काठमाडौं /नेपाल सरकारले नेवार जातिका ४० भन्दा बढी थरलाई दलित सूचीमा समावेश गरेको निर्णयप्रति नेपाल लोकतन्त्रवादी नेवाः संघले गम्भीर आपत्ति जनाउँदै उक्त सूची पूर्ण रूपमा खारेज गर्न माग गरेको छ । संघका सभापति नरेश कुमार ताम्रकारद्वारा जारी प्रेस विज्ञप्तिमा सरकारको उक्त कदमप्रति खेद व्यक्त गर्दै खारेजीको सूचना अविलम्ब राजपत्रमा प्रकाशित गर्न जोडदार माग गरिएको छ ।
नेपाल सरकारले मिति २०८३ असोज ८ गते नेपाल राजपत्र (भाग ५, खण्ड ६६, संख्या ३६) मा सूचना प्रकाशित गरी नेवार जातिका ४० भन्दा बढी थरलाई दलित सूचीमा समावेश गरेको थियो । संघका अनुसार नेवाः समुदायसँग कुनै छलफल, सहमति वा वैज्ञानिक अध्ययन नगरी एकतर्फी रूपमा गरिएको यो निर्णय संविधानको मर्म, समावेशी लोकतन्त्र र सामाजिक न्यायको सिद्धान्त विपरीत छ ।
नेवाः समुदाय आफ्नै भाषा, लिपि, संस्कृति, परम्परा, इतिहास र सभ्यता बोकेको आदिवासी जनजाति समुदाय भएको विज्ञप्तिमा उल्लेख छ । यस प्रकारको गलत वर्गीकरणले नेवाः समुदायको आत्मसम्मानमा चोट पुर्याउने, समुदायबीच भ्रम तथा विभाजन सिर्जना गर्ने र दलित समुदायका वास्तविक मुद्दालाई समेत कमजोर बनाउने संघको ठहर छ ।
राष्ट्रिय दलित आयोगले मिति २०८३ मंसिर ९ गते उक्त सूचीको कार्यान्वयन हालका लागि स्थगन गर्न नेपाल सरकारसमक्ष सिफारिस गरेको कदमलाई संघले सकारात्मक रूपमा लिएको छ । तर, स्थगन मात्र पर्याप्त नभएकाले आयोगको निर्णयलाई सच्याउँदै उक्त सूची पूर्ण रूपमा खारेज गरी राजपत्रमा प्रकाशित गरिनुपर्ने संघको अडान छ ।
आगामी दिनमा कुनै पनि समुदायको पहिचानसँग जोडिएका सूची, वर्गीकरण वा नीति निर्माण गर्दा सम्बन्धित समुदाय, नेवाः संघ/संस्थाहरू, आदिवासी जनजाति आयोग, विज्ञ तथा सरोकारवालाहरूसँग अनिवार्य परामर्श गर्न सरकारसँग माग गरिएको छ । नेवाः समुदायको पहिचान र आत्मसम्मानमाथि हुने कुनै पनि प्रहारविरुद्ध संघ दृढतापूर्वक उभिने सभापति ताम्रकारले स्पष्ट पारेका छन् ।







