपालिकामा मेयरका प्रत्यासी समेत रहेका तिवारीले विकासमा पनि फलेवास नगरपालिकाले आग्रह पूर्वाग्रहका आधारमा काम गरेको उल्लेख गर्दै दुईतिहाइ बहुमत साथमा हुँदा पनि नगरपालिका कुहिरोको कागजस्तै अलमलिएको आरोप लगाउनु भयो । काँग्रेस नेता तिवारीले नगरपालिका जितेको २८ महिनासम्म पनि भवनको टुंगो लगाउन नसकेको वताउँदै त्यही कामबाट नगरप्रमुखको कार्यक्षमताको परिक्षण भइसकेको धारणा राख्नुभयो । उहाँले नगरपालिकामा आफू चुनाव हारे पनि कार्कीनेटादेखि पाङराङसम्म जनताको सुख दुःखमा आफू निरन्तर खटिरहेको र आगामी दिनमा समेत जनताकै बीचमा रहने प्रतिबद्धता जनाउनु भएको थियो । तिवारीले पाङराङ युवा समाज र जनसिद्ध बाल क्लबले गरेका रचनात्मक कामको प्रशंसा गर्नुभएको थियो ।
कार्यक्रममा फलेवास नगरपालिका वडा नं ११ पाङराङका वडा अध्यक्ष जीतबहादुर सुनार (शेरबहादुर)ले पाङराङको बाटो, बिजुली, खानेपानी, शिक्षा र स्वास्थ्य क्षेत्रमा धेरै काम गर्नुपर्ने भएपनि नगरपालिका भित्रको सिमित श्रोत साधनको कारण अपेक्षाकृत विकास गर्न नसकिएको वताउँदै आफ्नो कार्यकालभित्रमा पाङराङबासीका समस्याहरू समाधान गर्ने प्रतिबद्धता जनाउनु भयो । वडा अध्यक्ष सुनारले क्लवले आयोजना गरेको सास्कृतिक कार्यक्रमले वडाबासीहरूमा सहसम्बन्ध स्थापना गर्ने विश्वास व्यक्त गर्नुभयो । साथै फलेवास नगरपालिका वडा नं ३ का वडा अध्यक्ष अर्जुनबहादुर कार्कीले पाङराङ कृषिका लागि आफैमा उर्वर भूमि भएको वताउँदै फलेवास नगरपालिकाबाट गर्नुपर्ने सहयोगका लागि पहल गर्ने प्रतिबद्धता जनाउनु भएको थियो कार्कीले तिजको अवसरमा राखिने यस्ता कार्यक्रमले भातृत्व र भगिनीत्वको सम्बन्ध विकास गर्ने विश्वास व्यक्त गर्नुभयो । त्यसैगरि नेपाल निजामती कर्मचारी युनियन संघका केन्द्रीय उपाध्यक्ष तथा गण्डकी प्रदेशका संयोजक शिब शर्मा अधिकारीले धर्म संस्कृतिको रक्षार्थ क्लवले गरेको कार्यक्रमको प्रशंसा गर्दै लोक संस्कृतिको विकासका लागि क्लवलाई आगामी दिनमा अझै रचनात्मक कार्यक्रम गर्न सुझाव दिनुभएको थियो ।
नेपाली काँग्रेसका जिल्ला कार्य समिति सदस्य माया पाठक, नेपाल विद्यार्थी संघका केन्द्रीय सहमहामन्त्री हरिहर शर्मा, नेपाली काँग्रेस पर्वतका आमन्त्रित जिल्ला सदस्य शिवप्रसाद सुवेदी, नेपाल पत्रकार महासंघ पर्वतका अध्यक्ष छविलाल तिवारी, नेपाल दलित संघ पर्वतका जिल्ला अध्यक्ष याम परिवार (शिब) लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
पाङराङ युवा समाजका अध्यक्ष सुन्दर वरालको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रमको संचालन क्लवका संस्थापक अध्यक्ष सन्तोष पाठक र नेपाल प्रेस युनियन पर्वतका उपाध्यक्ष ठाकुर रसाईले गर्नु भएको थियो भने स्वागत मन्तब्य कार्यक्रमका संयोजक सन्दीप पाठकले गर्नुभएको थियो । कार्यक्रममा विभिन्न कलाकारहरुको रमाइलो सांगितिक प्रस्तुति रहेको थियो ।






