पर्वत/नेपाली काँग्रेस जलजला गाउँकार्य समितिको मंगलबार सम्पन्न बैठकले वीपी कोइराला तथा मोहनबहादुर मल्ल स्मृति भवन निर्माण समिति गठन गरेको छ । नेपाली काँग्रेस जिल्ला कार्यसमिति पर्वतका कोषाध्यक्ष तथा जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)को संयोजकत्वमा गठन भएको समितिको उपाध्यक्षमा महिला नेतृ सीमा पुन र मोहनबहादुर मल्लका छोरा दीपबहादुर मल्ल हुनुहुन्छभने सचिवमा नेपाली काँग्रेस जलजलाका संयोजक चन्द्रबहादुर जिसी रहनु भएको छ । समितिको कोषाध्यक्षमा मुरारी शर्मा र सदस्यहरुमा जलजला गाउँपालिका वार्ड नं २ का वडाअध्यक्ष गोविन्द खत्री, वार्ड नं ३ का वडाअध्यक्ष देवेन्द्र भण्डारी रवि, वार्ड नं ४ का वडाअध्यक्ष भीष्म मल्ल, वार्ड नं ८ का वडाअध्यक्ष हरिविकास जिसी र स्थानीय वीरबहादुर हमाल र दिनेश नेपाली रहनु भएको छ । साथै बैठकले नेपाली काँग्रेस जलजलाका ९ वटै वडाका वडा सभापतिहरुलाई भवन निर्माण समितिको सदस्य तोकेको छ ।
नेपाली काँग्रेस पर्वतका कोषाध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)को पहलमा मोहनबहादुर मल्लका परिवारले झण्डै एककरोड बराबरको जग्गा पार्टीलाई निःशुल्क उपलब्ध गराएपछि नेपाली काँग्रेस जलजलाले आफ्नै भवन निर्माण गर्न लागेको हो । उक्त भवनको नेपाली काँग्रेसका केन्द्रीय पार्टी सभापति शेरबहादुर देउवाले गत फागुन २६ गते शिलन्यास गर्नुभएको थियो । पार्टीले भवन निर्माण समितिको संयोजकको जिम्मेवारी आफूलाई दिएपछि अब ढिला नगरिकन आफू निर्माण अभियानमा लाग्ने संयोजक मल्लले वताउनु भएको छ । ‘अब तुरुन्तै निर्माण अभियान संचालन हुन्छ र एकबर्षभित्रै सम्पन्न गर्ने तयारीमा लाग्छौं ।’–संयोजक मल्लले भन्नुभयो । उक्त भवन बनेमा गाउँपालिका स्तरमा पार्टी भवन निर्माण गर्ने जलजला काँग्रेस पहिलो हुनेछ ।
सोही बैठकले नेपाली काँग्रेसले यही बैशाख ११ गतेदेखि देशव्यापी संचालन गर्न लागेको पार्टी सुदृढिकरण तथा जनजागरण अभियानलाई थप प्रभावकारी बनाउन नेपाली काँग्रेस पर्वतका कोषाध्यक्ष यामबहादुर मल्ल रामकृष्णको संयोजकत्वमा नेपाली काँग्रेस जलजलाका संयोजक चन्द्रबहादुर जिसी सहितको नेतृत्वमा संगठन सुदृढिकरण अभियान थाल्ने निर्णय गरेको छ । समितिले बैशाख भित्र जलजलाका ९ वटै वडामा पुगेर पार्टी जागरण अभियान संचालन गर्ने वताएको छ । साथै बैठकले पार्टीभित्रको आन्तरिक लोकतन्त्रलाई सुदृढ र बलियो बनाउँदै कार्यकर्तालाई जिम्मेवार र अनुशासित बनाउने उद्देश्यले प्रेम बरुवालको संयोजकत्वमा ९ सदस्यीय पार्टी अनुशासन समिति समेत गठन गरेको नेपाली काँग्रेस जलजलाका युवा नेता याम शर्मा पौडेलले जानाकारी दिनुभयो ।