पर्वत/प्रतिनिधि सभा सदस्य सागर भुसालले पर्वतको विकास, सुशासन र समुन्नतिको लागि आफू निरन्तर लागेको वताएका छन् । उनले पर्वतको कालीगण्डकी बहुउद्देश्यीय जलाशययुक्त परियोजना, फलामखानीको फलाम उत्खनन र प्रशोधन, मोदीको ढुङ्गाखानी, हम्पालको जडिबुटी र फलेवासको रङ्गशाला लगायतका आयोजनाहरूलाई प्राथमिकिकरण गरेर बजेट विनियोजन गर्न अर्थमन्त्रीलाई आग्रह गरेको वताएका छन् ।
सांसद भुसालले पर्वतका क्रियाशिल पत्रकारहरूसँग जिल्लाको समग्र विकास, सुशासन र भावी रणनीतिबारे आज कुश्मामा गरेको छलफलका क्रममा यस्तो कुरा वताएका हुन् । पर्वतबाट निर्वाचित भएपछि पहिलोपटक मिडियाकर्मीसँग संवाद गरेका भुसालले आफू निर्वाचनको क्रममा मत माग्न जनताको बीचमा जाँदा मतदाताले आफूलाई बाँदर नियन्त्रण गरिदिन आग्रह गरेको वताउँदै बाँदर नियन्त्रण पर्वतको मात्र समस्या नभएर सिंगो देशकै समस्या भएकोले कानून बनाएरै यो समस्यालाई समाधान गर्न संसदमै गम्भीर छलफल भएको जानकारी दिए । उनले बाँदरसहित विभिन्न वन्यजन्तुबाट किसानहरू पीडित रहेको जानकारी दिए ।
सांसद भुसालले जिल्लाको विकासका लागि सबैको सहयोग र सहकार्यको आवस्यकता रहेको भन्दै जिल्लास्थित राजनीतिक दल, नागरिक समाज, उद्योगी व्यवसायी र सञ्चारकर्मीसँग समेत रचनात्मक सुझावको समेत अपेक्षा गरेका छन् । साथै सांसद भुसालले आफूले विगतमा गठन गरेको १३ सदस्यीय सचिवालय हाललाई विघटन गरेको समेत वताएका छन् ।
नेपाल पत्रकार महासंघ पर्वतले आयोजना गरेको उक्त पत्रकार भेटघाट कार्यक्रममा सञ्चारकर्मीहरूले जिल्लाको मिडियाको वर्तमान अवस्थाको वारेमा समेत सांसद भुसाललाई जानकारी गराएका थिए ।






