पर्वत/बिहादी गाउँपालिका–३, रानीपानीमा गोठमा आगलागी हुँदा पशुचौपायामा ठूलो क्षति भएको छ। आगलागीमा एक भैँसी र एउटा पाडा जलेर मरेका छन् भने चारवटा उन्नत जातका जर्सी गाई गम्भीर घाइते भएका छन्।
रानीपानी निवासी हरि न्यौपानेले सञ्चालन गर्दै आउनुभएको ‘विद्यापति एकीकृत कृषि फर्म’को गोठमा गए राति करिब १२ बजे अचानक आगलागी भएको हो। आगलागीबाट गोठमा रहेका पशुचौपायासहित गोठमा भण्डारण गरिएको पराल र गोठ निर्माणमा प्रयोग भएका काठसमेत जलेर नष्ट भएका छन्।
आगलागीमा २५ ट्याक्टर पराल जलेर नष्ट भएको रानीपानी प्रहरी चौकीका प्रहरी हवल्दार सपनकुमार मानन्धरले जानकारी दिनुभयो। उहाँका अनुसार आगलागीबाट एक भैँसी र एउटा पाडा जलेर मरेका छन् भने चारवटा जर्सी गाई आगोले पोलेर गम्भीर घाइते भएका छन्।
लामो समयदेखि कृषि तथा पशुपालन व्यवसायमा संलग्न न्यौपानेले गोठमा साँझ आगो नबालेको अवस्थामा मध्यरातमा आगलागी भएको भन्दै घटनाप्रति आश्चर्य व्यक्त गर्नुभएको छ। गोठमा आगो नबालेको अवस्थामा कसरी आगलागी भयो भन्ने आफूलाई पनि अचम्म लागेको उहाँले बताउनुभयो।






