पर्वत/नेपाली काँग्रेस प्रदेश सभा (क) क्षेत्रीय कार्यसमिति पर्वतले पहिलो बैठकबाटै पार्टीलाई अध्ययनशील, सिर्जनशील र वैचारिक रूपमा सबल बनाउने गरी रचनात्मक कामको थालनी गरेको छ । क्षेत्रीय सभापति राजु आचार्यको सभापतित्वमा सम्पन्न पहिलो बैठकले पार्टी कार्यालयमा पुस्तकालय स्थापना गर्ने तथा प्रदेश सभा (क) अन्तर्गतका तीनवटै पालिकामा विषयगत प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो ।
पछिल्लो समय पार्टीका नेता तथा कार्यकर्तामा अध्ययनशीलता र वैचारिक बहसको अभ्यास कमजोर हुँदै गएको महसुस गरी पुस्तकालय स्थापना गर्ने निर्णय गरिएको सभापति राजु आचार्यले बताउनुभयो । उहाँले पार्टीलाई संगठनात्मक रूपमा मात्र नभई वैचारिक र बौद्धिक रूपमा पनि बलियो बनाउन अध्ययन संस्कृतिको विकास आवश्यक रहेको बताउनुभयो । “राजनीति संगठन विस्तार र चुनावी गतिविधिमा मात्र सीमित हुनुहुँदैन । नेता तथा कार्यकर्तालाई समसामयिक विषयमा जानकार, वैचारिक रूपमा स्पष्ट र सामाजिक रूपमा जिम्मेवार बनाउन अध्ययन र प्रशिक्षणलाई जोड दिनुपर्छ,” आचार्यले भन्नुभयो ।
बैठकले प्रदेश सभा (क) अन्तर्गत पर्ने कुश्मा नगरपालिका, जलजला गाउँपालिका र मोदी गाउँपालिकामा प्रदेशस्तरीय प्रशिक्षणात्मक कार्यक्रम सञ्चालन गर्ने निर्णयसमेत गरेको छ । कृषि, उद्यमशीलता, समाज सुधार र सूचना प्रविधिका विषयमा केन्द्रित रहेर प्रशिक्षण सञ्चालन गरिनेछ ।तीन स्थानीय तहका ३१ वटै वडाका वडा कार्यसमिति तथा पालिका कार्यसमितिका पदाधिकारी र सदस्यलाई कार्यक्रममा सहभागी गराइनेछ । प्रशिक्षणसँगै पालिकास्तरमा भएका कार्यक्रमको प्रभावकारिता र उपलब्धिको विश्लेषण गरी उत्कृष्ट कार्यसम्पादन गर्ने पालिकालाई पुरस्कार वितरण गर्ने निर्णय पनि बैठकले गरेको छ ।
प्रदेश सभा क का सचिव निर्दोष लामिछानेले पार्टी संगठनलाई परम्परागत गतिविधिमा मात्र सीमित नराखी अध्ययन, सीप, ज्ञान र सिर्जनात्मक काममार्फत परिणाममुखी बनाउने उद्देश्यले यस्ता कार्यक्रम अघि सारिएको बताउनु भयो । उहाँले पुस्तकालय स्थापना र प्रशिक्षण कार्यक्रमको मिति अर्को बैठकले निर्धारण गर्ने जानकारी दिनुभयो ।






