पर्वत/जिल्ला प्रशासन कार्यालय पर्वतमा सेवा लिन पुग्ने सेवाग्राहीले अब सम्बन्धित शाखामा लामो समय लाइनमा बस्नुपर्ने झन्झटबाट छुटकारा पाउने भएका छन् ।
कार्यालयले सेवा प्रवाहलाई व्यवस्थित, छिटोछरितो र सहज बनाउने उद्देश्यले बुधबारदेखि टोकन प्रणाली लागू गरेको छ । एक महिनाअघि एकीकृत सेवा प्रवाह सुरु गरेको प्रशासनले त्यसलाई थप प्रभावकारी बनाउन नयाँ व्यवस्था लागू गरेको जनाएको छ ।
टोकन प्रणाली लागू भएपछि सेवाग्राहीले आफूले लिन चाहेको सेवाअनुसार टोकन लिएर सम्बन्धित शाखामा गई सेवा लिन सक्नेछन् । यसबाट सेवाग्राहीलाई कुन शाखामा जाने भन्ने अन्योल हट्ने, सेवा लिन सहज हुने र कार्यालयमा हुने भीड व्यवस्थापनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले सेवाग्राहीलाई बिना झन्झट सहजरूपमा सेवा उपलब्ध गराउने उद्देश्यले टोकन प्रणाली सुरु गरिएको बताउनुभयो । उहाँका अनुसार सेवाग्राहीले आफूले लिन चाहेको कामको टोकन लिएर सम्बन्धित शाखामा गई सेवा लिन सक्नेछन् ।
एकीकृत सेवा र टोकन प्रणालीमार्फत सेवा प्रवाहलाई थप व्यवस्थित बनाउने प्रशासनको योजना छ । नयाँ व्यवस्थाले सेवाग्राहीको समय बचत गर्नुका साथै सेवा प्रवाहमा सहजता र पारदर्शिता कायम गर्न सहयोग पुग्ने कार्यालयको अपेक्षा छ ।
प्रशासनले सेवा लिन आउने सेवाग्राहीलाई आफूले गर्नुपर्ने कामको टोकन लिएर मात्रै सम्बन्धित शाखामा जान आग्रह गरेको छ ।






