मेला महोत्सवले पर्वतको पहिचान बढाएको छ – जोशी

73

पर्वत/नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वसांसद अर्जुनप्रसाद जोशीले पद र पार्टीको स्वार्थभन्दा आफु जन्मेको जिल्लाको पहिचान र विकासमा जुट्न आब्हान गर्नुभएको छ । पर्वत जेसिजले नयाँ बर्ष २०७६ सालको अवसरमा आयोजना गरेको सडक खाना महोत्सवको सोमबार कुश्मामा समापन समारोहलाई सम्बोधन गर्दै जोशीले राजनीति गर्नेहरुले पद र दलगत स्वार्थ भन्दा माथि उठेर जिल्लाको विकास र पहिचानमा लाग्नुपर्ने बताउनु भएको हो ।
आकाशका तारा झार्ने गफ दिनुभन्दा पनि बास्तविक काम गर्नुपर्ने भनाई उहाँको थियो । गाउँगाउँमा हरेक विकास निर्माणका सुविधा पु¥याएर बिदेशीका पर्वतेली युवालाई जिल्लामा रहेर रोजगारी मिल्ने काम गर्ने हो भने धेरै सम्भावना र सम्भव रहेको धारणा उहाँको थियो । पर्वत जिल्ला पर्यटकीय, धार्मिक र ऐतिहासिक स्थलहरु, अग्ला पुलहरु, बञ्जीजम्प, आकर्षक गुफाहरुका कारण विश्वमै छुट्टै पहिचान बनाउन सफल भएको भन्दै उहाँले जिल्लाको थप पहिचानमा राजनीति गर्नेहरुले पनि महत्वपूर्ण भुमिका खेल्नुपर्ने बताउनु भयो ।
पर्वत जिल्लाले राष्ट्रियस्तरमै पहिचान बनाएका कलाकारहरुसमेत जन्माएको, अग्ला झोलुङ्गे पुलको हब बनेको, पर्वत जिल्लामा सबै वडामा गाडी पुगेको, विकास सुचाकांकमा मुलुकमै ७÷८ नम्बरमा आएको, जतासुकै पर्वत जिल्लाको चर्चा हुनुले आफु पर्वत जिल्लामा जन्मन पाएकोमा खुशी लाग्ने गरेको जोशीले बताउनु भयो ।
हिजो सरुवा भएर जादा कर्मचारी पर्वत नरोजेर म्याग्दी, बागलुङ जाने गरेकोमा अहिले कर्मचारी पर्वत आउन रहर गर्ने गरेको उहाँले दावी गर्नुभयो । उहाँले यो महोत्सव अर्को बर्ष पनि राख्न र यस्ता मेला महोत्सवले जिल्लाको पहिचानका लागि ठुलो भुमिका खेल्ने जानाकारी दिनुभयो ।
नयाँ बर्ष २०७६ को अवसरमा चैत ३० गतेदेखि सुरु भएको सडक खाना महोत्सव सोमबार सम्पन्न भएको हो । आन्तरिक पर्यटन प्रर्बद्धन गर्ने तथा लामा र अग्ला पुलले घेरिएको कुश्मालाई नयाँ बर्ष मनाउने पर्यटकीय गन्तब्य बनाउने उद्देश्यले सडक खाना महोत्सब आयोजना गरिएको पर्वत जेसिजका अध्यक्ष मोहन आचार्यले जानकारी दिनुभयो ।
नयाँ बर्ष मनाउन पदयात्रामा जाने, पोखरा र फेवा किनारमा मनाउन जाने पर्वत, बागलुङ्ग, म्याग्दी, कास्की र स्याङ्गजाका आन्तरिक पर्यटकलाई लक्षित गरेर महोत्सब आयोजना गरिएको पनि उनले बताए । स्थानिय मौलिक परिकारप्रति आकर्षक बढाउन, धार्मिक र पर्यटकीय स्थलको प्रचार–प्रसार, लघु, घरेलु उद्योगहरुका उत्पादनहरुको बजार समेत प्रर्बद्धन गर्न पनि महोत्सब सफल भएको आयोजकको दाबी छ । कार्यक्रममा पर्वत जेसीजका पूर्व अध्यक्ष तथा सडक खाना महोत्सवका निर्देशक शिवप्रसाद सुवेदीले स्वागत मन्तव्य र कार्यक्रमको संचालन जेसीजका महासचिव रामु शर्माले गर्नुभएको थियो ।