पर्वत/कार्यकर्ता तहबाट जति विरोध भएपनि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पछिल्लो समय पार्टीभित्र झन बलियो बन्दै गएका छन् । विगतमा कृष्णप्रसाद सिटौला र रामचन्द्र पौडेलको खेमा एक ठाउँ आएको थियो । यी दुई खेमा मिलेर सभापति देउवाको खेमालाई अप्ठ्यारोमा पार्न खोजिएपनि नेवि संघ केन्द्रीय समितिको विघटनपछि पौडेल र सिटौला खेमा बीच झन् दूरी बढेको छ । पौडेल र सिटौलावीचको दूरीबढेसँगै सभापति शेरबहादुर देउवा पार्टीमा झन् शक्तिशाली हुँदै गएका हुन् ।
अहिले आएर कार्य सम्पादन समिति गठनको विषयलाई लिएर पौडेल र सिटौला खेमा बीच वारपारनै हुने लक्षण देखिएको छ । कार्य सम्पादन समिति गठन गर्न शनिबार केन्द्रीय समितिको वैठक डाकिएको थियो । समिति गठनमा सहमति जुट्न नसक्दा वैठक स्थगित गरिएको थियो ।
सहमति खोज्ने प्रयास जारी छ र अब कहिले वैठक बस्छ अनिश्चित भएको छ । कांग्रेसका एक केन्द्रीय सदस्यका अनुसार कार्यसम्पादन समिति गठनमा एउटा मात्र विवाद छैन । गुटहरुभित्रै पनि विवाद रहेको छ । आआफ्नो गुटभित्रबाट नाम चयन गर्न पनि सकस भइरहेकाले शनिबारको वैठक स्थगित गरिएको उनले बताए ।
विगतमा कांग्रेसमा संस्थापन पक्षले ६० र विरोधी पक्षले ४० प्रतिशत हिस्सा लिने गरेको थियो । गत महाधिवेशनबाट तेस्रो खेमा पनि उदायो र भागवण्डामा समस्या देखियो । तेस्रो खेमाका रुपमा रहेको सिटौला खेमालाई आफ्नो हिस्सा काटेर भाग दिन देउवा र रामचन्द्र दुवै खेमा तयार देखिएका छैनन् ।।
कार्य सम्पादनमा कोको ?
कार्य सम्पादन समिति आगामी दिनमा सबैभन्दा निर्णायक समिति बन्नेछ । किनभने केन्द्रीय समितिको वैठक नबसेको बेला यावत निर्णय यही समितिले गर्छ ।
सभापति देउवा वरिष्ठताको आधारमा समिति गठन गर्न चाहन्छन् । उनले वरिष्ठताका आधारमा समिति गठन गरेका पनि थिए तर रामचन्द्र खेमाले विरोध गरेपछि विघटन भएको थियो । अहिले पनि देउवा वरिष्ठताकै आधारमा समिति बनाउन चाहन्छन् ।
वरिष्ठता विवादका कारण पनि कार्यसम्पादन समिति गठन हुन नसकेको बुझिन्छ ।
कार्य सम्पादनमा पार्टी पदाधिकारीहरु स्वत पर्नेछन् । सभापति देउवा, उपसभापतिद्धय विमलेन्द्र निधि र बिजयकुमार गच्छदार, महामन्त्री डा. शशांक कोइराला र पूर्णबहादुर खड्का, कोषाध्यक्ष सीतादेवी यादव, सहमहामन्त्री प्रकाशशरण महत र प्रवक्ता विश्वप्रकाश शर्मा समितिमा रहनेछन् ।
पदाधिकारीमा कोइराला र यादव बाहेक सबै देउवा पक्षका हुन् । देउवाले आफ्नो खेमाबाट गोपालमान श्रेष्ठ, बालकृष्ण खाँड, प्रदिप गिरी, चित्रेलखा यादव, ज्ञानेन्द्रबहादुर कार्की, रमेश रिजाल, डा. नारायण खड्का, एनपी साउद, फरमूल्लाह मन्सुर लगायतलाई समितिमा लैजाने बुझिएको छ ।
रामचन्द्र खेमाबाट प्रकाशमान सिंह, डा. रामशरण महत, बलबहादुर केसी, डा. मिनेन्द्र रिजाल, सुजाता कोइराला, अर्जनु नरसिंह केसी, कूलबहादुर गुरुङ, कमला पन्त लगायतको नाममा सहमति भए पनि वरिष्ठता क्रम विवाद चर्किएको छ ।
स्रोत अनुसार सभापति देउवा जसरी भए पनि डा. शेखर कोइरालालाई कार्य सम्पादन समितिबाट बाहिर राख्न चाहन्छन् । यस अघि देउवाले बनाएको तर पछि विघटन भएको समितिमा पनि शेखरलाई राखिएको थिएन ।
देउवा नै बलियो
कार्य सम्पादन समितिमा देउवाको पूरै पकड हुने देखिएको छ । सिटौला खेमा र रामचन्द्र खेमा एक ठाउँ हुँदा देउवालाई समस्या परेको थियो । अनुशासन समिति बनाउँदा पनि दुई खेमा मिलेर सभापति देउवालाई अप्ठ्यारो पारेका थिए । तर, कार्य सम्पादन समितिमा दुवै खेमाले सिटौलालाई राख्ने तर उनको खेमालाई बेग्लै भाग नदिने नीति बनाएका छन् । सिटौला खेमा केही अप्ठेरोमा परेको छ । रामचन्द्र खेमा र सिटौला