काठमाडौं/नेपाल तरुण दलले लकडाउनका बेला आफ्नो घर हिँडेका नागरिकलाई गन्तव्यमा पुग्ने व्यवस्था मिलाउन सरकारसँग माग गरेको छ । शुक्रबार दलका अध्यक्ष जितजंग बस्नेतले एक विज्ञप्तिमार्फत् सरकारलाई बाटोमा अलपत्र परेका नागरिकलाई खान, बस्न र गन्तव्यसम्म पुग्ने व्यवस्था मिलाउन माग गरेका हुन् । ‘लकडाउनका समयमा दैनिक ज्यालादारी गरेर जीवन निर्वाह गर्ने मजदुर वर्गहरु मारमा पर्छन । त्यसैले उनीहरुका निम्ति आवश्यक राहातको प्रबन्ध गराउनका लागि लकडाउन सुरु भए देखिनै हामीले पटक पटक ध्यानाकर्षण गराउदै आएका थियौ तर सरकार भने यो कार्यमा पनि चुकेको छ । जसका कारण मजदुरहरुलाइ खान, बस्न समस्या भई केही हिडेरै आफनो घर पुगेका छन् केही बाटोमा अलपत्र परेका छन् भने केही कार्यस्थलमा नै कष्टपूर्ण जीवन बिताउन बाध्य छन् । त्यसैले यी सम्पूर्ण मजदुरहरुको खान, बस्न र उनीहरुको गन्तव्यमा पुग्न आवश्यक प्रबन्ध मिलाउन फेरी पनि सरकार संग नेपाल तरुण दल जोड्दार माग गर्दछ, विज्ञप्तिमा भनिएको छ ।
तरुण दलले कोरोना भाइरसको महामारीसँग सिंगो विश्व संघर्ष गरिरहेका बेला सरकार भने आफ्ना नेता कार्यकर्ता पोस्ने काममा व्यस्त भएको आरोप लगाएको छ । ‘माहामारी संकटको यो समयमा परिक्षणको दायरालाई तीब्र गतिमा अगाडी बढाउनु पर्ने बेला सरकार भने आफना कार्यकर्तालाई जागिर दिनका लागि विभिन्न आयोगमा नियुक्त गर्दै रमाइरहेको छ । यस्तो संवेदनशील घडीमा भएका यस्ता अनावश्यक र गैर जिम्मेवार क्रियाकलापको घोर निन्दा गर्दै आगामी दिनमा यस्ता गतिविधि नगर्न ध्यानाकर्षण गराउदछौ,’ विज्ञप्तिमा भनिएको छ ।
त्यस्तै तरुण दलले कोरोना परीक्षणको दायरा बढाउन पनि सरकारसँग माग गरेको छ । विषम परिस्थितिमा मानव स्वास्थ्यका लागि आवश्यक पर्ने पर्याप्त सुरक्षाका साम्रागी बिना पनि अग्रपङक्तिमा रहि काम गरिरहेका स्वास्थ्यकर्मी, संचारकर्मी, सुरक्षाकर्मी, आपूर्तिकर्ता, एमबुलेन्स चालक, फोहोर संकलकहरुको तरुण दलले प्रशंसा गरेको छ ।







