ब्याडमिन्टन संघको तेश्रो अधिवेशनसँगै कुश्मामा जिम हलको शुभारम्भ

पर्वत/ब्याडमिन्टन संघ पर्वतको नवौं साधारण सभा तथा तेश्रो अधिवेशन शनिबार कुश्मामा सम्पन्न भएको छ । अधिवेशनको जलजला गाउँपालिकाका अध्यक्ष एवं नेपाली काँग्रेसका पर्वतका युवा नेता यामबहादुर मल्ल रामकृष्णले उद्घाटन गर्नुभएको थियो । उद्घाटन पछि बोल्दै अध्यक्ष मल्लले खेल जीवनको सबैभन्दा उत्तम औषधि भएको वताउँदै स्वस्थ्य र दीर्घ जीवनका लागि सबैलाई दैनिक खेल खेल्न सुझाव दिनुभएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका अध्यक्ष मल्लले स्वस्थ जीवनका लागि शारीरिक र मानसिक रूपले मानिस फूर्तिलो हुनुपर्ने र त्यसका लागि नियमित व्यायाम आवश्यक रहेको बताउनुभएको थियो । उहाँले कुश्मामा ब्याडमिन्टन संघ गठन गरि बर्षौंदेखि खेल मार्फत हजारौंको स्वास्थ्यमा टेवा पुर्याउँदै आउनु भएका संघका अध्यक्ष प्रेम गुरूङ माइलाको खुलेर प्रशंसा गर्नुभयो । ‘ब्याडमिन्टन हल र जिम हल निर्माणका लागि प्रेम गुरूङजीले जुन सक्रियता देखाएर करोडौं रुपैयाँको काम गर्नु भएको छ समग्र खेलप्रेमीहरूका लागि गौरवको विषय हो ।’-अध्यक्ष मल्लले भन्नु भयो ।

कार्यक्रममा नेपाली काँग्रेसका नेता युवराज जोशीले खेलको विकास स्वास्थ्य मानिसका लागि उपयोगी हुने धारणा राख्नुभयो । उहाँले खेलक्षेत्रलाई राज्यले प्राथमिकता दिनुपर्ने भएपनि त्यो नभएको गुनासो गर्नुभयो । खेल क्षेत्रलाई राज्यले उच्च प्राथमिकतामा राख्नुपर्ने उहाँको पनि भनाई रहेको थियो । कार्यक्रममा ब्याडमिन्टन संघका केन्द्रीय सदस्य बासु श्रेष्ठ निर्माण, गण्डकी धौलागिरी यातायात ब्यावसायी समितिका उमेश केसी, लोक सेवा आयोग बागलुङ कार्यालयका प्रमुख गणेश पौडेल, बागलुङ ब्याडमिन्टन संघका अध्यक्ष राजेन्द्र शाक्य, पर्वतका अध्यक्ष प्रेमकुमार गुरुङ, सचिव अर्जुन चापागाई, कोषाध्यक्ष रविकुमार श्रेष्ठलगायतले बोल्नु भएको थियो ।

पर्वत ब्याडमिन्टन संघका अध्यक्ष प्रेमकुमार गुरुङ माइलाले ब्यवस्थित ब्याडमिन्टन हलसँगै सुविधासम्पन्न जिम हाउस सञ्चालनमा ल्याएको जानकारी दिए । उनले एक लाख ५० हजार रुपैयाँको लागतमा जिम हाउस सञ्चालन गरेको पनि बताए । संघका अध्यक्ष गुरुङको नेतृत्वमा नै केही बर्षअघि सुविधसम्पन्न कभर्डहल निर्माण गरिएको थियो ।
संघको तेस्रो अधिवेशनले प्रेमकुमार गुरुङ ९माइला०कै अध्यक्षतामा नयाँ समिति चयन गरेको छ । संघको उपाध्यक्षमा राजन गुरुङ र राजेन्द्रकुमार कर्माचार्य, सचिवमा अर्जुनप्रसाद चापागाई, कोषाध्यक्षमा रविकुमार श्रेष्ठ, सहसचिवमा राजनकुमार जोशी, सहकोषाध्यक्षमा दिनेश श्रेष्ठ, सदस्यमा बद्रीनारायण पौडेल, शिव शर्मा पौडेल, ज्ञानेन्द्रकुमार जोशी, शम्भु जोशी, शुवर्ण अर्याल, रमेश बस्नेत, पूर्ण तुलाचन, कृष्णप्रसाद शर्मा, उर्मिला गुरुङ, कृष्ण शर्मा र प्रकाश कर्माचार्य रहेका छन् । सल्लाहकारमा रामचन्द्र जोशी, युवराज जोशी, लक्ष्मण शर्मा र गणेश पौडेल रहेका छन् । संघका अध्यक्ष गुरुङकै नेतृत्वमा कभर्ड हल निर्माण गरिएको थियो । कुश्मा नगरपालिका वडा नम्बर ४ स्थित गुप्तेश्वर क्याम्पससँगै निर्माण गरिएको हलमा अहिले दैनिक ४०/५० जना युवाले ब्याडमिन्टन खेल्दै आएका छन् । जिम हाउसले अझै सहभागिता बढाउने अपेक्षा गरिएको छ

सोही अवसरमा मल्लले जीम हलको समेत उद्घाटन गर्नुभएको थियो । पर्वत ब्याडमिन्टन संघका अध्यक्ष प्रेम गुरूङ माइलाले स्वस्थ र तन्दुरुस्त जीवन बाँच्न सबैलाई खेल खेल्न आह्वान गर्नु भएको थियो । उहाँले पर्वत ब्याडमिन्टन संघबाट उत्पादित विभिन्न खेलाडीहरू अञ्चल, प्रदेश हुँदै राष्ट्रिय स्तरसम्म गएर पुरस्कृत भएर आएको वताउनु भएको थियो ।