नागरिकले चाहेजस्तो सुशासनका क्षेत्रमा प्रभावकारी काम भैरहेको रास्वपा महामन्त्री बुर्लाकोटीको दावी

पर्वत/राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री कबिन्द्र बुर्लाकोटीले राष्ट्रिय स्वतन्त्र पार्टीले जनतालाई निराश हुन नदिने बताउनुभएको छ । पर्वत सदरमुकाम कुश्माबजारमा शुक्रवार आयोजित कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्वोधन गर्दै महामन्त्री बुर्लाकोटीले नागरिकले चाहेजस्तो शिक्षा, स्वास्थ्य, रोजगारी, सुशासनका क्षेत्रमा प्रभावकारी काम भैरहेको बताउनुभयो ।

बुर्लाकोटीले देशमा भएका बेतिथि र विसंगतिको जालाहरु तोड्नका लागि नेपाली जनताले पार्टीलाई करिब दुई तिहाईको बहुमत दिएर सरकारमा पठाएको बताउँदै विपक्षि दलहरुले जतिसुकै विरोध गरेपनि त्यस्ता जालाहरु तोडेरै छाड्ने बताउनुभयो । उहाँले जनताको निराशालाई आशामा बदल्न कामनै गरेर देखाउनुपर्ने बताउँदै सोहि कारणले संसदमा प्रधानमन्त्री आउन नभ्याउनुभएको बताउनुभयो । काम गर्ने बेलामा फोन उठाएर र संसदमा बोलेर रिजल्ट दिन नसकिने बताउँदै बुर्लाकोटीले कामनै गरेर देखाउने भएकाले कम्तिमा छ महिना पर्खेर हेरिदिन आग्रह गर्नुभयो । मुलुकलाई पहिलाकै स्थितिमा राखिरहन राश्वपालाई दुई तिहाई मत जनताले नदिएको बताउँदै जनताले एसईईको रिजल्टबाटै परिवर्तनको झल्को पाईसकेको दावी समेत गर्नुभयो ।

महामन्त्री बुर्लाकोटीले सरकारले समृद्धिको रोडम्याप कोर्नेगरी काम गरिरहेको बताउँदै विपक्षि दलहरुलाई पनि आवश्यक सहयोग गर्न आग्रह गर्नुभयो । उहाँले जनताको हितमा नरहेका कुराहरु तोडेरै फालिने बताउनुभयो । मुलुकको आर्थिक समृद्धि नभएसम्म बेरोजगारी समस्या समाधान र बढ्दो पलायनदर रोक्न नसकिने बताउँदै यसका लागि सरकारले निरन्तर गृहकार्य गरिरहेको बताउनुभयो । उहाँले सरकारको नेतृत्वमा रहेका र पार्टीका नेताहरु अहिले भाषण गर्न भन्दा पनि काम नै गर्नमा केन्द्रीत रहेको दावी समेत गर्नुभयो । उहाँले आगामी निर्वाचनमा एक सय ८२ होईन कामको आधारमा एक सय ८७ सिट पुर्‍याएर देखाउने दाबी समेत गर्नुभयो ।

संघीय सरकारमा आफ्नो पार्टी भएतापनि प्रदेश तथा स्थानीय तहमा अन्य पार्टीको नेतृत्व रहेकोले आगामी निर्वाचनमा राम्रो प्रतिनिधिको छनौट गरेर पार्टीले टिकट वितरण गर्ने र मतदाताले सोही अनुसार मत मताधिकारको प्रयोग गर्नुपर्ने भनाई समेत उहाँको रहेको छ । कार्यक्रममा प्रतिनिधि सभा सदस्य सागर भुसालले समग्र पर्वत जिल्लाको बिकास र समृद्धिका लागि आफु निरन्तर लागि परेको बताउनुभयो । उहाँले आफुले पालिका सचिवालय सदस्यहरु नियुक्तिको विषयमा आलोचना भएपनि सहजता सहितको कार्यसम्पादनको लागि गठन गरिएको दावी गर्दै आजैवाट विगठन गरेको घोषणा समेत गर्नुभयो ।

कार्यक्रममा राश्वपाका गण्डकी प्रदेश महामन्त्री नविन त्रिपाठीले पनि सम्वोधन गर्नुभएको थियो । सो अवसरमा विभिन्न पार्टी परित्याग गरी झण्डै तीन सय सय जना राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका थिए । राश्वपा पर्वतका उपसभापति सरु शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन गणेश शर्माले गर्नुभएको थियो ।